शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

‘हेक्का रहोस्’ भन्दै प्रधानमन्त्रीलाई संसदबाटै चेताए योगेश भट्टराईले

मङ्गलबार, १९ साउन २०७८, २० : ००
मङ्गलबार, १९ साउन २०७८

काठमाडौं । पूर्व मन्त्री तथा नेकपा एमालेका सांसद योगेश भट्टराईले कोरोनाविरुद्धको खोप अभियानको रफ्तार सुस्त भएकोमा असन्तुष्टि जनाउँदै सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधिसभाको मंगलबार बसेको बैठकमा उनले प्रधानमन्त्री शेरबहादुर देउवाले ‘खोप, खोप, खोप’ भनेर आफ्ना तीनवटा प्राथमिकतामा खोप राखे पनि त्यसअनुसार काम हुन नसकेको बताए ।

ताप्लेजुङको वरिष्ठ अहेव लक्ष्मी वनेमले ९ घण्टामा ९४० जनालाई खोप लगाएको भन्ने समाचार उद्धृत गर्दै उनले भने, ‘यो धेरै सुखद् समाचार हो, तर तथ्याङ्क यस्तो मात्र छैन ।’

६० प्रतिशतभन्दा बढी नागरिकलाई खोप लगाउनुपर्नेमा आजसम्म ५ प्रतिशतले पूर्ण खोप पाएको, १४ प्रतिशतले पहिलो मात्राको खोप पाएको र देशका १६ हजार खोप केन्द्रमध्ये तीन हजार खोप केन्द्र मात्रै परिचालित रहेको उनले बताए । १० औँ हजार स्वास्थ्यकर्मी खोप लगाउने कामबाट विमुख रहेको भन्दै उनले यस्तो अवस्थामा असोज महिनाभित्र सबै खोप लगाउँछु भन्ने मन्त्रीको घोषणा र ‘खोप, खोप, खोप’ भन्ने प्रधानमन्त्रीको घोषणा लागु हुने सम्भावना नदेखिएको बताए ।

उनले भने, ‘त्यसैले सम्माननीय प्रधानमन्त्रीजी १ कोरोनाको रोकथाम र नियन्त्रणका निम्ति तपाईंलाई समयको छुट छैन, शङ्काको लाभ छैन र तपाईंको समय अब सुरु भएको छ । हेक्का रहोस् । धन्यवाद ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप