शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

माओवादी केन्द्रको स्थायी कमिटी बैठक स्थगित

सोमबार, १८ साउन २०७८, ०७ : ५७
सोमबार, १८ साउन २०७८

नेकपा माओवादी केन्द्रको आज बस्ने भनेको स्थायी कमिटी बैठक स्थगित भएको छ ।  सोमबार दिउँसो तीन बजे पार्टी कार्यालय पेरिसडाँडामा बैठक बस्ने भनिए पनि तयारी नपुगेकाले स्थगित गरिएको कार्यालय सचिव श्रीराम ढकालले रातोपाटीलाई जानकारी दिए ।

आजको बैठकमा मन्त्री छनोटका विषयमा  केन्द्रित हुने चर्चा थियो  । काँग्रेस, माओवादी, एमाले माधव समूह, जसपा र जनमोर्चाको समर्थनमा २९ असारमा प्रधानमन्त्री भएका शेरबहादुर देउवाले अहिलेसम्म मन्त्रिपरिषललाई पूर्णता दिन सकेका छैनन् । 

देउवाले सोही दिन काँग्रेसबाट बालकृष्ण खाणलाई गृह र ज्ञानेन्द्रबहादुर कार्कीलाई कानुनमन्त्री बनाएका थिए भने माओवादीबाट जनार्दन शर्मालाई अर्थ र पम्फा भुसाललाई उर्जा मन्त्री बनाएका थिए ।

यस्तै साउन १० गते काँग्रेसबाट उमेश श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्री बनाएका छन् । थप १९ मन्त्रीको नियुक्तिमा एमालेको माधव नेपालको निर्णय र काँग्रेस, माओवादी र जसपाबीच शक्ति सन्तुलनमा ठोस सहमति नहुँदा ढिलाइ भएको देखिन्छ ।

आइतबारको स्थायी कमिटी बैठकमा माधव समूह औपचारिक रुपमा सरकारमा सहभागी नहुन नसक्ने प्रचण्डको ब्रिफिङ थियो । तत्काल नेपाल समूह नआउने भएपछि मन्त्रिमण्डललाई पूर्णता दिएर अघि बढ्नुको विकल्प नभएको उनको भनाइ थियो । 

माओवादीबाट मन्त्रीका लागि नारायणकाजी श्रेष्ठ, हरिबोल गजुरेल, देवेन्द्र पौडेल, हरिराज अधिकारी, देवप्रसाद गुरुङ, मातृका यादव, जयपुरी घर्ती, अञ्जना विशंखे ,शशी श्रेष्ठ, सुदन किराती, अमनलाल मोदी, शिवकुमार मण्डल लगायतको नाम चर्चामा छ । आकांक्षी धेरै देखिएपछि माओवादीमा मन्त्री छनोट सकसपूर्ण बनेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप