शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

कर्णालीमा दैनिक बढ्दै कोरोना : सक्रिय संक्रमितको संख्या ७०० पुग्यो

सोमबार, १८ साउन २०७८, २१ : ४५
सोमबार, १८ साउन २०७८

कर्णालीमा जनस्वास्थ्यमा मापदण्डमा चरम लापरवाही गर्दा कोरोना भाइरस (कोभिड–१९) को संक्रमणको दर पुनः उकालो लाग्दो छ ।  गत साउन १२ गते प्रदेशभर सक्रिय संक्रमितको संख्यामा ६२६ जना थियो । तर, साउन १५ मा ६८० र सोमबारसम्म ७ सयमा उक्लिएको छ । यसले पनि के देखाउँछ भने कर्णालीमा कोरोना पुनः मौलाउन थालेको छ । 

पछिल्लो समय कर्णालीका सबै स्थानीय प्रशासनहरुले कोरोना नियन्त्रण तथा रोकथामका लागि भन्दै गरेको निषेधाज्ञा खुकुलो पारेका छन् । सुनसान बनेका शहर बजारहरुमा मान्छेको आवत–जावत बाक्लिँदै गएको छ भने जनस्वास्थ्यका मापदण्डको पालन भएको देखिँदैन् । जसका कारण, कर्णालीमा कोरोना पुन मौलाउने संकेत देखिएको जनस्वास्थ्यविद्हरुले बताएका छन् ।

साउनयता दैनिक संक्रमण बढ्ने गरेको छ भने डिस्चार्ज हुनेको संख्या घट्ने गरेको छ । यद्यपि, मृत्यु हुनेको संख्यामा भने कमी आएको देखिन्छ ।  पछिल्लो २४ घण्टामा पनि कर्णालीमा कोरोना संक्रमित हुनेको संख्या धेरै र निको हुनेको संख्या थोरै रहेको छ । 

स्वास्थ्य सेवा निर्देशनालयका तथ्याङ्कअनुसार प्रदेशमा सोमबार ७७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको  छ । तीमध्ये  ७१ जनामा गरिएको आरटी–पीसिआर विधिको कोरोना परीक्षणका क्रममा १७ जनामा र २४० जनामा गरिएको एन्टिजेन विधिको कोरोना परीक्षणमा क्रममा ६० जनामा कोरोना संक्रमण देखिएको छ । 

यस्तै सोमबार ७१ जनाले मात्र कोरोनालाई जितेर डिस्चार्ज भएको रेकर्ड स्वास्थ्य निर्देशनालयसँग छ ।  सोमबार कोरोना संक्रमण देखिनेमा सबैभन्दा बढी सुर्खेतमा २३ जना रहेका छन् । केही समयअघि सम्म शून्यमा रहेको प्रदेश राजधानी समेत रहेको सुर्खेतमा निषेधाज्ञा खुकुलो पारेसँगै पुन संक्रमण दर बढ्न थालेको हो ।  यस्तै कालिकोटमा १४ मुगु र सल्यान जिल्लामा ११/११, रुकुम पश्चिममा ९, जाजरकोटमा ६, दैलेखमा ३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । 

सोमबार कोरोना देखिनेमा ३८.९९ प्रतिशत महिला र ३९.०१ प्रतिशत पुरुष रहेका छन् । कोरोना कहरको दोस्रो चरणको सुरुवाती क्षणमा अधिकांश पुरुषमा कोरोना संक्रमण देखिने गरेको थियो । तर, पछिल्लो समय पुरुष भन्दा महिलाहरूमा कोरोना संक्रमणको दर बढेको देखिन्छ ।

सुरु–सुरुमा रोजगारीको शिलशिलामा भारत गएका युवाहरु गाउँघर फर्किएसँगै ती युवाहरूमा कोरोना संक्रमण बढी देखिने गरेको थियो । तर, पछिल्लो समय गाउँघरका सर्वसाधारणहरू सम्म पनि कोरोना पुगिसकेको अबस्था छ ।
स्वास्थ्य निर्देशक रविन खड्का कोरोनाको कहर पुन बढ्नसक्ने भएकाले सतर्कता अपनाउनु पर्नेमा जोड दिन्छन् ।  विशेषगरी सुर्खेत कोरोनाको ‘हटस्पोट’ बन्ने निश्चित छ ।

कर्णालीमा हालसम्म कोभिडबाट ३० हजार ३६९ जना प्रभावित भएका छन् भने  ३५२ जनाले ज्यान गुमाइसकेका छन् । कुल संक्रमितमध्ये २८ हजार ३३८ जनाले कोरोनालाई जितेका छन् ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप