शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

रातोपाटी ब्रिफिङ : शंकरलाई संकट, अदालतले महेन्द्रलाई राहत, पूर्वमाओवादीलाई धक्का !

सोमबार, १८ साउन २०७८, २१ : ०१
सोमबार, १८ साउन २०७८

आज २०७८ साउन १८ गते सोमबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘सन्ध्याकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौं–

आजका मुख्य समाचारहरुमा लुम्बिनी प्रदेशमा सरकार फेर्ने कसरत, पार्टीलाई नयाँ गति दिने भन्दै एमालेका ९ वटा विभाग गठन, कर्णाली प्रदेशका चार एमाले सांसदमाथिको कारवाही सदर, साझा कार्यक्रम बनाउन सत्तारुढ गठबन्धनमा छलफल, स्वास्थ्य राज्यमन्त्रीका सय दिने कार्ययोजना, सांसद पद फर्काउन चार पूर्व माओवादी नेताले दिएको रिट निवेदनमा आएन अन्तरिम आदेश, संगठन विस्तारलाई गति दिने सन्दर्भमा माओवादी अध्यक्ष प्रचण्डको परिपत्र लगायत छन् ।

१. लुम्बिनीमा सरकार फेर्ने कसरत : प्रदेश प्रमुखलाई विपक्षी गठबन्धनको निवेदन

लुम्बिनी प्रदेशमा विपक्षी गठबन्धनले मुख्यमन्त्री शंकर पोखरेल नेतृत्वको सरकारलाई विस्थापित गर्न कसरत थालेका छन् । सोही अनुसार सोमबार विपक्षी गठबन्धनले संविधानको धारा १६८ को उपधारा २ बमोजिम सरकार गठनका लागि आह्वान गर्न मागसहित प्रदेश प्रमुखसमक्ष निवेदन दिएका छन् । प्रदेश सरकारले भने कानुनी सल्लाह लिएर आफूमाथि आइपरेका चुनौती सामना गर्ने प्रस्ट पारेको छ । सरकार परिवर्तनको रस्साकस्सी चलिरहेकै समयमा सम्पर्कविहीन भनिएकी प्रदेशसभा सदस्य विमला वलीले भने आफू एमालेमा रहने भन्दै सोमबार विज्ञप्ति सार्वजनिक गरेकी छन् ।

२. पार्टीलाई नयाँ गति दिने एमालेको उद्घोष, माधव समूहलाई पन्छाउँदै ९ विभाग गठन

नेकपा एमालेले पार्टीलाई नयाँ गति दिने भन्दै सोमबार ९ वटा विभाग गठन गरेको छ । विभागहरुमा माधव कुमार नेपाल पक्षलाई भने समेटिएको छैन । माधव नेपाल पक्षले भने पार्टी एकतालाई जोगाउन थप पहल गर्ने निर्णय गरेको छ । एमालेका दुवै पक्ष सोमबार अलग अलग बैठक राखेर आ–आफ्नो रणनीति बनाउन व्यस्त रहे ।


३. कर्णाली प्रदेशका चार एमाले सांसदमाथिको कारवाही सदर

सर्वोच्च अदालतले कर्णाली प्रदेशका चार एमाले सांसदमाथि पार्टीले गरेको कारवाहीका सम्बन्धमा यसअघि जारी अन्तरिम आदेशलाई निरन्तरता दिएन । एमाले अध्यक्ष केपी शर्मा ओलीले उक्त अन्तरिम आदेशविरुद्ध दिएको ‘भ्याकेट’ समेतलाई सुनुवाई गर्दै सर्वोच्च अदालतले मुद्दाको अन्तिम किनारा नलागुन्जेलसम्म एमालेका चार सांसदमाथिको कारवाहीलाई सदर गरेको छ ।

४. साझा कार्यक्रम बनाउन सत्तारुढ गठबन्धनमा छलफल, कार्यदलमा तीनवटा विषयको डकुमेन्ट ड्राफ्ट

सत्तारुढ गठबन्धनका शीर्ष नेताहरु साझा कार्यक्रम बनाउने उद्देश्यले छलफलमा जुटेका छन् । सोमबार प्रधानमन्त्रीसहित गठबन्धनका शीर्ष नेताहरुबीच छलफल भएको हो । यसैबीच सत्तारुढ गठबन्धनको कार्यदलको बैठकले सरकार सञ्चालनका बारेमा तीनवटा विषयमा डकुमेन्ट ड्राफ्ट गरेको छ ।

५. स्वास्थ्य राज्यमन्त्रीको सय दिने कार्ययोजना सार्वजनिक, चैतसम्म सबै नेपालीलाई खोप

स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले सोमबार सय दिने कार्ययोजना सार्वजनिक गर्दै सुरक्षाबाहेक आफूले अरु कुनै सरकारी सुविधा नलिने घोषणा गरेका छन् । उनले आगामी चैतसम्म सबै नेपालीका लागि कोरोनाविरुद्धको खोप लगाउने गरी योजना बनाइएको पनि बताए ।

६. सांसद पद फर्काउन चार पूर्व माओवादी नेताले दिएको रिट निवेदनमा आएन अन्तरिम आदेश

आफूहरुको सांसद पद खोस्ने गरी पार्टीले गरेको कारवाहीलाई चुनौती दिँदै सर्वोच्च अदालतमा रिट निवेदन दिएका चार पूर्वमाओवादी नेताको पक्षमा सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरिरहन नपर्ने ठहर गरेको छ । न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासले पूर्वमाओवादी नेताहरु लेखराज भट्ट, टोपबहादुर रायमाझी, गौरीशंकर चौधरी र प्रभु साहको रिट निवेदनमाथि सुनुवाई गर्दै अन्तरिम आदेश जारी गरिरहन नपर्ने ठहर गरेको हो ।

७. संगठन विस्तारमा जुट्यो माओवादी, प्रचण्डको परिपत्र

नेकपा माओवादी केन्द्रले संगठन विस्तारलाई प्राथमिकता दिँदै प्रत्येक प्रदेशमा ७५ सदस्यीय विशेष प्रदेश समिति बनाउनेगरी ठोस प्रस्ताव तयार गर्न लीलामणि पोखरेललाई जिम्मेवारी दिएको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले परिपत्र जारी गर्दै साउन ३० गतेभित्र सबै स्थानीय तह, सबै वडा समिति गठन तथा पुनर्गठन गरी केन्द्रीय कार्यालयमा अभिलेख पठाउन निर्देशन दिएका छन् ।

८. कोभिड युनिफाइड अस्पतालका प्रमुख प्रशासकीय अधिकारी जागेश्वर गौतमलाई प्रसूति गृहमा सरुवा

सरकारले कोभिड युनिफाइड अस्पतालका प्रमुख प्रशासकीय अधिकारी जागेश्वर गौतमलाई प्रसूति गृहमा सरुवा गरेको छ । सरुवापछि प्रतिक्रिया दिँदै गौतमले आफूलाई काम गर्न नदिइएको गुनासो गरेका छन् ।

९. दार्चुला घटनाबारे छानविन समितिको प्रतिवेदनका आधारमा निर्णय लिने गृहमन्त्रीको भनाइ

गृहमन्त्री बालकृष्ण खाँणले दार्चुलामा तुइन तर्ने क्रममा महाकाली नदीमा खसेर बेपत्ता भएका व्यक्तिको सम्बन्धमा छानविन समितिको प्रतिवेदनका आधारमा सरकारले आवश्यक निर्णय लिने बताएका छन् । सोमबार राष्ट्रियसभा बैठकमा उनले यस्तो जानकारी दिएका हुन् । सोमबार नै राजधानीमा नेकपा (क्रान्तिकारी माओवादी) निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले भारतीय दूतावास अगाडि सो घटनाको विरोधमा प्रदर्शन गरेको छ ।

१०. तीन हजार १२५ संक्रमित थपिए

नेपालमा पछिल्लो २४ घण्टामा तीन हजार १२५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यो अवधिमा कोरोना संक्रमणबाट २३ जनाको मृत्यु भएको छ भने एक हजार ९२५ जना संक्रमणमुक्त भएका छन् ।

११. र यो पनि,

तराई मधेसको मुद्दामा विगत ७ वर्षदेखि सामाजिक संस्थाका रुपमा काम गर्दै आएको तराई मधेस राष्ट्रिय परिषद्ले नयाँ राजनीतिक दल खोल्ने घोषणा गरेको छ ।

जसपाको आधिकारिकता सम्बन्धमा निर्वाचन आयोगको फैसलालाई चुनौती दिँदै महन्थ ठाकुरले दायर गरेको रिट निवेदन सोमबार सर्वोच्च अदालतको पेसीमा चढे पनि ‘हेर्न नभ्याइने’ सूचीमा परेपछि सुनुवाई हुन सकेन ।

अर्थमन्त्री जनार्दन शर्माले सरकारका काम कारवाहीका बारेमा स्वस्थ आलोचना गर्न पत्रकारहरुलाई सुझाव दिएका छन् ।

प्रतिनिधिसभा अन्तर्गतको महिला तथा सामाजिक समितिले संवैधानिक आयोगहरुको काम कारवाहीप्रति असन्तुष्टि जनाएको छ ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप