विकृत राजनीति र माओवादी कार्यभार

person explore access_timeसाउन १५, २०७८ chat_bubble_outline0

नेपालको राजनीतिमा नौला र अनौठा घटना भइरहेका छन् । केपी ओली नेतृत्वको एमाले र माओवादीबीच चुनावी तालमेल भयो । त्यसलाई जनताले लगभग दुई तिहाइ मत दिएर अनुमोदन पनि गरे । चुनावी परिणामपछि दुई पार्टी मिले, फेरि विभाजन भए, संसद् विघटन भयो, पुनः स्थापन, नेतामाथि कारबाही र निष्कासन, नेता तथा पार्टी विभाजन, अदालतद्वारा संविधानको व्याख्या र फैसला हुँदै नेता र पार्टीहरूबारे अदालत, निर्वाचन आयोगले विभिन्न फैसलाहरू गरे । यी सबै छोटो समयमा जनताले अनुभूत गरेका अनौठा घटना हुन् । यी विषयवस्तुलाई सरसर्ती जनताको मानसपटलमा परेका प्रभावलाई यहाँ प्रस्तुत गरिएको छ ।

धेरैले कम्युनिस्टको सिद्धान्त एउटै, विचार एउटै, कार्यक्रम एउटै, पार्टीहरू चाहिँ किन धेरै भन्ने सहजै अभिव्यक्ति दिने गर्छन् । मार्क्सवाद के हो, लेनिनवाद के हो, माओवाद के हो, यसको प्रयोग कहाँ कसरी हुन्छ ? जनतालाई त्यति धेरै थाहा छैन । कम्युनिस्टहरू जनताको हितमा काम गर्छन्, देशको हितमा काम गर्छन् भन्ने प्रभाव जनतामा छ । त्यो प्रभाव समाजको अन्यायविरुद्ध कम्युनिस्टको आन्दोलन र कम्युनिस्टमाथिको हिजोको दमन देखेर परेको हो । चुनावी तालमेल हुँदा हाम्रो स्तरबाट नियतमा शङ्का गरेकै हो, नेतृत्व आफू सुरक्षित हुने पहिलो उद्देश्य हो भनेर प्रश्न उठाएकै हो । नेताले चुनाव जिते पार्टी ठूला भए देशले पनि त केही पाउला । जेजस्तो भए पनि वाम तालमेलको जुन संयोग जुरेको थियो त्यसले नयाँ माहोल बन्नेछ, स्थायी सरकार बन्ने छ, विकासले गति लिने छ भनेर साथ दियौँ । एक वर्ष पहिले स्थानीय चुनावमा जीवनमरणकै स्तरबाट प्रतिस्पर्धा गरेका कार्यकर्ताहरू सहजै तालमेललाई स्वीकारे । सूर्यको झण्डा देख्दा हँसियाहतौडावाला रिसाउने अनि हँसियाहतौडा देख्दा सूर्यवालाको गाली खाएका जनताले एउटा भोट सूर्यमा र अर्काे भोट हँसियाहतौडामा हाले । आवश्यक पर्दा सडकमा पनि आए । आजसम्म जनताले आफ्नो जिम्मेवारी सफलतापूर्वक निर्वाह गरेका छन् । जनताले गरेका गल्ती भनेको आफूले जिताएर पठाएका पार्टी र नेतासँग विकासको आशा गरे, सुशासनको आशा गरे । कार्यकर्ता, पार्टीको निर्देशनअनुसार चल्ने गर्छन् ।

पछिल्लो समयमा कार्यकर्ताको वर्गीकरण भएको छ । पहिलो पार्टीका निर्देशन, कमिटी बैठकका निर्णय, निर्णयअनुसारको जिम्मेवारी पूरा गर्ने कार्यकर्ता छन् । यो ठूलो सङ्ख्यामा छ र पछिल्लो समय अलि निराशा पनि छ । अर्काे शक्तिमा भएका नेताको वरिपरि घुम्ने खालका कार्यकर्ता भए । नेताप्रति पूर्ण उत्तरदायी देखिने, नेताको मन जित्ने, सहजै नेतासँग पहुँच बनाउने, सङ्गठन, विधि, पद्धतिको बारेमा कुनै सरोकार नै नहुने । राज्य शक्तिको दुरुपयोग गर्ने, अझ प्रष्टभन्दा सरकारमा भएको नेतृत्वको दुरुपयोग गर्दै दलाली गर्ने र धन आर्जन गर्ने कार्यकर्ता भए । यो शक्ति निकै सानो छ, उत्साहित छ र पछिल्लो समय अलि हाबी छ । आशालाई जबर्जस्ती मर्दिने चरित्रको रूप विकास भइरहेको छ । पहिलो कार्यकर्ता नेताले मन्छे चिन्लान् भन्ने आशामा छन् । हिजोको सहकार्यको स्मरण गर्दै अपेक्षा गरेका छन् । नेता र यी कार्यकर्ताको जीवन्त सम्बन्ध जोडिनसके पार्टीले नयाँ उचाइ हासिल गर्छ । नेताहरू ती स्वार्थी कार्यकर्ताको साँघुरो घेरा तोडेर बहुसङ्ख्यक कार्यकर्ताहरू माझ जानुपर्छ । पार्टी बनाउने चिन्ता, सङ्गठन बनाउने चिन्ता गर्ने कार्यकर्ताको बीचमा नेतृत्व पुग्नुपर्छ । सरकारका हरेक कामकारबाही र योजनामा यी कार्यकर्तालाई जोड्न सक्नुपर्छ । सङ्गठनलाई विधि र पद्धतिमा चलाउनु पर्छ कार्यकर्ता आज पनि पार्टीले जे भने त्यो गर्न तयार छन् । बलिदान गर्न पनि तयार छन् ।

यो अवस्था हेर्दा कसलाई नेता भन्ने ? केन्द्रीय समिति सदस्यलाई नेता भन्ने ? स्थायी समितिलाई भन्ने कि अध्यक्षलाई भन्ने ? नेता व्यक्ति हो कि संस्था हो ? नेताले जे भन्यो त्यही मान्नै पर्ने हो कि सबैले माने गरी नेताले भन्ने हो ? नेता सङ्गठनभित्र को हो कि सङ्गठको मालिक हो । नेतालाई ठीक लागे सबै ठीक भन्नुपर्ने राम्रो नलागे बेठीक भन्नुपर्ने ? यो सन्दर्भ केन्द्रसँग मात्र जोडिएको छैन, प्रदेश जिल्ला र स्थानीय स्तरका कमिटी र नेताहरूसँग पनि जोडिएका छन् । एउटा पार्टीसँग मात्र हैन, सबै कम्युनिस्टसँग सम्बन्धित छ । अहिलेको अनौठो राजनीति यहीँनेर छ । पार्टी कमिटी परिचालनमा नेतृत्वको इच्छित नीतिले आज सिङ्गो पार्टी डिसअडरको सिकार भएको छ । आज पार्टीको हात, खुट्टा, जिब्रो आँखा हरेक अङ्ग दिमागी नियन्त्रणमा छैन । जसले गर्दा आज हाम्रो पार्टी, कम्युनिस्ट आन्दोलन र देशले दुःख पाइरहेको छ । व्यक्तिमा जे गरे पनि हुन्छ भन्ने संस्कार विकास भएको छ । आज पार्टी अवैध हो भनेर मुद्दा हालेकाहरू भोलि त्यही पार्टीको हुँ भनेर मुद्दा हाल्दै हिँडेका छन् । नीति, विचार, नैतिकता, सिद्धान्त सबै छोडेर भए पनि मन्त्री चाहियो अवसर चाहियो । यस्ता हजारौँ उदाहरण  देखाउन सकिन्छ । राजनीति खलबलिएको विकृत भएको हामी नेतृत्वबाटै हो । दोष अरूलाई दिएर शब्दमा चोखिन सक्छौँ तर वास्तविकतामा हामीले आत्मालोचना गरेर अगाडि बढ्नै पर्नेछ । पार्टीलाई सबल, सक्षम, प्रतिस्पर्धी बनाउनलाई आँट गर्नैपर्छ ।

सङ्गठन, माओवादी पार्टीको २०० केन्द्रीय सदस्य छन् । अध्यक्षसँग प्रत्यक्ष भेटमा गरिने भलाकुसारीबाहेक फोन संवादबाट सुझाव र योजना माग्ने कमै सदस्य होलान् । दैनिक काममा अध्यक्षले प्रत्यक्ष निर्देशन, खटन पटन गराउने केन्द्रीय सदस्य औँलामा गनिने छन् । आजसम्म मिटिङमा आफ्नो धारणा व्यक्त नगरेका केन्द्रीय सदस्य झन्डै आधा हुनुहुन्छ । यसो हुँदा कति कार्य उद्देश्यमा आधारित सङ्गठन निर्माण भएको छ भन्ने सहजै बुझिन्छ । आवश्यकताले बनाइएको हो भने परिचालन किन नगर्ने ? हरेक सदस्यलाई राजनीतिक, साङ्गठानिक, अन्य दलहरूसँगको संवाद र सहकार्य, सरकारसँगको समन्वयलगायतका काममा ठोस जिम्मेवारी दिएर परिचालन किन नगर्ने ? एउटा जिल्लामा दर्जनौँ सह इन्चार्जको जिम्मेवारी दिइएको हो कि केन्द्रीय सदस्य पन्छाएको हो ? केही नेताहरूलाई भ्याउनै नसकिने गरी कामको लोड, केही नेता बेरोजगार किन ? त्यसैले आवश्यकता अनुसारको संरचना बनाऔँ । हरेक सदस्यलाई उचित जिम्मेवारी दिएर परिचालन गरौँ । सङ्गठनमा भएका निर्णय अनुमोदनका लागि मात्र हैन नेतृत्व, भए भरको बोझ एक्लै बोक्न मात्रै पनि हैन । नियमित बैठक, बैठकका निर्णयका आधारमा काम गर्ने बानीको विकास गरौँ । तल्लो स्तरका कमिटीको काम के हो, हामीलाई नै थाहा छैन ? सिफारिस केकेको गर्ने हो, माग के के गर्ने हो ? कमिटी कमिटीका लागि मात्र भएका छन् । आन्दोलन र चुनावबाहेक कुनै कामको निर्देशन छैन । सङ्गठनप्रति को आकर्षण के हो ? न म भन्न सक्छु न त नेतृत्व ले नै । तल्ल स्तरका कमिटी आकर्षक, परिणाममुखी र क्रियाशील बनाउन तल्लो कमिटीका सिफारिस र मागको सुनुवाइ हुने संस्थागत परिपाटीको विकास गर्न जरुरी छ ।

राजनीतिमा वितृष्णा मात्र हैन घृणा पैदा हँुदै गएको साँचो हो । सामान्य सामाजिक मूल्यमान्यता र नैतिकतासम्म पनि राजनीतिक नेताहरूमा पाइएन । खरदारले लाइन लगाएर टाउका गन्ने, न्यायाधीशले नै मुद्दा हेर्न झ्याउ लागेझै हेर्न नभ्याइनेमा तालिम गर्ने । आज एउटा कुरा ग¥यो, भोलि त्यही कुराको विरोध गर्ने । न बोलीको ठेगान छ न कामको विश्वास छ ।

कुरा जे पनि गर्न पाइने । निर्णय जे पनि गर्ने, कार्यान्वयन केही पनि नगर्ने । यी सबै कारणले राजनीतिलाई घृणित बनाएको छ । देशको नेता बोल्दा आफ्नो नीति बोलोस्, आफ्नो जीवन कालमा मात्र हैन, त्यसपछिका नेताले पनि अनुसरण गरून् । जनताले पनि हाम्रो नेताले यस्तो भन्नुभएको छ भनेर ढुक्कको साथ बहस गर्न सकून् । राजनीतिको यो संस्कार विकास गर्नै पर्ने छ । हामी माओवादी नेताहरूले चाहने हो भने गर्न सक्छौँ । अब चाहना गर्नैपर्ने बेला आयो, बेला घर्के चाहेर पनि हुँदैन ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।