शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

पतिको गिरफ्तारीबारे शिल्पाले पहिलोपटक आफ्नो धारणा सार्वजनिक गरिन्

सोमबार, १८ साउन २०७८, १५ : ४५
सोमबार, १८ साउन २०७८

पोर्न फिल्मसम्बन्धी मामिलामा पति राज कुन्द्राको गिरफ्तारीपछि बलिउड नायिका शिल्पा शेट्टीले पहिलो पटक आफ्नो धारणा सार्वजनिक गरेकी छन् ।  उनले सोशल मिडियामार्फत आफ्ना भनाइ सार्वजनिक गरेकी हुन् । उनले आफू र आफ्नो परिवारको गोपनीयताको सम्मान गर्न पनि मिडियालाई आग्रह गरेकी छन् ।

राज कुन्द्रालाई प्रहरीले नियन्त्रणमा लिएपछि उनकी पत्नीको नाताले शिल्पा पनि सामाजिक सञ्जालमा ‘ट्रोल’ भइरहेकी छन् । यसै सन्दर्भमा दुई पेज लामो नोट लेख्दै उनले ‘मिडिया ट्रायल’ बन्द गर्न आग्रह गरेकी छन् ।

प्रस्तुत छ, शिल्पाले लेखेको नोटको नेपालीमा भावानुवाद–

हो, केही दिन यता हरेक प्रकारले मुस्किल रह्यो । हामीमाथि कयौं आरोप लागे र भ्रम फैलाइए । मिडिया र मेरा कथित शुभचिन्तकले मेरो र परिवारका बारेमा कयौं कुरा भने । मेरो सम्पूर्ण परिवारलाई ट्रोल गरिएको छ । हामीमाथि प्रश्न उठाइएको छ ।

यो मामिलामा मेरो धारणा अहिलेसम्म केही आएको छैन र आगामी दिनमा पनि म चुप रहन्छु । मेरो नाममा झुटो कुरा नबनाउनुस् ।

एक सेलिब्रेटीका रुपमा मेरो दर्शन भन्नु नै कहिल्यै गुनासो नगर्नु र कहिल्यै सफाइ नदिनु नै हो । म यतिमात्र भन्छु कि अहिले अनुसन्धान भइरहेको छ । मलाई मुम्बई प्रहरी र भारतको न्यायालयमाथि भरोसा छ । एक परिवारका रुपमा हामीले कानुनी मद्दत लिइरहेका छौं । त्यतिन्जेलसम्म म तपाईहरुसँग निवेदन गर्दछु, खासगरी एउटी आमाका रुपमा कि हाम्रो बच्चाका लागि हाम्रो परिवारको गोपनीयताको सम्मान गरिदिनुुस् । साथै म निवेदन गर्दछु कि आधा–अधुरा जानकारीमाथि वास्तविकता नबुझिकन प्रतिक्रिया दिन बन्द गर्नुस् ।

मानहानीको मुद्दा

यसअघि शिल्पाले राज कुन्द्रा गिरफ्तारीपछि विभिन्न मिडियामा आएका समाचारले आफूहरुको मानहानि भएको भन्दै अदालतमा मुद्दा दायर गरेकी थिइन् ।

उनले विभिन्न २९ मिडिया संस्थान र पत्रकारमाथि झुटो समाचार प्रकाशित तथा प्रसारित गरेको आरोपसहित २५ करोड रुपैयाँ क्षतिपूर्तिको मागसहित मुद्दा दिएकी थिइन् ।

शनिबार उक्त मुद्दामा भएको सुनुवाईमा उनले त्यति राहत भने महसुस गर्न सकिनन् । अदालतले उक्त मुद्दाको सुनुवाई सेप्टेम्बर २० मा हुने गरी तोकेको छ । प्रारम्भिक सुनुवाईमा अदालतले विभिन्न स्रोतलाई उद्धृत गरी प्रकाशित भएको समाचारलाई प्रथम दृष्टिमै मानहानि मान्न नसकिने ठहर गरेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप