शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

कर्णालीमा पुससम्म लोकसेवा आयोगको विज्ञापन गर्ने तयारी

शनिबार, १६ साउन २०७८, १९ : १२
शनिबार, १६ साउन २०७८

प्रदेश लोकसेवा आयोगका अध्यक्ष रामप्रसाद उपाध्यायले आगामी पुस महिनासम्म रिक्त दरबन्दी पदपूर्ति गर्नका लागि विज्ञापन आह्वान गर्ने तयारी भइरहेको जानकारी दिएका छन् । रातोपाटीसँग कुराकानी गर्दै उपाध्यायले यही आर्थिक वर्षभित्र पहिलो चरणको विज्ञापन गर्ने बताएका हुन् । उनले भने, ‘हामी सकेसम्म पुस महिनासम्म, नसके यहि आर्थिक वर्षभित्रै पहिलो चरणको विज्ञापन आह्वान गर्छौ नै’ उनले भने, ‘आन्तरिक तयारी भइरहेको छ । ऐन पारित हुन सकिरहेको छैन ।’ उनकाअनुसार लोकसेवा आयोग ऐन संशोधनका लागि प्रदेशसभामा पठाइएको छ । ‘पहिलाको ऐनमा सानो कुराको पनि अनर्थ लाग्ने कुराहरु देखियो । त्यसलाई सच्याउनका लागि हामीले प्रदेशसभामा ऐन पठाएका थियौँ । तर, अहिले सम्म पारित हुन सकेको छैन्’ अध्यक्ष उपाध्यायले भने ।  

राजनीतिक किचलोका कारण प्रतिपक्षको अवरोधका कारण प्रदेशसभा नबस्ने भएपछि अध्यादेशबाट भएपनि ल्याइदिनुपर्यो भनेर आफुहरुले मुख्यमन्त्रीलाई भनेको  तर, अहिलेसम्म कुनै सुनुवाई नभएको उनले बताए । अहिले कर्णालीमा कति दरबन्दी खाली छ भन्ने तथ्याङ्क संकलनको काम करिब ५० प्रतिशतमा पुगेको उपाध्यायले बताए । 

अन्य प्रदेशमा लोकसेवा आयोग गठन गरेर विज्ञापन आह्वान गरी आफ्नो प्रदेशमा कर्मचारी अभाव टार्ने काम भइसक्यो । कर्णालीमा भने लोकसेवा आयोगले पूर्णता पाएपनि विज्ञापन आह्वान गर्ने काम हुन सकिरहेको छैन् । गत फागुन महिनामा प्रदेश लोकसेवा आयोगले पूर्णता पाएको थियो । अध्यक्षमा रामप्रसाद उपाध्याय नियुक्त भएका थिए भने सदस्यमा वसन्ती शाही र भक्तबहादुर खड्का नियुक्त भएका थिए । तर, अहिले सम्म प्रदेश लोकसेवा आयोगले अधिकारलाई समुचित प्रयोग गर्दै आवश्यक दक्ष जनशक्ति उत्पादन गर्ने कार्यलाई अगाडी बढाउन सकिरहेको छैन् । 

प्रदेश लोकसेवा आयोग कार्यालयका शाखा अधिकृत प्रेम आचार्यले लोकसेवा आयोगले आन्तरिक तयारी थालिरहेको बताए । प्रदेश लोकसेवा आयोग ऐन पास भैनसकेकाले केही काम गर्न अवरोध पनि भएको उनले बताए । 
उनले भने, ‘भर्ना प्रणालीको सफ्टवेयर तयार भएको छ । कुन स्थानीय तहका कति दरबन्दी रिक्त भन्ने विवरण संकलन गर्ने काम अघि बढिसकेको छ ।’ 

उनका अनुसार अहिलेसम्म ७९ वटा स्थानीय तहमध्ये २६ वटा स्थानीय तहको विवरण आइसकेको छ ।   विवरण आएका स्थानीय तहहरुमा धेरैजसो प्राविधिक जनशक्ति रिक्त रहेको देखिन्छ’ उनले भने ।

प्राविधिक कर्मचारीको अभाव बढी : प्रदेश सरकार 
प्रदेश सरकारका अनुसार कर्णालीमा माथिल्लो तहका कर्मचारी र प्राविधिक कर्मचारीको अभाव बढी छ । 
मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका अनुसार कर्णालीमा एक सय ६८ वठा सङ्गठन संरचना र झण्डै २ हजार ६ सय बढी कर्मचारी दरबन्दी स्वीकृत गरेको छ ।
यद्यपि, स्वीकृत दरबन्दीमध्ये झण्डै ८ सय भन्दा बढी दरबन्दी रिक्त रहेको प्रमुख सचिव गणेशप्रसाद पाण्डेले जानकारी दिए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप