शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

आत्मनिर्भर घोषणा : ओली सरकारको अर्को हचुवा निर्णय !

घोषणा भएकै वर्ष ५ अर्ब माथिको माछा, मासु तथा दूग्धजन्य पदार्थ आयात
बुधबार, १३ साउन २०७८, १३ : २९
बुधबार, १३ साउन २०७८

गत चैत २५ गते तत्कालीन (पूर्व) प्रधानमन्त्री केपी शर्मा ओलीले अब मुलुक माछा, मासु, अण्डा, दूध तथा दूग्धजन्य वस्तुमा आत्मनिर्भर भएको घोषणा गरे । प्रधानमन्त्री ओलीले सोही कार्यक्रममार्फत पशुपन्छीजन्य उत्पादनमा आत्मनिर्भर घोषणाले कृषि विकासको क्षेत्रमा मुलुक एक कदमअघि बढेको समेत उद्घोष गरेका थिए । 

कुनै न कुनै क्षेत्रमा हरेक दिन एक कदम अघि बढ्ने सरकारी नीति अनुसार कृषि क्षेत्रमा नयाँ प्रगति जनतासामु ल्याइएको दाबी गर्दै पूर्व प्रधानमन्त्री ओलीले यो सरकारको मात्र नभएर राष्ट्रकै सफलता भएको बताएका थिए । सोही अवसरमा उनले दूध ढुवानीको लागि प्रतीक चिन्ह (लोगो) र धुलो दूधको नयाँ प्याकेजसमेत सार्वजनिक गरे ।

तर, तथ्याङ्क हेर्ने हो भने आत्मनिर्भर घोषणा गरेकै वर्ष ५ अर्ब माथिको पशुपन्छीजन्य उत्पादन, माछा, मासु, अण्डा, दूध तथा दूग्धजन्य पदार्थ आयात भएको देखिन्छ । यसमध्ये ८५ करोड ४१ लाख बढीको आयात आत्मनिर्भर घोषणा भएपछिको समयमा देखिएको छ । कोभिडको दोस्रो लहर र निषेधाज्ञाले चौथो क्वार्टरमा आयातमा प्रभाव पर्दा कम देखिन गएको भन्सार विभागका अधिकारी बताउँछन् ।

आर्थिक वर्ष २०७७/७८ को १२ महिनामा कुल ५ अर्ब २ करोड ५४ लाख बराबरका पशु तथा पशुजन्य उत्पादन माछा, मासु, अण्डा, दूध तथा दूग्धजन्य पदार्थ आयात भएको भन्सार विभागले जनाएको छ । सो अवधिमा जिउँदो जनावर (पशुपन्छी) मात्र विभिन्न मुलुकहरूबाट गरी १ अर्ब ६० करोड माथिको आयात भएको विभागको तथ्याङ्कले देखाएको छ । 

यस्तै, तयारी मासु ३ करोड ८ लाख, माछा अधिकतम १ अर्ब ६९ करोड ८० लाख, अण्डा १ करोड ७७ लाख र दूध तथा दूग्धजन्य पदार्थ १ अर्ब ६७ करोड १८ लाख माथिको आर्थिक वर्ष भित्र आयात भएको विभागले जनाएको छ । जसबाट आर्थिक वर्ष भित्र १ अर्ब माथिको राजस्व समेत सङ्कलन भएको विभागको तथ्याङ्कले देखाएको छ । 

.

स्रोत : भन्सार विभाग

अघिल्लो आर्थिक वर्ष २०७६/७७ मा कुल ७ अर्ब बराबरको पशुपन्छी तथा पशुपन्छीजन्य उत्पादन माछा, मासु, अण्डा, दूध तथा दूग्धजन्य पदार्थहरू आयात भएको विभागको तथ्याङ्कमा छ ।

हठात् घोषणा 

पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुक पशुपन्छी उत्पादनजन्य वस्तुमा आत्मनिर्भर भएको घोषणा गर्दै गर्दा यता कृषि तथा पशुपन्छी विकास मन्त्रालयले भने उक्त घोषणालाई पूर्णतः मानिसकेको थिएन । मन्त्रालयले मासु र अण्डामा मुलुक आत्मनिर्भरता उन्मुख रहेता पनि दूधमा भने अझै आत्मनिर्भर हुन नसकेको स्विकारिरहेको थियो । तर, प्रधानमन्त्री केपी ओलीले मुलुक माछा, मासु, अण्डा, दूध तथा दूग्धजन्य पदार्थ सबैमा आत्मनिर्भर भइसकेको भनेर घोषणा गरिदिए ।

त्यति मात्र नगरेर प्रधानमन्त्री ओलीले नेपाल पशुपन्छीजन्य उत्पादनको क्षेत्रमा आत्मनिर्भर भएकोको भन्दै अब मुलुकले निर्यात प्रवर्द्धनमा जोड दिनु पर्ने समेत बताएका थिए । तर, तथ्याङ्कले निर्यात होइन अझै ठूलो परिणाममा आयात हुँदै गरेको देखाएको छ ।

यता, मुलुक पशुपन्छीजन्य उत्पादनमा क्रमिक रूपमा आत्मनिर्भरता उन्मुख रहे पनि केही बाध्यताका बीच आयात प्रतिस्थापन गर्न नसकिएको कृषि मन्त्रालय, पशुपन्छी सेवा विभागले स्वीकारेको छ । सो बारे रातोपाटीसँग कुरा गर्दै पशुपन्छी सेवा विभागका महानिर्देशक डा.दमयन्ती श्रेष्ठले घोषणा गरिएजस्तो अझै मुलुक पशुपन्छीजन्य उत्पादनमा पूर्णतः आत्मनिर्भर हुन नसकेको बताइन् । केही हदसम्म पशुपन्छी, मासु र अण्डामा मुलुक आत्मनिर्भर उन्मुख रहेपनि दूध तथा दूग्धजन्य पदार्थमा भने अझै मुलुक आत्मनिर्भर हुन नसकेको बताइन् ।

कृषि मन्त्रालयको तथ्याङ्क अनुसार हाल मुलुकमा २३ लाख १ हजार मेट्रिक टन दूध, ५ लाख ४८ हजार मेट्रिक टन मासु उत्पादन हुन्छ भने, १ अर्ब ६१ करोड गोटा अण्डा र ९१ हजार मेट्रिक टन माछा उत्पादन  हुने गरेको छ । 

जुन हालको प्रचलित बजार मूल्यको आधारमा करिब १ खर्ब २२ अर्ब दूधबाट, करिब २ खर्ब ७५ अर्ब मासुबाट, १७ अर्ब अण्डाबाट र ३७ अर्ब माछाबाट गरी कुल ४ खर्ब ५० अर्ब रुपैयाँ बराबरको पशुपन्छीजन्य उत्पादन भई सोही परिमाणको आयात प्रतिस्थापन गर्न सहयोग पुगेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रयास श्रेष्ठ
प्रयास श्रेष्ठ

प्रयास श्रेष्ठले आर्थिक क्षेत्रमा कलम चलाउँछन् ।

लेखकबाट थप