प्रेरक व्यक्तित्व

महात्मा गान्धी​ र उनको जीवनशैली

person explore access_timeसाउन १९, २०७८ chat_bubble_outline0

महात्मा गान्धीको नाम नसुन्ने कमै हुनुपर्छ । भारतीय स्वतन्त्रता आन्दोलनका हस्ती गान्धीजी शान्ति र अहिंसाका पुजारी तथा सत्य र निष्ठाका अनुयायी थिए । उनी सादा जीवन र उच्च विचारका पक्षपाती थिए । उनको हतियार भनेकै सत्य र अहिंसा हो । यसैका कारण साम्राज्यवादी ब्रिटिस सरकार घुँडा टेक्न बाध्य भएको थियो । भारतीय स्वतन्त्रता सङ्ग्राममा दुई किसिमका स्वतन्त्रता सेनानी देखिन्छन् । एकथरी इँटाको जबाफ पत्थर दिनुपर्छ भन्ने खालका छन्, जसको नेतृत्व चन्द्रशेखर आजाद र सरदार भगतसिंह आदिले गरेका थिए । अर्काथरि अहिंसात्मक आन्दोलनबाटै भारतलाई स्वतन्त्र गराउन सकिन्छ भन्ने खालका छन्, जसको नेतृत्व गान्धीजीले गरेका थिए । 

सन् १८६९ अक्टुबर २ मा जन्मेका गान्धीको पूरा नाम मोहनदास करमचन्द गान्धी हो । उनको जन्म गुजराँतको पोरबन्दर भन्ने स्थानमा भएको थियो । बाबु करमचन्द गान्धी यसै क्षेत्रका दिवान थिए । आमा पुतलीबाई धार्मिक प्रकृतिकी गृहिणी थिइन् । उनी उच्च शिक्षा हासिल गरेपछि थप अध्ययनका लागि केही समय लन्डन गएका थिए । उताबाट फर्केपछि कानुनी विवाद समाधान गर्ने क्रममा दक्षिण अफ्रिका पुगे । यहाँ रहँदा सत्य र निष्ठाका लागि थुप्रै लडेका थिए, अन्याय अत्याचारविरुद्ध असहयोग आन्दोलन चलाएका थिए । स्वदेश फर्केपछि पनि उनले सोही कामलाई निरन्तरता दिए ।

गान्धीजीका जीवन आन्दोलनमै बितेको छ । लाग्छ, उनी आन्दोलनकै लागि जन्मेका थिए । आन्दोलन पनि त्यस्तो आन्दोलन, सत्य, निष्ठा र अहिंसाको आन्दोलन । तिनमा सन् १९२० को असहयोग आन्दोलन, १९३० को अवज्ञा आन्दोलन र १९४२ को भारत छोडो आन्दोलन मुख्य मानिन्छन् । यसबाहेक पनि थुप्रै आन्दोलनमा सहभागी भएका छन्, जो क्षेत्रीय र प्रान्तीय किसिमका थिए । 

गान्धीजीले भारत स्वतन्त्र गर्ने सर्तमा प्रथम विश्वयुद्धमा ब्रिटिस सरकारलाई समर्थन गरेका थिए तर पछि सरकार यसमा आनाकानी गर्न थाल्यो । फलतः उनी आन्दोलन सुरु गर्न बाध्य भए । ठाउँ ठाउँमा नारा, भाषण, जुलुुस, आमसभा हुन थाल्यो । आन्दोलन चर्कंदै गयो, सरकारले दमन बढाउँदै लग्यो । यस्तैमा एक दिन पञ्जावको अमृतसर नजिक जालियावाला बागमा विशाल शान्ति सभा आयोजना गरिएको थियो, जसलाई सरकारले निर्ममतापूर्वक दबायो, सयौँ मरे, हजारौँ घाइते भए । यसको विरुद्धमा गान्धीले देशव्यापी असहयोग आन्दोलन चलाए । सन् १९२० देखि १९२२ सम्म चलेको यस आन्दोलनमा आन्दोलनकारीहरूले पुलिस चौकीमाथि आक्रमण गरी २२ जना सैनिकको हत्या गरिदिए । त्यसपछि गान्धीजी आनदोलन फिर्ता लिन बाध्य भए । कारण उनी आन्दोलन अहिंसात्मक हुनुपर्छ भन्ने पक्षमा थिए । यसैलाई सन् १९२० को आन्दोलन भनिन्छ । 

सन् १९३० को आन्दोलनको कथा बेग्लै छ । अङ्ग्रेज सरकारले आफूखुसी कानुन बनाई भारतीयहरूमाथि थोपर्ने नीति लिएको थियो । यस्तैमा एउटा नुनसम्बन्धी कानुन पनि थियो । यसअनुसार सरकारबाहेक अरूले नुन बनाउन पाइँदैन भन्ने थियो । गान्धीले यसको विरोध गरे । यस निम्ति गुजराँतको सावरमती आश्रमदेखि दान्डी भन्ने स्थानसम्म पैदल यात्रा गरेका थिए । ३९० किलोमिटर दूरीको यो यात्रा पूरा गर्न उनलाई २४ दिन लागेको थियो । दान्डीमा पुगेर आफैँले नुन बनाए, अरूलाई पनि बनाउन लगाए । फलतः गान्धीसहित उनका अनुयायी पक्राउमा परे । यतिबेला ८० हजारभन्दा बढी आन्दोलनकारी पक्राउ परेको अनुमान गरिएको छ । यसको विरोधमा देशव्यापी आन्दोलन चर्कियो । फलतः सरकार उनलाई छाड्न बाध्य भयो । यही आन्दोलनलाई १९३० को आन्दोलन भनिन्छ ।

सन् १९४२ को आन्दोलन अगस्ट महिनाबाट सुरु भएको थियो, जुन सर्वाधिक उपयोगी र चुनौतीपूर्ण मानिएको छ । यद्यपि विभिन्न कारणवश आन्दोलन त्यति लामो समयसम्म टिकेन । तथापि  स्वतन्त्रताको जग बसाउने काम भने यही आन्दोलनले गरेको हो । आन्दोलन खासै सफल नभए पनि अङ्ग्रेज सरकारलाई अब यहाँ टिक्न सकिन्न भन्ने सन्देश यसै आन्दोलनले दिएको हो ।

हिन्दू मुस्लिम एकाता निम्ति जोड दिने गान्धीजी छुवाछूत विरोधी थिए । यस निम्ति उनले अभियान नै चलाएका थिए । त्यतिबेलाको भारतमा यस्तो आवाज उठाउनु चानचुने कुरा थिए तर उनी अभियानमा डटेर लागे, आजीवन लागि नै रहे । कथित तल्लो जाति र पिछडा वर्गलाई हरिजन भन्थे । यही नामलाई नै अघि बढाए । उनका योगदानलाई कदर गर्दै भारतीय समाजले उनलाई राष्ट्रपिताको संज्ञा दिएको थियो । आज पनि भारतीयहरू उनलाई बाबुजी भन्न पाउँदा गौरवको अनुभूति गर्छन् ।

गान्धीजी आफू पनि अन्याय गर्दैन थिए, अन्याय सहन पनि सक्दैन थिए । गल्ती गरेपछि माफी माग्नुपर्छ भन्ने उनको मान्यता थियो । उनले माफी माग्न पनि जानेका थिए, दिन पनि जानेका थिए । यसबारे एउटा उदाहरण निकै रोचक छ । 

एकपटक गान्धीजी केही अनुयायीका साथ कतै जाँदै थिए । साथमा आनन्द स्वामी नामक सन्यासी पनि थिए । बाटामा आनन्द स्वामीको एकजना सर्वसाधारणसित कुनै विषयमा विवाद भयो । विवाद बढ्दै जाँदा स्वामीजीले रिसाएर उनको गलामा एक थप्पड लगाइदिए । यो खबर गान्धीसम्म पुग्यो । कुरो सुनेर गान्धीलाई साह्रै नराम्रो लाग्यो । उनले स्वामीलाई बोलाएर सोधे–

‘कुनै अप्रिय कुरा सुन्दैछु नि, के यो सत्य हो ?’

स्वामीजीले शिर झुकाएर भने–

‘हो बाबुजी ! कुरा सत्य हो ।’

‘यो त भएन ।’ लामो सास फेर्दैै गान्धीजीले भने–

‘सर्वधारणको गलामा थप्पड लगाएर तपाईंले राम्रो गर्नु भएन ।’

‘तर बाबुजी !’ केही अनकनाउँदै स्वामीजीले भने–

‘उनी अनावश्यक जिद्धि गर्दैै थिए ।’

‘त्यही त भन्दैछु ।’ सम्झाउँदै गान्धीले भने–

‘उनी तपार्ईंभन्दा ठूला वा बराबरीका भएका भए पनि यस्तै गर्नुहुन्थ्यो ?’

उनले लजाउँदै भने–

‘सायद त्यो सम्भव हुने थिएन ।’

त्यसपछि केही सोचेजस्तो गर्दैै गान्धीजीले भने–

‘हो गल्ती यहीँ भयो । त्यसैले अहिले नै गएर माफी मागिहाल्नुस् ।’

स्वामीजीलाई गान्धीको कुरा ठीकै लाग्यो र तत्कालै ती सर्वसाधारण समक्ष गएर माफी मागे ।

यो एउटा उदाहरण हो । वास्तवमा गान्धीजी थिए नै त्यस्तै । यस्ता अनगिन्ती उदाहरण भेटिन्छन् उनमा ।

उनले जति गरे देश, जनता र समाजहितका लागि गरे । यस्तै कार्य गर्दागर्दै सन् १९४८ मा उनको हत्या भयो । हत्या नाथुराम गोड्से नामक एक हिन्दू अतिवादीले गरेका थिए । हाल उनका पार्थिव शरीर त छैन तर उनका यश र कीर्ति भने भारतीय स्वतन्त्रता सङ्ग्रामको इतिहासमा स्वर्णाक्षरले लेखिएको छ । 

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।