शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

बागमती प्रदेशमा सरकार परिवर्तनको चर्चा : मुख्यमन्त्री मौन, प्रदेश प्रमुख ओली भेट्न काठमाडौँमा

शनिबार, १६ साउन २०७८, ११ : ४५
शनिबार, १६ साउन २०७८

नेकपा एमालेको स्पष्ट बहुमत भएको बागमती प्रदेश सरकार केपी ओली पक्ष र माधव नेपाल पक्षबीचको अन्तर्विरोधका कारण सङ्कटमा छ । बागमती प्रदेशमा कूल १ सय १० जनामध्ये हाल १०९ जना मात्रै सांसद रहेका छन् । जसमध्ये ५७ जनाको स्पष्ट बहुमतबाट मुख्यमन्त्री डोरमणि पौडेलले सरकारको नेतृत्व गरिरहेका छन् ।

पछिल्लो समय केन्द्र सरकारमा सत्ता समीकरण बदलिएसँगै बागमती प्रदेशमा पनि एमालेको माधव पक्षले सरकारको नेतृत्वको आफ्नो पक्षले गर्न पाउनुपर्ने माग राख्दै ओली ओली पक्षलाई दबाब दिइरहेको छ । माधव पक्षले ओली पक्षलाई ‘ सरकार स्थापना भएदेखि साढे ३ वर्षसम्म यहाँहरूले सरकारको नेतृत्व गर्नुभयो । अब बाँकी समय सरकारको नेतृत्व हामीले गर्न पाउनुपर्छ । त्यसो हुँदा मात्रै एमालेको नेतृत्वमा प्रदेश सरकार यथावत् रहन्छ ।’ भन्ने प्रस्ताव गरेको थियो । 

जवाफमा, ओली पक्ष निकटका मुख्यमन्त्री पौडेलले ‘हामी छलफल गर्दैछौँ, केही दिन लाग्न सक्छ’  भन्दै ३ दिनको अवधि माग गरेका थिए ।  माधव नेपाल निकट एक सांसदले रातोपाटीसँग कुराकानी गर्दै भने,‘ हामीले प्रदेशमा एमाले एकता जोगाउनको लागि नयाँ प्रयास गरेका छौँ । सरकार स्थापना गठन भएदेखि करिब साढे ३ वर्ष मुख्यमन्त्री डोरमणि पौडेलज्यूको नेतृत्वमा एक पक्षीय ढङ्गबाट सरकार सञ्चालन भइरहेको छ, अब बाँकी समय हामीले प्रदेश सरकारको नेतृत्व पाउनुपर्छ भन्ने हाम्रो माग हो । उहाँहरूले छलफलको लागि केही दिन समय माग गर्नुभएको थियो । त्यो समय आज सकियो, अब आधिकारिक जवाफ नआए हामी आन्तरिक छलफलपश्चात् आगामी रणनीति तय गर्नेछौँ ।’

उनले मुख्यमन्त्री पौडेलले सरकारको नेतृत्व आफ्नो पक्षलाई नदिने हो भने एमाले एकता सम्भव नहुने र सरकार परिवर्तन निश्चित रहेको बताए । सरकारले माधव समूहले दिएको म्यादलाई बेवास्ता गर्दै छलफलको लागि कुनै चासो नदेखाउनुलाई राजनीतिक मुद्दाको रूपमा अगाडि बढाएको उनले बताए । सरकार परिवर्तन र पार्टी एकताको विषयमा छलफल भएको भन्दै केही दिन भित्रै सरकार पुनर्गठन हुने माधव नेपाल समूहको एक नेताले जानकारी दिए ।

वर्तमान सरकार पक्षले एकपक्षीय ढङ्गबाट मन्त्रिपरिषद् विस्तार, संवैधानिक नियुक्ति र भागबण्डा गरेकाले यसलाई सच्याउन माधव नेपाल समूहलाई सरकारको नेतृत्व दिएर पार्टी एकताको पक्षमा उभिन उनको आग्रह छ ।

यदि, त्यसो नगर्ने हो भने, माधव नेपाल समूह सधैँ पार्टी एकता जोगाउने नाममा हेपिएर नबस्ने बरु प्रतिकारमा उत्रने उनको भनाई छ ।  सरकारको नीति तथा कार्यक्रम र बजेट आउनु अगाडि प्रदेशस्तरको कार्यदल बनाएर पार्टी एकताको लागि काम गरिरहेको भन्दै सो कार्यदलको रिपोर्ट अनुसार नै हालसम्मका गतिविधि सञ्चालन भएको नेकपा एमाले माधव पक्षका अर्का सांसदले बताए ।

उनले सरकार परिवर्तन र पार्टी एकताको लागि प्रायजसो विषयमा सहमति भइसकेको भए पनि अन्तिम चरणको वार्ता हुन बाँकी रहेकोले आगामी केही दिनमा नै ती विषयहरूले पूर्णता प्राप्त गर्ने बताए ।

सरकार परिवर्तनका लागि छलफल चल्दै छ – प्रमुख सचेतक निरौला

नेकपा एमाले बागमती प्रदेशका प्रमुख सचेतक दीपक निरौलाले सरकार परिवर्तनको विषयमा पार्टी पदाधिकारीहरूबीच छलफल जारी रहेको बताएका छन् । रातोपाटीसँग कुराकानी गर्दै सचेतक निरौलाले सरकार परिवर्तन सरकारले आफ्नो क्षेत्राधिकारभित्र रहेर मन्त्रिपरिषद् विस्तार र परिवर्तन गर्न सक्ने भएकाले यस विषयमा पार्टी नेतृत्वसँग छलफल जारी रहेको बताए ।

माधव नेपाल समूहले पार्टी एकता र सरकार परिवर्तनको विषयमा कुनै पनि समय सीमा दिएको विषयमा आफूलाई जानकारी नभएको बताए । ‘सरकार र मन्त्रिमण्डल पुनर्गठन सरकारको क्षेत्राधिकारभित्र रहेर हुन्छ, पार्टी नेतृत्वसँग त्यस विषयमा छलफल जारी छ छिट्टै नै यसको विषयमा आधिकारिक रूपमा जानकारी गराउँछौँ ।’ उनले भने । 

विपक्षी दलहरूसँग छलफल गरेर प्रदेशसभा बैठक आह्वान गरिने तयारी भइरहेको पनि उनले बताए ।

राजनीतिक सङ्कट चुलिएको बेला प्रदेश प्रमुख प्रसाई ओली भेट्दै

बागमतीका प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाई शुक्रवार बिहानै एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेट गर्न काठमाडौँ पुगेका छन् । केन्द्रीय राजनीतिको समीकरणमा परिवर्तन आएसँगै एमाले भित्रकै अन्तर्विरोधका कारण प्रदेश सरकारको पदीय आयु धरापमा परेको बेला प्रदेश प्रमुख प्रसाई अध्यक्ष ओलीसँग भेट गर्न काठमाडौँ पुगेका हुन् । 

उनले अध्यक्ष ओलीसँग बागमती सरकार टिकाउन आवश्यक रणनीति बनाइदिन भन्दै प्रस्ताव राखेको एक सांसदले बताए । प्रधानमन्त्री शेरबहादुर देउवाले लुम्बिनी र गण्डकीका प्रदेश प्रमुख परिवर्तन गरेपछि बागमतीका प्रदेश प्रमुख प्रसाई पनि आफू असुरक्षित महसुस गरी अध्यक्ष ओलीसँग भेट गर्न काठमाडौँ पुगेका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

गणेश दुलाल
गणेश दुलाल
लेखकबाट थप