शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

विवाह भोजमा चट्याङ पर्दा १६ जनाको मृत्यु

बिहीबार, २१ साउन २०७८, १४ : ५२
बिहीबार, २१ साउन २०७८

बङ्गलादेशमा एउटा विवाह भोज कार्यक्रमका लागि जाने क्रममा चट्याङ पर्दा सहभागी १६ जनाको मृत्यु भएको छ ।  स्थानीय अधिकारीका अनुसार सो घटनामा परी बेहुलासहित अरु केही व्यक्ति भने घाइते भएको जनाइएको छ । 
उत्तरी बङ्गलादेशको शिवगन्जमा रहेको पद्मा नदीमा एउटा डुङ्गाबाट ओर्लिएर बेहुला पक्षका जन्ती बेहुलीको घरतिर जाने क्रममा आँधीवेहरीसहितको वर्षा भएको र उनीहरूमाथि चट्याङ खसेको स्थानीय बासिन्दाले बताएका छन् । 

एक स्थानीय अधिकारीले बेहुला र बेहुली सुन्दरपुरका बासिन्दा भएको जानकारी दिएका छन् । दुलही विवाह समारोहमा उपस्थिति भइनसकेकीले कुनै असर नपरेको स्थानीय अधिकारी शकिब–अल–राबीले एएफपी समाचार समितिलाई जानकारी दिएका छन् । 
हाल केही दिनयता भीषण मनसूनी आँधीवेहरीसहितको वर्षाले बंगलादेशलाई प्रभावित पारेको छ । कोक्सबजारको दक्षिणपूर्वी जिल्लामा एक हप्तादेखि परेको अविरल वर्षाका कारण रोहिङ्ग्या शरणार्थीसहित २० जनाको मृत्यु भएको छ ।
दक्षिण एशियामा प्रत्येक वर्ष चट्याङका कारण सयौँ मानिसको मृत्यु हुने गरेको छ । बङ्गलादेशले सन् २०१६ मा चट्याङलाई राष्ट्रिय प्राकृतिक विपत्ति घोषणा गरेको थियो । सो वर्ष मे महिनामा चट्याङका कारण २०० जनाको मृत्यु भएको थियो । त्यतिबेला एकैदिन ८२ जनाको चट्याङ लागेर ज्यान गएको थियो ।

मौसमविद्का अनुसार उत्तर तथा पश्चिम बङ्गलादेशमा बढी चट्याङ पर्ने सम्भावना भएका क्षेत्र हुन् । गर्मीयाममा तापक्रम बढ्दा त्यहाँ चट्याङ पर्ने सम्भावना अझ बढ्ने गरेको पाइन्छ । सरकारले चट्याङसम्बन्धी पूर्व चेतावनी दिन तथा क्षतिबाट जोगाउन सकिन्छ कि भनेर परीक्षणका रूपमा चट्याङ पत्ता लगाउन सक्ने क्षमता भएका सेन्सर देशका ६ वटा स्थानमा जडान गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप