मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

केन्द्रीय समिति बैठकमा माधव नेपालको सम्बोधन: ओलीसँग मिसिनु राजनीतिक आत्महत्या

बिहीबार, २१ साउन २०७८, १७ : ०२
बिहीबार, २१ साउन २०७८

एमाले वरिष्ठ नेता माधव कुमार नेपालले सम्मानजनक हैसियतमा पार्टी एकता हुने वातावरण तयार नहुँदासम्म केपी ओलीसँग मिसिनु राजनीतिक रुपमा आत्महत्या सरह हुने बताएका छन् । बिहीबार आफू निकटको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै नेता नेपालले सम्मानजनक हैसियतमा मात्रै पार्टी एकता हुनुपर्ने स्पष्ट पारे । 

‘सम्मानजनक ढंगले एकता नगर्ने परिस्थितिमा ओलीसँग मिसिनु राजनीतिक आत्महत्या हुने छ । त्यसैले हामीले सम्मानजनक हैसियतबिना ओलीसँग एकताको रटान गरेर मात्रै हुँदैन’, नेपालको भनाइ थियो, ‘म एकताकै पक्षमा छु । एकता गर्ने कुरामा कहिल्यै र कुनै सहमतिमा विमति हुँदैन तर सम्मानजनक हैसियत बिनाको एकता भए भोलि उत्पन्न हुने दुष्परिणामको भागिदार म बन्नुपर्ने हुन्छ ।’

उनले थपे, ‘त्यसकारण सोचविचार गरेर नै एकता गर्ने पक्षमा रहेको छु ।’ उनले अध्यक्ष  केपी ओलीको पछिल्ला अभिव्यक्ति एकता गर्ने भन्दा पनि आफूहरुलाई एकताको बाटोबाट डिरेल गर्ने उद्देश्यबाट आएको पनि जिकिर गरे । ‘हामी सबै साथीहरु एकताको प्रयासमा छौं । यो प्रयास हामी र केपी ओलीकै मान्छेबाट पनि भइरहेको छ ।  एकताकै लागि केपी ओलीकै मान्छेहरु पनि आएर मसँग बारम्बार छलफल गरिरहेका छन्’, नेपालले बैठकमा भने, ‘तर एकलौटी ढंगले केपी ओलीको एकलकाँटे कुरा रोकिएको छैन ।’

 एकता कसरी गर्ने भन्नेबारे हाम्रा कार्यदलमा रहेका नेताहरुले होमवर्क गरिरहेको उल्लेख गर्दै नेपालले ओली पक्षले एकपक्षीय रुपमा जिल्ला अधिवेशन गर्नेदेखि विभागहरु गठन गर्ने निर्णय गर्नुले एकताको माहोल बिग्रिएको बताए । ‘जिल्लामा एकपक्षीय अधिवेशन अघि बढाउने भन्ने कुराले एकतामा कति असर पुग्छ रु यसबारे साथीहरु जानकार नै हुनुहुन्छ होला । महाधिवेशन र निर्वाचनको हिसाबकिताब मिल्ने गरी मात्रै एकता हुन्छ’, नेपालको भनाइ थियो । 

बैठकलाई माधव नेपालले सम्बोधन गरेपछि पार्टी विवाद मिलाउन गठन भएको कार्यदलमा भएका प्रगतिबारे भीम रावलले ब्रिफिङ गरेका थिए । 

आजको पहिलो दिनको बैठकमा विजय पौडेल, झपट रावल, बलराम बाँस्कोटा, रामकुमारी झाँक्री, सवित भुसाल, शेरबहादुर केसी, रवीन्द्र अधिकारी, अनु नेपाल, चूडामणि जंगली, ठाकुर गैरे, भागवत विश्वासी, नागेन्द्र चौधरी, बलदेव चौधरी, भानुभक्त जोशीलगायतका केन्द्रीय सदस्यहरुले आफ्नो धारणा राखेको बैठकपछि नेता रघुजी पन्तले जानकारी दिए । 

उनले केन्द्रीय सदस्यहरुले विचार राख्ने क्रम जारी रहेको भन्दै शुक्रबार साढे ११ बजे पुनः बैठक बस्ने जानकारी दिए । 

 


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप