शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

हिम चितुवाको आक्रमणबाट १७ घोडा र खच्चड मरे

शुक्रबार, १५ साउन २०७८, १५ : ३५
शुक्रबार, १५ साउन २०७८

उत्तरी गोरखामा हिमचितुवाको आक्रमणबाट १७ घोडा र खच्चडको मृत्यु भएको छ । चुम्चेतको सुलेप लेकमा गएको दुई सातादेखि लगातार हिउँचितुवाले घोडा र खच्चड माथि आक्रमण गर्न थालेको चुमनुव्री गाउँपालिका–६ का वडाध्यक्ष लोप्साङ लामाले जानकारी दिए ।

“चुम्चेतको लेकको खर्कमा चराउन छाडिएकामध्ये १६ खच्चड र एक घोडा हिमचितुवाले मारिसकेको छ”, उनले भने, “अहिले बर्खाका बेला सामान ढुवानी गर्न बाटो नभएकाले लेकमा चराउन खच्चड र  घोडा छाडिएका बेला चितुवाले धमाधम आक्रमण गर्न थालेको हो ।”  

सडक  यातायातको पहुँच नपुगेको उत्तरी क्षेत्रमा खच्चडबाट नियमितरुपमा सामान ढुवानी गर्ने गरिन्छ । “जेठ अन्तिम सातादेखि परेको अविरल वर्षाका कारण उत्तरी क्षेत्रमा पदैल र खच्चड हिँड्ने बाटोसमेत अवरुद्ध छ”, लामाले भने, “चरनका लागि लेकमा छाड्ने चलन छ, चितुवाले आक्रमण गरेर मार्न थालेपछि अब छाड्न पनि डर भएको छ ।”

उनले चरनका लागि खर्कमा छाडिएका खच्चड र घोडा नभेटिएपछि खोजी गर्दा चितुवाले मारेको भेटिएको बताए । वडाध्यक्ष लामाले स्थानीय आङ्दी लामा, बुझिमा लामा र चित्रबहादुर गुरुङले पाल्दै आएका घोडा र खच्चडलाई चितुवाले आक्रमण गरी मारेको जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप