शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

बेलायतमा कोरोनाबाट मृत्यु हुनेको संख्या एक लाख ३० हजार पुग्यो

बिहीबार, २१ साउन २०७८, ०७ : ०६
बिहीबार, २१ साउन २०७८

लन्डन । बेलायतमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या एक लाख ३० हजार पुगेको ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयर’को तथ्यांकले देखाएको छ । बुधबार थप ११९ जना संक्रमितको मृत्यु भएसँगै बेलायतमा कुल मृतक संख्या एक लाख तीस हजार पुगेको हो । 

गएको एक सातामा ५७० जनाको कोरोनाबाट मृत्यु भएको छ । पछिल्लो एक सातामा मृतक संख्या १४.५ प्रतिशतले वृद्धि भएको छ, जुन चार महिना यताकै उच्च हो । विश्वभर कोरोनाका कारण सबैभन्दा बढी मृत्यु हुने मुलुकमध्ये बेलायत अमेरिका, ब्राजिल, भारत मेक्सिको र पेरु  पछि छैटौं स्थानमा पर्दछ ।

यसैगरी, पछिल्लो २४ घन्टामा थप २९ हजार ३१२ जना नयाँ संक्रमित फेला परेका छन् । यससँगै बेलायतमा संक्रमित हुनेको कुल संख्या ५९ लाख ५२ हजार ७५६ पुगेको छ । संक्रमित संख्या अघिल्लो दिनको तुलनामा झन्डै ८ हजारले बढेको हो ।

बेलायतमा १६ देखि १७ वर्ष उमेरलाई खोप दिने तयारी

बेलायतमा कोरोनाविरुद्धको खोप वितरण गर्ने कार्यलाई तीव्रता दिएसँगै १६ देखि १७ वर्ष उमेरकालाई पनि खोप दिने तयारी भइरहेको छ । हप्ता दिनभित्रै सो उमेर समुहकालाई खोपको पहिलो डोज वितरण गरिने ‘जोइन्ट कमिटि अन भ्याक्सिन एण्ड इम्युनाइजेशन (जेसीभीआइ) ले जनाएको छ । 

उनीहरुलाई फैजर बायोएनटेकको खोप दिइनेछ भने खोपको लागि अभिभावकको मन्जुरी आवश्यक नपर्ने भएको छ । यस अभियानबाट करिब १४ लाख किशोर किशोरीहरु लाभान्वित हुनेछन् ।

बेलायतमा हालसम्म कोरोनाविरुद्धको ८ करोड ५६ लाख ६१ हजार ३६७ डोज खोप वितरण भइसेको छ । जसमध्ये चार करोड ६९ लाख २८ हजार ३३ जनाले खोपको पहिलो डोज र तीन करोड ८७ लाख ३३ हजार ३३४ जनाले खोपको दुवै डोज लगाइसकेको ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयर’ को तथ्यांकमा उल्लेख छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप