बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

काँग्रेस नेता भन्छन्, ‘सरकारलाई पूर्णता दिएर छिट्टै पूर्ण बजेट ल्याउनुपर्छ

भूमि आयोग खारेज सकारात्मक
बिहीबार, २१ साउन २०७८, १७ : २१
बिहीबार, २१ साउन २०७८

नेपाली काँग्रेसका नेता तथा पूर्व अर्थमन्त्री डा. रामशरण महतले यथाशक्य चाँडो सरकारलाई पूर्णता दिनुपर्ने बताएका छन् । उनले भने,‘सरकारलाई पूर्णता दिनको लागि ढिलाई भयो, सरकार गठन भएको यत्तिका दिन बितिसक्दा पनि मन्त्रिपरिषद् विस्तार हुन सकेन, यो गलत कुरा हो । सत्तापक्षीय गठबन्धनमा आवद्ध दलहरूसँगको सहमतिमा जतिसक्दो चाँडो मन्त्रिपरिषद् विस्तार गर्नुपर्छ । अब ढिलाई गर्नुहुँदैन ।’

बुधबार राजधानीमा आयोजित साक्षात्कारमा बोल्दै उनले वर्तमान सरकारले यसअघिको सरकारले गरेका गलत कामलाई खारेज गर्नुपर्ने र कमजोरिहरु सच्याउनुपर्ने पनि धारणा राखेका छन् । उनले सरकारले जतिसक्दो चाँडो पूर्ण बजेट ल्याउनुपर्ने पनि बताएका छन् । यसअघि अध्यादेशबाट ल्याइएको बजेटलाई प्रतिस्थापन गर्नको लागि पनि नयाँ पूर्ण बजेट ल्याइनुपर्ने महतको भनाई छ । 
उनले अब ल्याउने बजेट कृत्रिम रुपमा आकारमात्रै बढाउन नहुने सुझाव दिए । यसअघि अध्यादेशमार्फत आएको बजेटले राष्ट्रको आन्तरिक र बाह्य दुवै ऋण बढाएको उनको गुनासो छ । उनले भने,‘अहिले एक जनाको भागमा ५२/५३ हजार ऋण पुगेको छ ।’ अब बजेट ल्याइँदा प्रशासकीय खर्चपनि हटाउनेतर्फ सरकारले ध्यान दिनुपर्ने उनको जोड थियो । 

उनले वर्तमान सरकारले पूर्ण बजेट ल्याउनको लागि तयारी गर्नुपर्ने बताए । उनले वर्तमान सरकारले भूमि आयोग विघटन गरेकोमा खुशी व्यक्त गरे । र, सरकारको यो कदमलाई सकारात्मक रुपमा लिनुपर्ने पनि उनको भनाई छ । 

उनले भने,‘भूमिहीनलाई भूमि दिने कुरामा सरकारले उचित र वैज्ञानिक ढंगले काम गर्छ । तर, यसअघि आयोग बनाएर कार्यकर्ताको भर्ती केन्द्र बनाइएको थियो । यसलाई विघटन गर्नु उचित हो ।’ उनले अब सरकारले उचित व्यक्तिलाई उचित जिम्मेवारी दिने कुरामा जोड दिनुपर्ने पनि सुझाव दिए । त्यस्तै, उनले मुलुकको सुशासन कायम गर्ने कुरामा पनि सरकारले आवश्यक ध्यान दिने विश्वास दिलाए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप