शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

कारागार चुहिँदा कैदीबन्दीलाई सास्ती

बुधबार, १३ साउन २०७८, १५ : १५
बुधबार, १३ साउन २०७८

राणाकालमा निर्माण गरिएको डोटी जिल्ला कारागार जीर्ण भई पानी परेर चुहिन थालेपछि कैदीबन्दीलाई निकै सास्ती भएको छ । अहिले  लगातार वर्षा भइरहेका कारण पानी चुहिँदा  त्यहाँका कैदीबन्दी प्लाष्टिकको छानो हालेर रात बिताउन बाध्य छन् । जिल्ला कारागारका नाइके दीपेन्द्र जेठाराले भने, “बाहिर सामान्य पानी पनि पर्नु हुँदैन सबैभित्र छिर्छ, बढी पानी पर्दा भाँडाकुँडा थापेर सुत्नुपर्छ, थपिएको भाँडा भरिए पटक पटक पानी फाल्नु पर्ने अवस्था छ, सारै पीडा भयो ।”
प्रमुख जिल्ला अधिकारी सुनिल खनालले कारागार चुहिने भएकाले कैदीबन्दीलाई हिजोआज निकै समस्या भएको बताए । उनले भने, “भवन पुरानो छ, बेलाबेलामा पानी पर्दा चुहिन्छ, कारागार मर्मतका लागि हामीले बजेट माग गरेका छौं, बजेट आएको छैन ।” जेल प्रशासनले जीर्ण भएको कारागार टालटुल गरे पनि पानी चुहिने काम नरोकिँदा समस्या भएको हो ।  

कारागारका छानामा राणाकालमा लगाइएका स्लेट पनि खिइएर झर्न थालेको छ । “दिउँसो हामी बाहिर चौरमा हुन्छौँ, सामान्य हुरी चल्दासमेत सिलेट खसेर   कसको टाउकामा लाग्छ र मर्छन् भन्ने चिन्ताले पिरोलेको छ, पानी पर्दा चुहिन्छ, हाम्रा पीडा कसैले बुझेनन् ।” पर्खालभित्रको ढोकासमेत पुरानो भएका कारण लगाउन गाह्रो हुने गरेको नाइके जेठाराले जानकारी दिए ।

आर्थिक अभावले कारागारको जीर्ण भवन मर्मत हुन नसकेको कारागार प्रशासन प्रमुख लालबहादुर बोगटीले बताए । उनले भने, “भवन निकै पुरानो भएकाले छत चुहिन्छ, फर्समा पानी चुहिने भएकाले कैदीबन्दीलाई बस्न निकै गाह्रो छ ।” कारागारमा कूल २५ कैदीबन्दी राख्ने क्षमता भए पनि हाल ५९ कैदीबन्दी राखिएका छन् । क्षमताभन्दा बढी कैदीबन्दी भएका कारण एउटै कोठामा १२ देखि १५ जनासम्म सुत्ने गरेका छन् ।

कैदीबन्दी बढी हुँदा खानेपानी र शौचालयको प्रयोगमा समेत समस्या आएको छ । खान र बस्न कुनै समस्या नभएको तर छत चुहिने भएका कारण  रातभरि जाग्राम बस्न बाध्य भएको  कैदीबन्दीको गुनासो छ । अर्का कैदीबन्दी नवराज बिनाडी भन्छन्, “निकै कष्ट सहेर बाँच्नुपरेको छ । सहज रुपमा बाँच्न पाउनुपर्ने अधिकार त सुनिश्चित गरिनुपर्थ्यो ।” 

सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री पूर्णा जोशीले जिल्ला कारागार मर्मतका लागि पहल भइरहेको जानकारी दिए । उनले भने, “जीर्ण कारागारले कैदीबन्दीलाई समस्या भएको रहेछ, कारागार मर्मत र चुहिने छाना छाउनका लागि तत्काल पहल हुन्छ ।” कारागारको भौतिक संरचना तथा त्यहाँ राखिएका कैदीबन्दीको अवस्था बुझ्नका लागि हालै अनुगमनसमेत गर्नुभएका उनले मर्मतका लागि काम शुरु गरिने आश्वासनसमेत दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप