शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

लघुकथा : लालपुर्जा

बिहीबार, २१ साउन २०७८, १४ : १३
बिहीबार, २१ साउन २०७८

  ​हालखबर बुझ्न कहिल्यै नआउने छोराबुहारी  आजभोलि दिनदिनै आउने गरेका छन् । उनीहरूको साथमा कोही न कोही अपरिचित मान्छे हुन्छन् र सबैको मीठो बोलीवचन नै छ अनि आएपछि घरभित्रभन्दा बाहिरै बस्न र जग्गाको छेउकुना हेर्न रुचाउँछन् । सोच्न थाल्छिन् अब त छोराबुहारीलाई पनि यो बूढीको माया लाग्न  थालेछ । 

 पर्वतको पातीखोलाले आफ्नो सिरीखुरी सबै बगाएपछि उनका श्रीमान्ले आठ वर्षको छोरो च्यापेर आए र उनलाई  पोखराको  फालिएको पर्ती जग्गामा यौटा झुपडी बनाएर राखेका मात्र थिए । दैवलाई पनि उनकै श्रीमान् प्यारो भएछ, छोडेर गए । 

फूलका आधुनिक नाम नजाने वा नचिने पनि गाउँमा कोदो गोडेको र मकै छरेको अनुभवले उनलाई सानो खोल्सापारीको नयाँ सरकारी अफिसको फूलबारीमा काम मिल्यो र जीवन केही सहज भयो । समय वित्दै गयो । व्यवस्थाका साथै सरकारहरू परिवर्तन हुँदै गए । झुपडीले ओगटेको जग्गाको लालपुर्जा बन्यो ।

 खोल्सामा पक्की पुल बन्यो । खोल्सा पारिको बजार वारिसम्म आइपुग्यो । उनका बस्तीका वरपर ठूलाठूला घरहरू बन्न थाले । बस्तीमा भित्रभित्रै हल्ला चल्न थाल्यो, “अब त  लालपुर्जा पाएको पनि पच्चीस वर्ष कटिसकेछ  ” । अब बल्ल उनले पनि बुझिन्, छोराबुहारीले आजभोलि माया किन गर्न थालेका रहेछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप