शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

प्रचण्ड र उपेन्द्रलाई देउवाको आग्रह : मलाई अप्ठ्यारो भैसक्यो, मन्त्रीको नाम चाँडो दिनुस् !

बुधबार, १३ साउन २०७८, १३ : ५९
बुधबार, १३ साउन २०७८

प्रधानमन्त्री  शेरबहादुर देउवाले मन्त्रिमण्डल विस्तारमा ढिलाइ हुँदा आलोचना सुरु भएको भन्दै तत्काल आफ्नो पार्टीबाट सरकारमा पठाउने नेताहरुको नाम बुझाउन गठबन्धनभित्रका दलहरूलाई आग्रह गरेका छन् । बुधबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकमा काँग्रेस सभापतिसमेत रहेका देउवाले माओवादी केन्द्र र जसपाले ढिलाइ गर्दा मन्त्रिमण्डल विस्तारमा ढिलाइ भएको बताएका थिए ।

‘मलाई धेरै समस्या हुन लागिसक्यो, तपाईहरुले समयमा मन्त्री बन्नेको नाम दिन सक्नुभएन । यसले बाहिर समेत राम्रो म्यासेज गएन, आलोचना हुन थालिसक्यो’, देउवाको भनाइ उधृत गर्दै बालुवाटार स्रोतले भन्यो, ‘ जतिसक्दो चाँडो नाम दिनुस् । मन्त्रिमण्डल विस्तारलाई पूर्णता दिएपछि मात्रै काम गर्न सजिलो हुन्छ ।’

बैठकमा देउवाको कुरा सुनेपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र जसपाका अध्यक्ष उपेन्द्र यादवले ‘एक–दुई दिनभित्रै नाम दिन्छौं, तपाईलाई अप्ठेरो पर्न दिँदैनौं’ भन्ने जवाफ दिएका थिए ।

त्यसपछि प्रधानमन्त्री देउवाले जनमोर्चालाई पनि सरकारमा सहभागी हुन आग्रह गरेका थिए । जवाफमा जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी र सांसद दुर्गा पौडेलले आफूहरु प्रतिगमनविरोधि आन्दोलन परास्त गर्नमात्रै गठबन्धनमा सहभागी भएको भन्दै सरकारमा सहभागी नहुने कुरा पहिल्यै भनिसकेको बताएका थिए ।

‘राष्ट्रिय जनमोर्चा सरकारमा जाँदैन, राम्रो काम गरे समर्थन गर्छ भनेर पहिला नै भनेको हो । अहिले पनि म यही कुरा दोहोर्याउँछु’, देउवाको आग्रहपछि अध्यक्ष केसीले बैठकमा भनेका थिए, ‘मन्त्री कसलाई बनाउने,नबनाउने तपाईंहरुको कुरा हो । हामी गलत कुराको भण्डाफोर र सही कुराको समर्थन गरिरहन्छौ । तपाईहरुले राम्रो काम गर्नुभएन भने जनमोर्चा प्रतिपक्षमा बस्छ, कुनै आपत्ति छैन ।’

केसीले यस्तो बताएपछि प्रधानमन्त्री देउवाले सरकारमा मात्रै नजाने कि संवैधानिक, राजनीतिक नियुक्ति बारेमा पनि सहभागी नहुने ? भनेर प्रश्न गरेका थिए ।

जवाफमा केसी र पौडेलले ‘त्यस्ता नियुक्तिहरु संविधानसम्मत हुन्छन् र न्यायपूर्ण हुन्छ भने सहभागी हुन कुनै आपत्ति छैन’ भन्ने जवाफ दिएका थिए ।

बैठकमा एमालेको माधव नेपाल समुहको प्रतिनिधित्वका बारेमा समेत छलफल भएको थियो । बैठकमा सहभागी माधव समुहका नेता डा. विजय पौडेलले आफुहरु सरकारमा जाने सरोकारको विषय नै नभएको भन्दै नीतिगत सुझाव मात्रै दिन सक्ने बताएका थिए । बैठकमा सहभागी पौडेलले कोभिडविरुद्धको खोप र कोभिडबाट प्रभावित सवै तहका जनता र व्यवसायीलाई राहत पुग्ने प्याकेजको व्यवस्था गर्न सुझाव दिएका थिए ।

‘सानादेखि ठूला व्यवसायी र आधारभूत वर्गका लागि के गर्ने ? यसमा सरकारले विशेष ध्यान दिन जरुरी छ’, एमाले नेता पौडेलको भनाइ थियो ।

बैठकमा प्रधानमन्त्री देउवाले मन्त्री बन्नेको नाम दिन गठबन्धनभित्रका दलहरूलाई आग्रह गरे पनि कसले कति नाम दिने र कसलाई कतिवटा मन्त्रालयको जिम्मा दिने भन्ने स्पस्ट छलफल नभएको बैठकमा सहभागी एक नेताले जानकारी दिए ।

पाँच दलीय गठबन्धनमध्ये जनमोर्चा सरकारमै नजाने र एमालेको माधव समूह तत्काल सरकारमा जाने पक्षमा छैन ।  अहिलेको समीकरण अनुसार दुई दल सरकारमा नजाने भएकाले तीन दल काँग्रेस, माओवादी र जसपाले ६÷६ वटा मन्त्रालय भागवण्डा गर्ने तयारी छ । काँग्रेस र माओवादीले दुई–दुईवटा मन्त्रालय पाइसकेकाले अबको विस्तारमा उनीहरुले चार–चारवटा मन्त्रालय पाउनेछन् ।

माधव नेपालसँग सरकारमा सहभागिताको विषयलाई लिएर देउवा र प्रचण्डले आजै छलफल गर्ने गठबन्धनको बैठकमा निर्णय भएको एक नेताले बताए ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप