शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

शान्ति मिसनको प्रश्नपत्र ‘लिक’ प्रकरण : प्रश्न तयार गर्ने शाखाका डिएसपी पनि परीक्षार्थी

बुधबार, २० साउन २०७८, १९ : ४०
बुधबार, २० साउन २०७८

संयुक्त राष्ट्रसङ्घको शान्ति मिसनमा जान नेपाल प्रहरीले लिने आन्तरिक परीक्षा (प्रि–स्याट)को प्रश्नपत्र ‘लिक’ भएको आशङ्कामा प्रहरी हेडक्वार्टरले आन्तरिक छानबिन गरिरहेको छ । 

प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीको सचिवालयका डिआईजी वसन्त लामा नेतृत्वको टिमले घटनाबारे छानबिन गरिरहेको छ । साउन १५ र १६ मा प्रहरी हेडक्वार्टर तथा ७ वटा प्रदेशमा सञ्चालित परीक्षामा २ हजार ४ सय परीक्षार्थी सहभागी भएका थिए । 

परीक्षाको प्रश्नपत्र प्रहरी हेडक्वार्टरको युएन शाखाले तयार गरेको थियो । परीक्षामा सो शाखामा कार्यरत डिएसपी वासुदेव पाठक र इन्स्पेक्टर दिनेश पुन पनि सहभागी भएको पाइएको छ । पुन भर्खरै इन्स्पेक्टरमा बढुवा भएका हुन् । 

डिएसपी पाठक र पुनको योजनामा ४ सेटको प्रश्न तयार गरेर आफ्नो टिमलाई सजिलो प्रश्न पर्ने गरी सेटिङ गरिएको प्रहरी प्रधान कार्यालयका एकजना अधिकृतले रातोपाटीलाई बताए । पाठक र पुनले साउन १५ मा पहिलो सिफ्टमा जाँच दिएका थिए । सो सिफ्टका लागी पदम राईले लेखेको पुस्तकको पहिलो पेजमा रहेको ‘सुटिङ’ सम्बन्धी प्यासेज राखिएको थियो । प्रश्नपत्रको अन्य ३ सेटको तुलनामा सो प्रश्न किनै सजिलो भएको परिक्षार्थीहरु बताउँछन् । 

‘डिएसपी पाठकको योजनामा उनीहरूलाई सजिलो हुने गरी पहिलो सेटको प्रश्न सजिलो बनाएको देखिन्छ’ प्रहरी प्रधान कार्यालयमा कार्यरत एकजना अधिकृतले रातोपाटीसँग भने–‘पहिलो सेटको प्रश्नको प्यासेज फेरबदल गरिएको थिएन तर, अरू प्रश्नहरू फेरबदल गरेर तयार गरिएको थियो ।’ 

पहिलो सिफ्टको परीक्षा दिएर पाठक र पुन दोस्रो सिफ्टको परीक्षा सञ्चालनमा सहभागी भएका थिए । परीक्षामा सहभागी भए पनि दुई जना अधिकृत प्रश्नपत्र निर्माणमा सहभागी नभएको प्रहरी प्रवक्ता (एसएसपी) वसन्त कुँवरले बताए । कुँवरले भने–‘जाँच दिनेहरू प्रश्नपत्र बनाउने प्रक्रियामा छैनन् । यदि रहेछन् भने पनि छानबिनबाट खुल्छ ।’ 

स्याट पास गरेका मिसन जानबाट वञ्चित 

प्रि–स्याट र स्याट पास गरेका नेपाल प्रहरीका ४० जना भन्दा बढी अधिकृत लामो समयदेखि युएन मिसनमा जान पाएका छैनन् । २०७४ सालमा स्याट पास गरेकाहरू मिसनमा जानबाट वञ्चित भएका हुन् । 

युएन शाखाले ४ वर्षअघि स्याटको परीक्षा पास भएकाहरू पनि फेरी परीक्षामा सामेल हुनुपर्ने निर्णय गरेपछि पास भएर बसेकाहरू असन्तुष्ट बनेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप