विश्व स्तनपान सप्ताह र बालबालिकाको स्वास्थ्य

person explore access_timeसाउन १८, २०७८ chat_bubble_outline0

 

विश्व स्तनपान सप्ताह प्रत्येक वर्ष मनाइने एक उत्सव हो । यो उत्सव १२० भन्दा बढी देशमा अगस्ट १ देखि ७ सम्म प्रत्येक वर्ष आयोजना गरिन्छ । २४ जुलाई २०२१ सम्मको तथ्याङ्कअनुसार विश्व स्तनपान हप्ता १२० भन्दा बढी देशहरूले आयोजना गर्ने गरेको पाइन्छ । वल्र्ड अलायन्स फर ब्रेस्टफिडिङ एक्सन, विश्व स्वास्थ्य सङ्गठन र युनिसेफले एक साथ जीवनको पहिलो ६ महिनाका लागि पूर्ण स्तनपानलाई बढावा दिने लक्ष्य लिएर यो दिवस साताव्यापि रूपमा मनाउँदै आएको छ । यो उत्सवको उद्देश्य नयाँ आमाबुबाहरूको बीच जागरूकता पैदा गर्न र संसारभरमा शिशु स्वास्थ्यमा सुधार गर्नु हो ।

विश्व स्तनपान हप्ता पहिलो पटक १९९२ मा वल्र्ड अलायन्स फार ब्रेस्टफिडिङ एक्सनद्वारा १ देखि ७ अगस्टसम्म उत्सवका रूपमा मनाइएको थियो । विश्वव्यापी स्तनपान संस्कृतिलाई पुनः स्थापना गर्ने र जहिले पनि स्तनपानका लागि समर्थन प्रदान गर्ने लक्ष्यसहित युनिसेफ डब्ल्यूएचओ, व्यक्ति, सङ्गठनहरू र सरकार लगायत उनीहरूका साझेदार संस्थाहरूले मनाउने गर्छन् ।

वल्र्ड अलायन्स फार ब्रेस्टफिडिङ एक्सनले २०२१ का लागि स्तनपानको रक्षा– एक साझा  जिम्मेवारी (Protect Breastfeeding: A Shared Responsibility)​ भन्ने नारा घोषणा गरेको छ । यस वर्ष पनि सधैँ जस्तै अगस्ट १ देखि ७ सम्म सप्ताहव्यापि उत्सव मनाउइने छ । यस विषयको साझा नारासहित उत्सव मनाउने एक मात्र कारण स्तनपानको लाभ र यसको महत्त्वका बारेमा सजग बनाउनु हो । यस वर्ष २०२१ को साझा विषय दिगो विकास लक्ष्य २०३० अभियानको विषयगत क्षेत्र २ सँग मिल्दोजुल्दो हुने गरी अगाडि बढाइएको छ । जसले स्तनपान र अस्तित्व, स्वास्थ्य र महिलाको स्थिति, बच्चाको स्वास्थ्य र राष्ट्रका बीचको सम्बन्धलाई हाइलाइट गर्छ ।

यस वर्षको उद्देश्यः

स्तनपान सुरक्षाको महत्त्वबारे मानिसलाई सूचित गर्नु ।

स्तनपानलाई एक महत्त्वपूर्ण सार्वजनिक स्वास्थ्य जिम्मेवारीका रूपमा समर्थन र बहस गर्नु ।

कार्यक्रमलाई अधिक प्रभावकारी बनाउन हरेक व्यक्ति, सङ्घसंस्था तथा सङ्गठनहरूलाई संलग्न गराउने ।

सार्वजनिक जनस्वास्थ्य सुधार गर्न स्तनपानको सुरक्षामा कार्य गर्ने समूह तयार गर्नु ।

स्तनपान के हो ?

सामान्यतया शिशुलाई आफ्नै आमाको दूध चुसाउनु स्तनपान हो । स्तनपानको दुईवटा मूलभूत मापदण्ड छन् ।

१. प्रारम्भिक स्तनपान २. पूर्ण स्तनपान

प्रारम्भिक स्तनपान : प्रारम्भिक स्तनपान भन्नाले शिशु जन्मेको एक घण्टाभित्र आमाको दूध ख्वाउन सुरु गर्नु हो । यसो गर्नाले शिशुले दूध चुस्ने क्षमता प्राप्त गर्छ । शिशुको शरीरमा ग्लुकोजको कमी हुनबाट बचाउँछ । साथै बच्चा जन्मेदेखि केही दिनसम्म आउने पहेलो प्रकारको बिगौती दूधमा रोगसँग लड्न सक्ने प्रतिरक्षा क्षमता ( एन्टिबडी) धेरै हुने भएकाले बच्चालाई रोग लाग्नबाट समेत बचाउने हुँदा यसलाई शिशुको पहिलो प्राकृतिक खोप पनि भनिन्छ ।

पूर्ण स्तनपान :शिशु जन्मेदेखि ६ महिनासम्म आमाको दूध मात्र ख्वाउनु नै पूर्ण स्तनपान हो । शिशुका लागि आवश्यक पर्ने पानी, मिनिरल्स, ग्लोकोज तथा अन्य भिटामिन र रोग प्रतिरक्षात्मक तत्त्वसमेत आमाको दूधमा नै पर्याप्त हुने भएकाले अन्य कुनै पनि किसिमको थप खाना ख्वाउन आवश्यक हँुदैन । यसरी ६ महिनासम्म स्तनपान गराउँदा शिशुहरूको शारीरिक र मानिसक वृद्धि र विकासका लागि सहयोग पुग्छ । पूर्ण स्तनपान गराएका बच्चाहरूको दिमागी क्षमता अन्य बच्चाभन्दा तीक्ष्ण हुन्छ । सङ्क्रामक रोगबाट बच्ने र आर्थिक भार पनि नपर्ने तथा आमाको स्वास्थ्यमा समेत सकारात्मक फाइदा भएकाले स्तनपान अमृत समान हुन पुगेको छ । दीर्घकालीन रूपमा बच्चाको मृत्युदर घटाउनसमेत स्तनपानको भूमिका रहेको छ । शिशु ६ महिना पुग्नासाथ आमाको दूधका साथसाथै पोषिलो थप आहार ख्वाउन थाल्नुपर्छ र कम्तीमा दुई वर्षसम्म थप आहारका साथ स्तनपानलाई पनि निरन्तरता दिनुपर्छ ।

स्तनपानसम्बन्धी कानुनी व्यवस्था

–सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन २०७५ को परिच्छेद ३ को दफा १३ मा उल्लेख गरिएको प्रसूति बिदाको अधिकारभित्र नवजात शिशुलाई स्तनपान प्रवद्र्धन र सहजीकरणका लागि अन्ठानब्बे दिन पूर्ण तलबी बिदाको व्यवस्था गरेको छ भने आवश्यक परेमा चिकित्सकको राय सल्लाहअनुसार बढीमा एक वर्षसम्म बेतलबी बिदा पाउने अधिकारको व्यवस्था गरेको छ ।

–सबै प्रकारका सरकारी, गैरसरकारी वा निजी सङ्घ संस्थाले आफ्नो कार्यालयमा कार्यरत महिलालाई शिशु जन्मेको दुई वर्षसम्म कार्यालय समयमा आमाको दूध खुवाउनका लागि आवश्यक व्यवस्था मिलाउपर्ने उल्लेख छ ।

–हरेक कार्यालय, स्कुल, बसपार्क र एयरपोर्ट जस्ता स्थानमा छुट्टै स्तनपान कक्ष हुनुपर्ने व्यवस्था गरेको छ ।

–स्तनपान नवजात शिशुका लागि नैसर्गिक अधिकारका रूपमा परिभाषित गरिएको छ ।

–स्तनपान र आमाको दूधलाई प्रतिस्थापन गर्ने सबै प्रकारका तयारी खाना र वस्तु बिक्रीवितरण नियन्त्रण ऐन २०४९ र नियमावली २०५१ मा उल्लेख भएको प्रावधानहरू ।

–प्रसूति गृह वा अस्पतालहरूमा प्रारम्भिक स्तनपानलाई प्रवद्र्धन तथा स्थापित गर्न मातृशिशुमैत्री कक्षको व्यवस्था गर्नुपर्ने छ ।

हालको स्तनपानको स्थिति

नेपाल बहुसूचक सर्वेक्षण २०१९ अनुसार शिशु जन्मेको १ घण्टाभित्र स्तनपान गराउने आमाहरूको सङ्ख्या ४१.७ प्रतिशत मात्र छ भने पूर्ण स्तापान गराउने आमाहरू ६२.१ प्रतिशत छन् । शिशुहरूलाई उमेरको मापदण्ड अनुरूप स्तनपान गराउने आमाहरू जम्मा ८१.४ प्रतिशत मात्र छन् । त्यस्तै गरेर नेसनल डेमोग्राफिक हेल्थ सर्वे २०१६ अनुसार शिशु जन्मेको १ घण्टाभित्र स्तनपान गराउने आमाहरूको सङ्ख्या ५५ प्रतिशत मात्र छ भने पूर्ण स्तापान गराउने आमाहरू ६६ प्रतिशत छन् । साथै ६ महिना पूरा भएका बच्चाहरूलाई स्तनपानको साथमा समयमै मापदण्डअनुरूप थप खानाको सुरु गर्ने आमाहरूको सङ्ख्या जम्मा ३६ प्रतिशत मात्र छ ।

उल्लेखित प्रतिनिधि तथ्याङ्कले दर्साएको वर्तमान स्थितिको कारणको खोजी गर्दा अशिक्षा, गरिबी, ऐन, कानुन र नियमावलीको अभावले स्तनपानलाई कुनै असर परेको देखिँदैन । व्यापारिक विज्ञापन, व्यक्तिगत आम्दानी, बजारमा उपलब्ध फर्मुला युक्त खाना, कानुनी प्रावधानको कार्यान्वयन पक्ष फितलो हुनु, कार्यालय वा अन्य स्थानमा  छुट्टै स्तनपान कक्षको व्यवस्था नहुनु वा महिला कर्मचारीलाई स्तनपान गराउने समयको व्यवस्था नगरिनु, प्रसूति बिदा कम दिनु (९८ दिन मात्र) र परम्परागत धारणा समाजमा रहिरहनुले अहिले पनि स्तनपान नवजात शिशुको नैसर्गिक अधिकारको हनन नै भएको छ भन्दा पनि फरक नपर्ला ।

यस्तो अवस्था रहिरहँदा नवजात शिशु तथा बाल स्वास्थ्य क्षेत्रमा महत्त्वपूर्ण उपलब्धिका लागि राखिएको महत्त्वकाङ्क्षी लक्ष्य हासिल गर्न धेरै कठिन पर्न सक्ने अन्दाजा गर्न सकिन्छ । त्यसैले यस्ता उत्सवहरूका आयोजनाहरूलाई लक्षित वर्गसम्म पु¥याउने र सार्वजनिक बहसको विषय बनाई प्रत्येक आमालाई स्तनपान गराउनुको विकल्प स्तनपान मात्र हो र मापडण्डअनुसार स्तनपान गराउनाले शिशुको रुग्णता दर र मृत्युदर त घट्छ नै साथै तृक्ष्ण बुद्धि र क्षमतावान नागरिकको परिकल्पना पूरा हुनेछ भन्ने जनचेतना फैलाउनेतिर प्राथमिकीकरण गर्न जरुरी देखिन्छ ।

कोभिड–१९ महामारी र स्तनपान

पान अमेरिकी स्वास्थ्य सङ्गठन र डब्ल्यूएचओका अनुसार जब स्वास्थ्य र अन्य सामुदायिक सेवाहरू आफैमा वञ्चित वा सीमित हुन्छन् त्यो समयमा स्तनपान गरिरहेका शिशुहरूलाई सङ्क्रमणबाट बच्न र रोकथाम गर्न तथा स्वास्थ्य विकासलाई बढावा दिनका लागि विशेष गरी आमा र शिशुको अन्तत्र्रिmया महत्त्वपूर्ण हुन्छ । आमाहरू र शिशुहरूलाई सँगै रहनका लागि व्यवस्था गरिएको हुनुपर्छ । नवजात शिशुहरूमा शङ्कास्पद, सम्भावित वा पुष्टि कोभिड–१९ भाइरस सङ्क्रमण छ भने छालादेखि छाला सम्पर्क र कङ्गारु हेरचाह अभ्यास गर्नु र नियमित स्तनपान गराउनुपर्छ । सबै गर्भवती महिला, शिशु र साना बच्चा भएका आमाहरूलाई स्तनपान परामर्श, आधारभूत मनोसामाजिक समर्थन र खुवाउने अभ्यासको लागि सहयोग प्रदान गरिनुपर्दछ । कोभिड–१९ महामारीको समयमा पनि जन्मेको एक घण्टाभित्र स्तनपान गराउने, बच्चा छ महिनाको उमेरसम्म पूर्ण स्तनपान मात्र गराउने र दुई वर्षको उमेरसम्म सुरक्षित पूरक खाद्य पदार्थसँगै स्तनपान जारी राख्दा पोषणका लागि पर्याप्त हुने र शरीरको रोगसँग लड्ने प्रतिरक्षा प्रणाली बलियो हुने भनी यो मार्गनिर्देशिका जारी गरेको छ ।

यदि स्तनपान गराइरहेकी आमामा कोभिड–१९ सङ्क्रमण भएको शङ्का लागेको छ वा पुष्टि भएको छ भने जनस्वास्थ्यको मापदण्ड अपनाएर स्तनपानलाई निरन्तरता दिनुपर्छ ।

शिशुको सम्पर्कमा आउनुअगाडि हरेक पटक आमाले साबुनपानीले कम्तीमा २० सेकेन्ड मिचिमिची हात धुने वा अल्कोहलयुक्त स्यानिटाइजर प्रयोग गर्ने ।

–आमाले स्तनपान गराउँदा वा शिशुको सम्पर्कमा आउँदा मास्क लगाउने

–आमाले खोक्दा वा हाच्छ्युँ गर्दा कपडा वा टिस्यु पेपरले नाक, मुख छोप्ने र तुरुन्त साबुनपानीले हात धुने र त्यसपश्चात स्तन धोएर मात्र शिशुलाई स्तनपान गराउने

–यदि स्तनपान गराइरहेकी आमाको अवस्था गम्भीर छ भने शिशुसँगको प्रत्यक्ष सम्पर्कबाट टाढा रहने र शिशुलाई स्तनपान नगराउने तर दूध निचोरेर सफा भाँडामा राखी चम्चा वा कपबाट खुवाउने ।

–सङ्क्रमित आमाको सम्पर्कमा आएको भुइँ, सतह तथा सामानहरूलाई निसङ्क्रमण गर्ने र घर वरपरको वातावरण पनि सफा गर्ने ।

–चिन्ता र तनावले दूध उत्पादन हुने प्रक्रियामा असर गर्ने हुनाले स्तनपान गराइरहेकी आमा चिन्ता र तनावरहित रहने ।

नवजात शिशु तथा बाल स्वास्थ्य क्षेत्रमा महत्त्वपूर्ण उपलब्धिका लागि राखिएको महत्त्वकाङ्क्षी लक्ष्य हासिल गर्न स्तनपानलाई प्राथमिकतामा राखेर सार्वजनिक बहसको विषय बनाउनुपर्नेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।