शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

दार्चुला घटना : छानविन समितिको प्रतिवेदन अनुसार सरकारले आवश्यक निर्णय लिने

छानविन समितिको प्रतिवेदन आउनु अघि सरकारले कुनै राय दिन मिल्दैनः गृहमन्त्री
सोमबार, १८ साउन २०७८, १४ : ५५
सोमबार, १८ साउन २०७८

गृहमन्त्री बालकृष्ण खाँणले दार्चुलामा तुइन तर्ने क्रममा महाकाली नदीमा खसेर बेपत्ता भएका व्यक्तिको सम्बन्धमा छानविन समितिको प्रतिवेदन अनुसार सरकारले आवश्यक निर्णय लिने बताएका छन् । सोमबार राष्ट्रिय सभा बैठकमा बोल्दै गृहमन्त्री खाँणले यस घटनाको सम्बन्धमा छानविन समिति गठन गरिसकिएको जानकारी दिदैँ छानविन समितिको प्रतिवेदन आउनु अघि सरकारले कुनै राय दिन नमिल्ने बताए । 

उनले छानविन समितिको प्रतिवेदनको आधारमा सरकार जुनसुकै प्रकारको निर्णय लिने पनि बताए ।  प्रतिवेदन प्राप्त गरेपछि नै सरकारले आफ्नो धारणा सार्वजनिक गर्ने बताउँदै उनले भने, ‘हामी आफैले छानविन समिति बनाइरहेको अवस्थामा छानवीनमा प्रभाव पार्नेगरी हामीले आफ्नो कुनै राय दिन मिलेन । छानबिनबाट प्रतिवेदन आइसकेपछि घटनाको सत्यतथ्य प्रतिवेदन आइसकेपछि त्यो प्रतिवेदनमा उल्लेख भएका कुराहरुको लागि हामी जुनसुकै अडान लिनपनि तयार छौँ । र त्यसका लागि आवश्यक पहल गर्ने, निर्णय गर्ने र आफ्ना धारणा सार्वजनिक गर्ने र अगाडी बढ्न गृह मन्त्रालय र नेपाल सरकार प्रतिवद्ध रहेको म मान्यज्यूहरुलाई हार्दिकतापूर्वक अवगत गराउन चाहान्छु ।’

उनले साउन १५ गते व्यास गाउँपालिका वडा नं. २ बस्ने जयसिंह धामीको तुइन तर्ने क्रममा महाकाली नदीमा झरी बेपत्ता भएको घटना दुःखद र संवेदनशील रहेको बताए । उनले सोही दिन गृह मन्त्रालयको निर्देशनमा जिल्ला प्रशासन कार्यालय दार्चुलाबाट उक्त घटनाको सम्बन्धमा वास्तविक सत्यतथ्य छानविन गर्न सशस्त्र प्रहरी बल नेपाल गण ४४, प्रहरी नायब उपरिक्षक विजयसिंह धामी, जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट प्रहरी निरिक्षक नरेन्द्र बहादुर चन्द, र राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालयका विक्रमसिंह ढाँडसहित ३ जनाको टोलीले स्थलगत छानविनको लागि घटनास्थलमा खटिएको बताए । 

त्यस्तै जिल्ला प्रशासन कार्यालय दार्चुलाले भारतको पिथौरागढस्थित जिल्लाधिकारीलाई उक्त घटनाको सम्बन्धमा ध्यानाकर्षण गराउँदै पत्राचार गरेको पनि उनले जानकारी दिए । 

जयसिंह धामी भन्दा अगाडी उक्त स्थानको तुइन तरी भारततर्फ पुगेका बहादुरसिंह धामी, अमरसिंह धामी, गौरसिंह धामी र मणिराम सिंह धामीसँग सोधपुछ भइरहेको छ तथा तुइन तर्न बाँकी अनिता धामी, विक्रम राम कोली र कल्याण धामीलाई बुझ्नको लागि जिल्ला सदरमुकाम बोलाइएको सशस्त्र प्रहरी बल नेपाल सिमा सुरक्षाका पाँच वटा बेसबाट खोज तलासको काम भइरहेको र बैतडी र कञ्चनपुर जिल्लाको स्थानीय तहबाट पनि खोज तलासमा समन्वय गर्ने काम भइरहेको उनले बताए ।

यस्तै गृह मन्त्रालयका सहसचिव जनार्दन गौतमको संयोजकत्वमा नेपाल प्रहरीका प्रहरी नायव महानिरीक्षक पुरुषोत्तम कँडेल, सशस्त्र प्रहरी बल नेपालका सशस्त्र प्रहरी वरिष्ठ उपरिक्षक सुरेश कुमार श्रेष्ठ, राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशक हुत्तराज थापा, जिल्ला प्रशासन कार्यालय दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी जोत्सना भट्ट जोशी समेत ५ जना रहने गरी स्थलगत रुपमा सत्यतथ्य छानविन गरी १० दिनभित्र प्रतिवेदन पेश गर्ने गरी छानविन समिति गठन गरी घटनास्थल तर्फ पठाइसकिएको पनि उनले सदनलाई जानकारी गराए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप