शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

अमेरिकामा कोरोना भाइरसविरुद्ध खोप लगाउने व्यक्तिलाई एकसय डलर दिइने

शुक्रबार, १५ साउन २०७८, १५ : ४९
शुक्रबार, १५ साउन २०७८

अमेरिकामा सङ्क्रमण फैलिने क्रम चलिरहे पनि खोप लगाउने दर भने कम भएको छ ।  खोप लगाउनेहरुको सङ्ख्या बढाउन अमेरिकाले नयाँ रणनीति लागू गर्न लागेको छ । सरकारले निर्देशिका जारी गर्दै खोप लगाउनेलाई प्रतिव्यक्ति १०० डलर दिने जनाएको छ ।

राष्ट्रपति जो बाइडेनले कोरोना भाइरसविरुद्ध खोप लगाउने व्यक्तिलाई प्रतिव्यक्ति १०० डलर रकम दिन राज्य सरकारहरूलाई पनि आह्वान गरेका छन् । उनले सङ्घीय सरकारका कर्मचारीका लागि पनि यो व्यवस्था लागू हुने बताएका छन्। अमेरिकामा सङ्घीय सरकारका निकायहरूमा मात्रै करिब २० लाख मानिस काम गर्छन् ।
बाइडेनले जारी गर्नुभएको निर्देशनमा ‘अबदेखि कर्मचारीहरुले खोप लगाएको प्रमाण देखाउनुपर्नेछ व्यवस्था गरिएको’ उल्लेख छ । त्यसैगरी सबै कर्मचारीले कोरोना भाइरसको परीक्षण अनिवार्य रुपमा गर्नुपर्ने र मास्क लगाउनुपर्ने व्यवस्था पनि निर्देशिकामा उल्लेख गरिएको छ ।
बढी सङ्क्रामक डेल्टा भेरियन्टका कारण नयाँ प्रतिबन्धहरू लगाउनु परेको अमेरिकामा हालसम्म आधा जनसङ्ख्याले मात्र खोपको मात्रा पूरा गरेका छन । खोप नलगाएकाहरुलाई डेल्टा भेरियन्टले बढी असर गर्ने गरेकाले खोप लगाउन सरकारले सवैलाई आग्रह गरेको छ । खोप लगाउन प्रेरित गर्नेगरी अहिले लागू गरिएको नगद रकम दिने व्यवस्थाले पहिले नै खोप लगाइसकेकालाई भने अन्याय हुने टिप्पणी पनि भएको छ । 

अमेरिकी राष्ट्रपति बाइडेनले भने सार्वजनिक हितका लागि भएकाले यसलाई अन्यथा मान्न नहुने बताउनु भएको छ । “जति धेरै मानिसले खोप लगाउँछन्, कोरोना भाइरसको महामारीबाट हामी उतिनै बढी सुरक्षित हुन्छौँ, त्यसैले यसको फाइदा सबैलाई हुने भएकाले खोप लगाउन प्रेरित गर्नु हामी सबैका लागि हितकर छ” उनले बताए । गत महिना अमेरिकामा गरिएको एउटा अध्ययनले ९९ प्रतिशत कोभिडसम्बन्धी मृत्यु खोप नलगाएका व्यक्तिहरुको भएको देखाएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप