शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

कक्षा १२ को परीक्षा होम सेन्टरबाटै गर्ने तयारी

बुधबार, १३ साउन २०७८, १२ : ५१
बुधबार, १३ साउन २०७८

यस वर्षको कक्षा १२ को परीक्षा होम सेन्टरबाटै गर्ने तयारी थालिएको छ । बुधबार संसदको शिक्षा तथा स्वास्थ्य समितिको छलफल कार्यक्रममा बोल्दै राष्ट्रिय परीक्षा बोर्डका सदस्य सचिव दुर्गा अर्यालले कोरोना संक्रमणको   जोखिमका कारण उनीहरूले अध्ययन गरेको विद्यालयमै होमसेन्टर अवधारणा अनुसार परीक्षा लिने जानकारी दिए । 

सदस्य सचिव अर्यालले  लकडाउनका कारण पर्याप्त मात्रामा यातायात नचलेका कारण विद्यार्थीको सहजताका लागि होम सेन्टरबाटै परीक्षा सञ्चालन गर्न लागेको जानकारी दिए । यहि साउन ३१ गतेदेखि  ९ दिनसम्म कक्षा १२ को परीक्षा सञ्चालन हुँदैछ । 
परीक्षा बोर्डका अनुसार कक्षा १२ मा २८ जनाभन्दा कम विद्यार्थी भएका १ हजार,  ५० जना भन्दा कम विद्यार्थी भएका २३ सय, १ सयभन्दा कम विद्यार्थी भएका ३४ सय र ५ सयभन्दा बढी विद्यार्थी भएका  ८९ विद्यालय छन् । सबै स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरेर परीक्षा सञ्चालन गर्ने बोर्डको भनाई छ । 

छलफलमा सांसद बिद्या भट्टराईले लकडाउनका कारण विद्यालयमा गुणस्तरीय शिक्षा भएकोले विद्यार्थीले कसरी परीक्षा दिने भन्दै प्रश्न गरिन् । उनले लकडाउनपछि स्नातक तहको पढाइ नै नभएको उल्लेख गरिन् । 
सांसद अञ्जना बिसंखेले लकडाउनका कारण विद्यार्थीको परीक्षा खस्कने अवस्थामा रहेको बताएकी छिन् । उनले विद्यार्थी अनलाइन कक्षा भन्दै मोबाइलमा गेम खेलेर बस्ने गरेको र लगातार विद्यालय बन्द हुँदा असामाजिक बन्दै गएको उल्लेख गरिन् ।

यस्तै गिरिराजमणि पोखरेलले सम्पूर्ण  शिक्षक विद्यार्थीलाई  खोप नदिएसम्म भौतिक उपस्थितिमा परीक्षा गर्न सहज नहुने बताए ।  छलफलमा शिक्षा मन्त्रालयका सचिव रामप्रसाद थपलियाले कोभिड संकट ब्यवस्थापन केन्द्रको निर्देशन अनुसार मापदण्ड पुर्याएर परीक्षा सञ्चालन गर्ने जानकारी गराए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप