एयरलाइन्स कम्पनीहरुले बढी भाडा असुलेको बारे संसदीय समितिको चासो
कोभिड–१९ महामारीको समयमा एयरलाइन्स कम्पनीहरुले बढी भाडा लिएको सम्बन्धमा संसदीय समितिले चासो राखेको छ ।
प्रतिनिधि सभा अन्र्तगतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले कोभिड–१९ महामारीको बेलामा हवाई उडानहरूले बढी भाडा लिएको सम्बन्धमा चासो राख्दै सरोकारवाला निकायसँग छलफल गरेको छ ।
छलफलका क्रममा सांसदहरुले वायु सेवा कम्पनीहरुले सेवा भाव नराखी महामारीको बेलामा उपभोक्ताहरूसँग बढी भाडा असुलेको बताएका छन् भने वायु सेवा सँग सम्बन्धित सरोकारवाला अधिकारीहरुले भने बजारमा आएजस्तो बढी भाडा नलिएको र अनियमितता नभएको बताएका छन् ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेलले प्राधिकरणले वायु सेवाहरुलाई व्यापारिक रुपमा हस्तक्षेप गर्ने अधिकार प्राधिकरणको नभएको बताए । उनले कोभिड–१९ महामारीको समयमा वायु सेवाले बढी भाडा लिएको २४ वटा गुनासो आएको र त्यसउपर छानविन भइरहेको बताए ।
नेपाल वायुसेवा निगमका महाप्रबन्धक डिमप्रसाद पौडेलले निषेधाज्ञाको समयमा वायु सेवा निगमले बढी भाडा नलिएको बताए । उनले आफुहरुले मौकाको फाइदा उठाउने हिसाबले काम नगरेको भन्दै यसबारे निगमबारे कुनैपनि प्रकारको गुनासो नभएको पनि स्पष्ट पारे ।
सांसद देवेन्द्र पौडेलले नेपाली नागरिकहरुलाई आपत परेको बेलामा वायु सेवाहरुलाई मानविय भावनाले काम गर्न नसकेको बताए । वायु सेवा निगम घाटामा गए सरकारलाई भन्नुपर्ने र भाडाले संस्था धान्छु भनेर नहुने उनले बताए । आगामी दिनमा वायु सेनाहरुले कमजोरी सच्याउनुपर्ने उनले बताए ।
सांसद सन्तकुमार चौधरीले वायु सेवा कम्पनीहरुले दलालमार्फत टिकट बिकाउनु नहुने बताए । अर्का सांसद प्रमोद साहले वायु सेवा कम्पनीको मनपरी भाडा लिने दादागिरी र हैकमवादी प्रवृत्तिका विरुद्धमा सांसद बोल्दा सांसद विरुद्ध मुद्धा चलाइएको भन्दै सर्वसाधारणले झनै बोल्न नसक्ने बताए ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेले महामारीको समयमा हवाइ उडानमा हुने अनियमितता बारे जानकारी दिन मन्त्रालयले सुचना जारी गरेको जानकारी दिदैँ दुई वटा ट्राभल एजेन्सीलाई कारबाही गर्न गृह मन्त्रालयलाई सिफारिस गरेको बताए । गुनासोहरूको अध्ययन गर्दै समस्या समाधान गर्न छानविन समिति गठन गरिएको र समितिको प्रतिवेदन आएपछि थप निर्णय गरिने उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतले रोक्यो नेपाली चियाको निर्यात
-
संक्रमणकालीन न्यायमा राजनीतिक सहमति जुटिसक्यो : मन्त्री गिरी
-
अवैध औषधि बेच्ने दुई मेडिकल बन्द
-
सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति
-
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा ‘एमडी’ तहको पठनपाठन
-
दूधमा बर्ड फ्लुको ‘एचफाइभ एनवान’ सङ्क्रमण भेटियो : डब्लुएचओ