शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

पार्टीलाई नयाँ गतिका साथ अघि बढाउने एमालेको निर्णय, ९ विभाग गठन

सोमबार, १८ साउन २०७८, १८ : १७
सोमबार, १८ साउन २०७८

नेकपा एमालेले पार्टीलाई नयाँ गतिका साथ सशक्त ढंगले अघि बढाउने निर्णय गरेको छ । सोमबार बसेको एमाले स्थायी समिति बैठकले पार्टीलाई नयाँ गतिका साथ अघि बढाउन वडा तहदेखि नै अधिवेशन गर्ने निर्णय गरेको प्रचार विभाग प्रमुख प्रदीप कुमार ज्ञवालीले बैठकपछि जानकारी दिए । 

बैठकले ९ वटा विभाग गठन गर्ने निर्णय पनि गरेको ज्ञवालीले जानकारी दिए ।  विभागमा माधव नेपाल समूहलाई भने समेटिएको छैन । पार्टी एकताको माहोल बनेको खण्डमा अन्य विभागमा नेपाल समूहलाई समेट्न सकिने ज्ञवालीको भनाइ छ । 

एमालेले गठन गरेको विभागमा संगठन विभाग, संसदीय विभाग, आर्थिक विभाग, प्रचार विभाग, पर्यटन प्रबद्र्धन विभाग,स्कुल विभाग, विदेश विभागलगायतका रहेका छन् । 

 विभागहरूमा पार्टी स्कुल विभाग प्रमुखः केपी शर्मा ओली, सङ्गठन विभाग प्रमुखः विष्णुप्रसाद पौडेल, प्रचार विभाग प्रमुख : प्रदीप ज्ञवाली, संसदीय विभाग प्रमुख : सुवास नेम्वाङ, आर्थिक विभाग प्रमुख : विष्णु रिमाल, पर्यटन प्रवद्र्धन विभाग प्रमुख : भानुभक्त ढकाल, विदेश विभाग प्रमुख : डा राजन भट्टराई, स्थानीय तह विभाग अग्नि खरेल र निर्वाचन विभाग प्रमुख : देवेन्द्र दाहाल छन् ।

एमालेले आगामी भदौ २७ र २८ गते काठमाडौँमा पार्टीको विधान महाधिवेशन आयोजना गर्ने तयारीबारे मस्यौदा तयारी र व्यवस्थापन कमिटीबारे आइतबार निर्णय गरेको थियो । विधान अधिवेशन अगावै प्रस्तावित विधान केन्द्रीय कमिटीबाट पारित गरी छलफलका लागि तल्ला कमिटीमा पठाउने सो पार्टीको व्यवस्था छ । ती विषयमा छलफल गर्न एमालेले यही साउन २४ गते केन्द्रीय कमिटीको बैठक आह्वान गरेको छ । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप