शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

निफका विजेतालाई अवार्ड वितरण

आइतबार, १७ साउन २०७८, १६ : ५९
आइतबार, १७ साउन २०७८

नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठान आयोजक रहेको गत बैशाख २३ देखि २७ गतेसम्म भर्चुअलको माध्यमबाट सम्पन्न नेपाल अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल (निफ)को पुरस्कार वितरण गरिएको छ । कोरोनाको कारण अनलाइनबाट विजेता घोषणा भएपनि पुरस्कार बितरण बाँकी रहेको निफको आइतवार राजधानीमा एक कार्यक्रमका बीच विजेतालाई पुरस्कार प्रदान गरिएको हो ।

पाँच अन्तर्राष्ट्रिय अवार्डमध्ये एक आइतबार प्रदान गरिएको र बाँकी कुरियर मार्फत् पठाइएको आयोजक पक्षले जानकारी दिएको छ । कार्यक्रममा ७ राष्ट्रिय अवार्ड समेत बाँडिएको थियो । ‘निफ’मा फिल्म ‘आमा खान्डो’ ले एकलाख नगद राशीको स्वदेशी फिचर फिल्मतर्फ पुरस्कार पाउदा यही फिल्मबाट डान्डुप छिरिङले उत्कृष्ट निर्देशक अवार्ड पाएका छन् । त्यस्तै, फिल्म ‘लाटकोसेरो’बाट उत्कृष्ट नायक–नायिका अवार्ड नविन शिल्पकार र सरिता गिरीले लिएको थिए । फिल्मले उत्कृष्ट छायाँकारको अवार्ड समेत पाएको थियो । कार्यक्रममा सबै हअवार्ड अभिनेत्री सरिता गिरीले लिइन् ।

फिचर फिल्मतर्फ उत्कृष्ट पटकथाको अवार्ड ‘सरिता टेल मि हु आइ एम’बाट सर्जियो बासोले पाए भने प्यानडेमिक डकुमेन्ट्रतर्फ ‘सिभिल सोल्जर्स’ ले ५० हजार राशीको अवार्ड फिल्मका निर्देशक गणेश पाण्डेले बुझे । ५० हजार राशीकै राष्ट्रिय सर्ट फिल्मको अवार्ड भने राजेशप्रसाद खत्री निर्देशित ‘अ स्केयरक्रो’ ले पाएको छ ।

कार्यक्रममा आयोजक संस्था नेपाल चलचित्र तथा साँस्कृतिक प्रतिष्ठानले पाँचौं संस्करणको निफको आवेदन समेत खुल्ला भएको प्रतिष्ठानका अध्यक्ष केपी पाठकले बताए । उनले यो पटक आउँदो चैत १० गतेदेखि १४ गतेसम्म हुने निफको पाँचौं संस्करणमा नेपाली प्रतिस्पर्धामा ५० हजार राशीको वृत्तचित्र समेत थप गरिएको जानकारी दिए । 

कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहाल र आयोजक संस्था नेपाल चलचित्र तथा साँस्कृतिक प्रतिष्ठानका अध्यक्ष केपी पाठकले विजेतालाई अवार्ड तथा प्रमाण पत्र दिएका थिए । उक्त अवसरमा सहयोगी तथा जुरी सदस्यले समेत प्रमाणपत्र लिएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप