बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

भारतीय एसएसबीले तुइन काट्दा महाकाली नदीमा खसेर नेपाली युवक बेपत्ता, काँग्रेसले भन्यो– घटना आपत्तिजनक

वास्तविकता​ बाहिर ल्याई न्याय दिलाउन काँग्रेसको माग
शुक्रबार, १५ साउन २०७८, १७ : ५७
शुक्रबार, १५ साउन २०७८

दार्चुला जिल्लामा तुइनबाट महाकाली नदी तर्ने क्रममा एक नेपाली युवा बेपत्ता भएको घटनाको वास्तविकता बाहिर ल्याएर आफ्नो नागरिकलाई न्याय दिलाउन नेपाली काँग्रेसले सरकारसमक्ष माग गरेको छ । तुइनबाट महाकाली नदी तर्ने क्रममा भारतीय एसएसबीका जवानले तुइन काटिदिएका कारण उक्त घटना भएको काँग्रेसको आरोप छ । 
 दार्चुला जिल्लाको व्यास गाउँपालिकाबाट भारत उत्तराखण्ड राज्यको पांगल हुंदै खलंगा आउँदै गर्दा भारतीय सुरक्षाकर्मीले तुइन काटिदिएका कारण नेपाली युवक नदीमा खसेर बेपत्ता भएको नेपाली काँग्रेसद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार समाचार सार्वजनिक भए पश्चात जिल्ला पार्टी सभापति ललितसिंह बोहरा र अन्य नेतृत्व तहले स्थानीय रूपमा गरेको थप सम्पर्क पश्चात सोही विवरण केन्द्रमा प्राप्त भएको जानकारी प्राप्त भएको छ ।  ’नदी तर्ने क्रममा तुइन काटिदिएपछि ३५ वर्षीय युवा जयसिंह धामी नदीमा खसेर बेपत्ता भएको घटना अत्यन्तै दुःखद मात्रै होइन अमानवीय र अत्यन्तै आपत्तिजनक छ,’ शर्माले विज्ञप्तिमा भनेका छन् ।

‘घटनाको सम्पूर्ण वास्तविकता सार्वजनिक गर्न, भारतीय पक्षसँग यसबारेमा संवाद गर्न, आफ्नो नागरिकलाई न्याय दिलाउन, सम्बन्धित परिवारजनलाई राहत दिन/दिलाउन नेपाली कांग्रेस पार्टीका तर्फबाट म सरकारसमक्ष माग गर्दछु,’ शर्माले विज्ञप्तिमा भनेका छन्, ‘आफ्नो नागरिकको जीवन सुरक्षा गर्ने दायित्व बोकेको सरकारले यसलाई अत्यन्तै गम्भीरतापूर्वक लिएर आवश्यक गम्भीर पहलकदमी गर्ने विश्वास लिएको छु ।’ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप