शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

नेपाल बेलायतको खतरनाक सूचीबाट अझै हटेन

बिहीबार, २१ साउन २०७८, १७ : २५
बिहीबार, २१ साउन २०७८

भारतमा फैलिएको डेल्टा भेरियन्ट (इन्डियन भेरियन्ट) का कारण बेलायतको यात्रा प्रतिवन्ध अन्तर्गतको खतरनाक सूची अर्थात ‘रेड लिष्ट’ मा परेको नेपाललाई बेलायत सरकारले अझै पनि कायमै राखेको छ । आगामी अगस्ट ८ तारिख आइतबार बिहान ४ बजेबाट लागू हुने गरि बेलायतले रेड लिष्टको सूचीलाई परिमार्जन गर्दै भारत, कतार, बहराइन र युएई जस्ता मुलुकलाई यात्रा प्रतिबन्धको रेड लिष्टबाट हटाएर  एम्बर लिष्टमा राखे पनि नेपाललाई भने यथावत नै राखेको हो ।

‘रेड लिष्ट’ को सूचीमा परेका यात्रुले बेलायत आउँदा सरकारले तोकेको होटलमा आफ्नै खर्चमा दश दिनसम्म अनिवार्य होटल क्वारेन्टाइन बस्नुपर्ने हुन्छ । तर, एम्बर लिष्टबाट बेलायत भित्रिएका यात्रुले आफ्नै निवासमा आइसोलेशन बस्न पाउनेछन् ।

रेड लिष्टबाट आउने यात्रुले तिर्नुपर्ने होटल क्वारेन्टाइन वापतको रकम आउँदो अगष्ट १२ देखि  १,७५० पाउण्डबाट बढाएर २,२८५ पाउण्ड निर्धारित गरिएको छ  । उक्त रकम  यात्रुले पहिला नै भुक्तानी गर्नुपर्ने हुन्छ । यसैगरी संगै यात्रा गर्ने ११ वर्ष माथिका बयस्कले प्रति व्यक्ति १,४५० पाउण्ड तिर्नुपर्नेछ, जुन यसअघि ६५० पाउण्ड थियो । तर, ५ वर्ष देखि ११ वर्ष उमेरकाले ३२५ पाउण्ड तिर्नुपर्नेछ जुन रकम पहिलाकै कायम गरिएको छ । आर्थिक अवस्था कमजोर भएकाले होटल क्वारेन्टाइन वापतको रकम १२ महिनाको किस्ताबन्दीमा पनि तिर्न सक्ने प्रावधान राखिएको छ ।

बेलायतमा कोरोना संक्रमण दर उकालो लाग्दै गएपनि यसअघि लगाइएको यात्रा प्रतिबन्धलाई भने थप सहज बनाउँदै आएको छ ।

 दुवै डोज खोप लगाइसकेका युरोप अमेरिका लगायतका मुलुकबाट आउने यात्रुलाई बेलायत प्रवेशमा थप सहजता प्रदान गर्दै आएको हो । हाल रेड लिष्टमा रहेको फ्रान्सलाई ग्रीन लिष्टमा सारिएको छ। दुवै डोज खोप लगाइसकेका फ्रान्सबाट बेलायतका इंग्ल्याण्ड, स्कटल्याण्ड र उत्तरी आयरल्याण्डमा आउने यात्रुहरुले आउँदो आइतबार  बिहान ४ बजेबाट क्वारेन्टाइन बस्न नपर्ने भएको छ ।

 तर, हजारौंको संख्यामा ब्रिटिशहरु रहेको मेक्सिकोलाई भने रेड लिष्टमा राखिएको छ । स्पेनलाई एम्बर लिष्टमा राखिएको भएपनि दुवै डोज खोप लगाइसकेका यात्रुले बेलायतमा क्वारेन्टाइन बस्न पर्दैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

नरेन्द्र बस्नेत
नरेन्द्र बस्नेत
लेखकबाट थप