शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

राष्ट्रपतिद्वारा युद्ध सङ्ग्रहालयको समुद्घाटन

बुधबार, १३ साउन २०७८, १३ : २६
बुधबार, १३ साउन २०७८

राष्ट्रपति विद्यादेवी भण्डारीले ऐतिहासिकस्थल सिन्धुलीगढी नेपाली शूरता र वीरताको परिचय भएको बताएकी छन् । नेपालकै पहिलो सिन्धुलीगढी युद्ध सङ्ग्रहालयको आज यहाँ उद्घाटन गर्दै उनले सङ्ग्रहालयलाई विश्वसामु चिनाउने काम नेपाली गौरवको विषय भएको बताइन् । उनले यसलाई पर्यटकीयस्थलमा विकास गर्न सकिने र पर्यटन प्रवर्द्धनमार्फत आर्थिक लाभ लिन सकिने बताइन् ।

नागरिक र सैनिक सम्बन्धको उत्कृष्ट नमुनाका रुपमा सङ्ग्रहालय रहेको जनाउँदै राष्ट्रपतिले अनुसन्धानकर्ता, विद्यार्थी एवं स्वदेशी र विदेशी पर्यटकका लागि गन्तव्यस्थलका रुपमा विकास गर्न सकिने बताइन् । एकीकरणका घटना र विषयलाई पाठ्यक्रममा समावेश गरी राष्ट्रिय एकता प्रवद्र्धन गरिनुपर्नेमा राष्ट्रपतिको जोड थियो । 

सो अवसरमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले नेपालको स्वतन्त्रता र स्वाधीनताको रक्षामा महत्वपूर्णस्थलका रुपमा सिन्धुलीगढी रहेको बताइन् । उनले सिन्धुलीगढीमा युद्ध सङ्ग्रहालय स्थापना गौरवपूर्ण इतिहास जोगाउने महत्वपूर्ण कार्य भएको बताउँदै यसले राष्ट्रिय एकता र सुरक्षामा सहयोग पुग्ने उनको भनाई छ । सरकारले यस्ता सङ्ग्रहालय निर्माणलाई नीति तथा कार्यक्रम र बजेटमा प्राथमिकताका साथ समावेश गर्ने उनले बताइन् ।

सांसद गणेशकुमार पहाडीले ऐतिहासिकस्थल संरक्षणका लागि १०० पर्यटकीय गन्तव्यस्थलमा समावेश गरेर सिन्धुलीगढीलाई चिनाउने काम भएको बताउँदै यो पर्यटकीयस्थलका रुपमा अङ्ग्रेजहरूको पनि गन्तव्यस्थल हुन सक्ने बताइन् ।

प्रधानसेनापति पूर्णचन्द्र थापाले ऐतिहासिकगढी, किल्ला र एकीकरण मार्गको संरक्षणको कार्ययोजना बनाएर संरक्षणमा लागिएको बताए । उनले इतिहास बिर्सने राष्ट्रको औचित्य नहुने भएकाले २५३ वर्षअघिको ऐतिहासिकस्थललाई चिनाउने काम भएको बताए ।

कार्यक्रममा कमलामाई नगरपालिकाका प्रमुख खड्गबहादुर खत्री र उपप्रमुख मञ्जु देवकोटाले पनि नवनिर्मित युद्ध सङ्ग्रहालयलाई आकर्षक पर्यटकीयस्थलका रुपमा विकास गरिने प्रतिबद्धता जनाए । सो अवसरमा प्रधानसेनापति थापाले नगर प्रमुख खत्रीलाई सङ्ग्रहालय हस्तान्तरण गरे । विसं १८२४ असोजमा अङ्ग्रेजसँग भएको युद्धको सम्झनामा सो सङ्ग्रहालय निर्माण गरिएका हो । सङ्ग्रहालयमा त्यतिबेलाको युद्धमा प्रयोग भएका हातहतियार र ऐतिहासिक दस्तावेज सङ्ग्रह गरिएको छ । युद्धमा सहभागी भएका झण्डै दुई हजार ४०० अङ्ग्रेज फौजमध्ये करिब एक हजार ६०० को मृत्यु भएको बताइन्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप