शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

सुर्खेतका होटेल व्यवसायीहरुको माग : हामीलाई पनि खोपको व्यवस्थापन गरियोस्

बिहीबार, १४ साउन २०७८, १८ : ३०
बिहीबार, १४ साउन २०७८

कोरोना महामारीका कारण यतिबेला सबै क्षेत्रमा नराम्रोसँग असर परिरहेको छ । अन्य क्षेत्रभन्दा होटेल व्यवसाय झनै थला परेको छ ।  कोरोना रोकथाम तथा नियन्त्रणका लागि निषेधाज्ञा गरियो । जसका  कारण होटेल व्यवसाय ठप्प हुन पुगे । होटेल व्यवसाय चलायमान नहुँदा यो क्षेत्रमा काम गर्ने धेरै मजदुरहरुले रोजगारी समेत गुमाएका छन् भने कतिले आफुले पाउनुपर्ने तलब समेत नभएको गुनासो गर्ने गरेका छन् ।

कर्णाली प्रदेशको राजधानी समेत रहेको सुर्खेतमा झण्डै १ हजार २५० बढी होटलहरु रहेका छन् । यी होटलहरुमा झण्डै पाँचहजार बढी मजदुरहरु कार्यरत रहेको होटेल व्यवसायी संघ सुर्खेतसँग तथ्याङ्क छ ।  अहिलेको अवस्थासम्म आइपुग्दा अधिकांश होटलहरूमा काम गर्ने मजदुरहरु पलाएन भइसकेका छन् भने पलाएन हुने क्रम अझै छ ।  यता व्यवसायीहरु भने घर भाडा तिर्न नै मुस्किल हुने गरेको बताउँछन् ।

‘घर भाडा तिर्न र बैँकको व्याज तिर्न नै मुस्किल हुन्छ । अनि, कर्मचारीलाई कसरी तलव खुवाउनु ? वीरेन्द्रनगरस्थित जुम्ला रोडका एक होटेल व्यवसायी सर्जन थापाले भने ।’ गत वैशाख १४ गतेदेखि दोस्रो चरणको कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि निषेधाज्ञा लागू गरिएको छ । 

अहिले पनि खुकुलो पारेर सुर्खेतमा निषेधाज्ञा नै छ । तर, होटेल व्यवसाय सञ्चालन गर्न दिइएको छ ।  ‘सञ्चालन गर्न दिएर के गर्ने ग्राहकहरू नै आउँदैनन्,’ अर्का होटेल व्यवसायी पूर्ण रिजाल भन्छन् । होटेल व्यवसाय सञ्चालन गर्न दिएपनि व्यवसाय चलायमान हुन सकिरहेका छैनन् । उनीमात्र हैन वीरेन्द्रनगरका सबैजसो होटेल व्यवसायीहरुको साझा बोली यही नै हो । एकातिर होटेल सञ्चालन नगरौँ बैँकको व्याज बढेको बढ्यै छ । अर्कोतिर ज्यानको माया पनि छ नै ।  ‘कोरोनाले आफैलाई पनि संक्रमण गरिहाल्छ कि भन्ने डर हुन्छ’ रिजाल भन्छन,‘के गरम के नगरम भइरहेको छ ।’ 

सरकारले यातायात व्यवसायीदेखि हरेक क्षेत्रका व्यक्तिहरुलाई कोभिड १९ विरुद्धको खोप दिएको छ । तर,अर्थतन्त्रसँग जोडिएको होटेल व्यवसाय क्षेत्रलाई उपेक्षा गरिरहेको होटेल व्यवसायीहरुको आरोप छ ।
‘अहिले होटेल खुल्ला त भनियो । तर, हामी र हाम्रा कर्मचारीहरुलाई सुरक्षित भएर काम गर्ने वातावरणको सिर्जना सरकारले गरिदिनुपर्यो नी !  व्यवसायी थापाले भने, ‘एक त कर्णाली सरकारले नीति क्षेत्रलाई उपेक्षा गरेर नीति तथा कार्यक्रम ल्याएको छ । नीति क्षेत्रलाई समेट्ने गरेर बजेट पनि ल्याएको छैन ।’

होटेल व्यवसायी संघ सुर्खेतका अध्यक्ष गोरख रावत होटेल व्यवसायलाई चलायमान गराउनका लागि तत्कालको आवश्यकता  कोरोना विरुद्धको खोप भएको बताउँछन् ।  होटेल व्यवसायले अहिलेसम्म करोडौँ रकम गुमाएको छ  । रावतले भने, ‘हामी र हाम्रा कर्मचारीका लागि हामीले खोप उपलब्ध गराउनका लागि पहल थालिरहेका छौँ ।’ 

रावतले बिहीबार कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री यज्ञबहादुर बुढा क्षेत्रीलाई समेत होटेल व्यवसायी र यो क्षेत्रमा काम गर्ने मजदुरका लागि खोप उपलब्ध गराइदिनका लागि माग गरिएको बताए । ‘आफु र आफ्ना ग्राहकहरुलाई पनि सुरक्षित राख्नका लागि खोप निकै आवाश्यक छ’ उनले भने । 

राज्यले पनि हामीबाट कर लिने बेला लिन्छ । तर, अहिले हामी समस्यामा पर्दा केही राहत दिन सक्दैन’ उनले भने, ‘कोरोना महामारी खोप दिन किन कञ्जुस्याई ?’ 

खोपका लागि हामी पहल गर्छौँ : मन्त्री बुढाक्षेत्री 

यता प्रदेश सरकारका सामाजिक विकास मन्त्री यज्ञबहादुर बुढा क्षेत्रीले होटल व्यवसायीहरुलाई कोरोनाभाइरस (कोभिड–१९) विरुद्धको खोप उपलब्ध गराउनका लागि पहल गरिने  बताए ।  उनले भने, ‘हाम्रो प्राथमिकता भनेको नागरिकको स्वास्थ्य नै हो । यसैले सबै नागरिकलाई खोप लगाउने लक्ष्य छ ।’ 

होटल व्यवसायी र यस क्षेत्रमा काम गर्ने कर्मचारीहरु पनि कोरोनाको उच्च जोखिममा छन । यसप्रति हामी गम्भीर छौँ । केन्द्र सरकारसँग समन्वय गरी हामी खोप उपलब्ध गराउने वातावरण  सिर्जना गर्छौँ ।’  साथै मन्त्री बुढाले कोरोना महामारीका कारण होटेल व्यवसाय क्षेत्र निकै चपेटामा परेकाले यसलाई माथि उकास्ने खालका कार्यक्रम पनि ल्याइने बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप