शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

डिपार्टमेन्ट स्टोरमै ‘डेट एक्सपायर’ सामानको व्यापार ! (भिडियो)

आइतबार, १७ साउन २०७८, २१ : ०१
आइतबार, १७ साउन २०७८

अपराध महाशाखाको टोली आइतबार अपराह्न १ बजे सानो भर्‍याङस्थित एक घरमा पुग्यो । जुनियर प्रहरी अधिकृत मात्रै होइन, अपराध महाशाखाको कमान्ड सम्हालेका एसएसपी चन्द्र कुबेर खापुङ आफै फिल्डमा खटिएका थिए ।

कारण थियो, ‘विदेशबाटै डेट एक्सपायर (म्याद गुज्रिएका) सामान ल्याएर नेपालका डिपार्टमेन्ट स्टोरमा बेच्ने गरेको’ सूचना महाशाखालाई आएको थियो । त्यही सूचनाको आधारमा केही दिन ‘रेकी’ गरेपछि महाशाखाको टोली आइतबार रेड गर्ने उद्धेश्य स्वरुप सानो भर्‍याङ पुगेको थियो ।

​सानो भर्‍याङको अन्नपूर्ण चोकबाट केही भित्र साढे ३ तल्लाको एक घरमा महाशाखाको सिभिल प्रहरी पुग्यो । भित्र विभिन्न कस्मेटिक सामान, साबुन, स्याम्पु, बडी स्प्रे, बडी लोसन लगायतका सामानको गोदाम थियो ।

तर साढे ३ तल्लाको घर भाडामा लिएर राखिएको गोदाममा अधिकांश सामान डेट एक्सपायर भइसकेका थिए । त्यही डेट एक्सपायर सामानको पुरानो लेबल मेटेर नयाँ एक्सपायर मिति राखेर फेरि बजारमा बेच्न पठाइन्थ्यो ।

वीरगञ्ज घर बताउने अभिषेक अग्रवाल र मिनाकुमारी अग्रवालले साझेदारीमा सञ्चालन गरेको भनिएको समिट कमर्सियल प्रालिले उक्त डेट एक्सपायर सामानको पुनर्विक्री गर्ने गरेको खुलेको छ । उनीहरूले भ्याट नम्बर ६०६५४५०६५ लिएर भ्याटमा दर्ता गरी कारोबार गरिरहेको बताएका छन् ।

वाणिज्य विभागको टोलीसहितको उपस्थितिमा गोदाममा छापा मार्ने क्रममा प्रहरीले मिति गुज्रिएका बडी स्प्रे, भ्यासलिन, एअर फ्रेसनर, स्याम्पु, साबुन, ह्यान्ड स्यानिटाइजर लगायत विभिन्न केमिकल बरामद गरेको छ ।

छापा मार्ने क्रममा प्रहरीले गोदाममा एक करोडभन्दा बढी मूल्यका मिति गुज्रिएका सामानसँगै नयाँ मिति राखिएको केही स्टिकर पनि बरामद गरेको छ । त्यसैगरी भाटभटेनी, बिग मार्ट, सेल्स बेरी लगायत डिपार्टमेन्ट स्टोरको स्टिकर प्रयोग भएको सामान पनि बरामद गरेको छ ।

प्रहरीले डेट एक्सपायर सामानमा नयाँ मिति राखेर विक्री वितरण गर्ने मुख्य सञ्चालक अभिषेक अग्रवाल र त्यसका म्यानेजर महावीर गुज्जलाई पक्राउ गरेको छ । त्यसैगरी अनुसन्धानका लागि भन्दै गोदाममा काम गर्ने ४ जना कामदारलाई पनि प्रहरीले सोधपुछका लागि नियन्त्रणमा लिएको छ ।

अपराध महाशाखाका एसएसपी चन्द्र कुबेर खापुङका अनुसार आरोपीहरूले मिति गुज्रिएका सामानको पुरानो लेभल स्प्रेको प्रयोग गरेर मेट्ने र त्यहाँ नयाँ लेबल लगाएर बजारमा बेच्ने गरेको पाइएको छ । आरोपीहरूले उक्त सामानहरू चीन, युएई र सिंगापुरदेखि ल्याएर नेपालमा बेच्ने गरेका बताए पनि नेपालमै मिति गुज्रिएका सामानको रि लेबलिङ गरेर बेच्ने गरेको हुनसक्ने प्रहरीको भनाई छ ।

आरोपी भन्छन्, भाटभटेनी, बिगमार्ट लगायतलाई दिन्छौँ

गोदाममा छापा मारेपछि पक्राउ परेका आरोपीले भने ती सामानहरू आफूले चीन, दुबई र सिंगापुरबाट ल्याउने गरेको र डिपार्टमेन्ट स्टोरहरूमा विक्री वितरण गर्ने गरेको बताएका छन् । रातोपाटीसँग छोटो कुराकानी गर्दै गोदामका म्यानेजर भनिएका महावीर गुज्जरले ती सामानहरू भाटभटेनी सुपरमार्केट, बिग मार्ट, सेल्स बेरी लगायतका डिपार्टमेन्ट स्टोर र अन्य कस्मेटिक पसल तथा हार्डवेयर पसलहरूलाई बेच्ने गरेका बताएका छन् ।

दुई स्थानमा गोदाम, एक स्थानमा कार्यालय

डेट एक्सपायर सामानमा नयाँ मिति राखेर नयाँ भन्दै बेच्ने गिरोहको भोटेवहालमा पनि अर्को गोदाम पाइएको छ । महाशाखाका एसपी कृष्ण पंगेनीका अनुसार यही समूहको अर्को गोदाम भोटेवहालमा पनि भेटिएको छ । भोटेवहालको गोदाममा पनि डेट एक्सपायर सामानहरू भेटिएको छ । कतिपय पुरानो सामानहरूमा पनि सन् २०२४ सम्म प्रयोग गर्न मिल्ने मिति राखिएको पाइएको छ । प्रहरीले उक्त गोदामबाट पनि केही सामान बरामद गरी गोदामलाई सिल गरेको छ ।

आरोपीले विदेशबाट सामान ल्याएको बताए पनि भन्सारको प्रज्ञापनपत्र प्राप्त नभएकाले विदेशबाट सामान ल्याएको हो कि होइन भन्ने सम्बन्धमा छानबिन भइरहेको र एक दुई दिनमै पत्ता लाग्ने एसपी पङ्गेनीले बताए । आरोपीले गौशालामा पनि कार्यालय रहेको बताएको र उक्त कार्यालय पनि सिल गर्ने तयारी भइरहेको एसपी पङ्गेनीले रातोपाटीलाई बताए ।

ठगी, कालोबजारी र जनहित विरुद्धको कसुर

आरोपीहरूले डेट एक्सपायर सामानलाई नयाँ मिति राखेर बेच्नु गैरकानुनी र आपराधिक कार्य भएको भन्दै उनीहरुविरुद्ध ठगी, कालोबजारी र जनहित विरुद्धको अपराधमा मुद्दा चल्न सक्ने प्रहरीले जनाएको छ । अहिले छानबिनकै क्रममा रहेको भन्दै कारबाहीको सम्बन्धमा अहिले नै केही भन्न नसकिने भन्दै उपभोक्ता हित विरुद्धको अपराध भएकाले उनीहरूमाथि कारबाही हुने खापुङले बताए ।

प्रहरीले हतकडी लगाएर लैजाँदा पनि उनीहरूले आफ्नो अपराध भने कबुल गरेका छैनन् । आफूहरूले विदेशबाट सामान मगाएर विभिन्न डिपार्टमेन्ट स्टोर, साना कस्मेटिक पसल तथा हार्डवेयरलाई बेच्ने गरेको बताए पनि डेट एक्सपायर सामानको सम्बन्धमा केही बताएका छैनन् । आफूले रि लेबलिङ नगरेको भन्दै उनीहरूले पन्छिने प्रयास गरिरहेका थिए । तर प्रहरीले गोदामबाटै नयाँ स्टिकरहरू बरामद गरेको थियो ।प्रहरीले डेट एक्सपायर सामानमा रि लेबलिङ गरेर बेच्ने गरेको सम्बन्धमा गोदाममै छापा मारेर सामान बरामद गरे पनि ती सामानहरू फेरि भाटभटेनी, बिग मार्ट र सेल्स बेरीमै पुगेर विक्री वितरण हुने गरेको हो कि होइन भन्ने पुष्टि गर्न सकेको छैन । आरोपीले ती सामानहरू भाटभटेनी लगायतका डिपार्टमेन्ट स्टोरबाट बेच्ने गरेको बताए पनि भाटभटेनी लगायतकै सामान कसरी त्यो गोदाममा पुग्यो र फेरि कसरी भाटभटेनीमै पुग्छ भनेर सोधखोज गर्दैछ । यस सम्बन्धमा अनुसन्धान भइरहेकाले अहिले नै केही भन्न नसकिने तर यो गम्भीर विषय भएको प्रहरीको भनाई छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप