बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

टोकियोमा कोरोनाको नयाँ रेकर्ड, दैनिक संक्रमित ५ हजार नाघे

बिहीबार, २१ साउन २०७८, १८ : २८
बिहीबार, २१ साउन २०७८

टोकियोमा दैनिक संक्रमित हुनेको संख्या अहिलेसम्मकै उच्च देखिएको छ । पछिल्लो २४ घण्टामा यहाँ एकै दिन ५ हजार ४२ जनामा संक्रमण देखियो । महामारी सुरु भएयता टोकियोमा एकैदिन ५ हजारभन्दा धेरै संक्रमित भएको यो पहिलोपटक हो ।

बिहीबार सार्वजनिक भएको यस संख्यासँगै टोकियोमा कुल संक्रमित संख्या २ लाख ३६ हजार १ सय ३८ पुगेको छ । त्यसैगरी जापानमा राष्ट्रव्यापी संक्रमित हुनेको कुल संख्या ९ लाख ८० हजार ७ सय २८ पुगेको छ । यसमध्ये १५ हजार २ सय ४७ जनाले ज्यान गुमाइसकेका छन् ।

देशमा खोप लगाउने काम निकै सुस्त भएको र यही समय डेल्टा भेरियन्ट फैलिरहेकाले संक्रमण ह्वात्तै बढेको विज्ञहरुको बुझाई छ । जुलाईको मध्यदेखि टोकियोमा संकटकाल छ । अहिले अन्य चारवटा इलाकामा समेत संकटकाल थपेर ३१ अगस्टसम्मका लागि लम्ब्याइएको छ ।

रेस्टुरेन्ट र बार खोल्नमा अल्कोहल बेच्न प्रतिबन्ध लगाउने, समयसीमा तोक्नेलगायत प्रावधान लागु गरिएको भएपनि सर्वसाधारणले यसलाई पालना गर्न छाडेका छन् । अन्तर्राष्ट्रिय सञ्चारमाध्यम अलजजिराका अनुसार संकटकाल भनिए पनि यसमा कुनै कडाई छैन । ‘यो केवल मानिसहरुलाई घरमै बस्न र घरबाट काम गर्न गरिएको आग्रह हो,’ टोकियोमा रहेका अलजजिराका संवाददाता एन्डी रिचर्डसनले भने,‘तर यही समय त्यही सरकारले ओलम्पिक आयोजना गरिरहेको छ । त्यसैले मानिसहरुले यो आग्रह पालना गरिरहेका छैनन् । यो अनौठो होइन ।’

जुलाई २३ देखि सुरु भएको ओलम्पिक खेलका कारण संक्रमणको घटना बढेको विषयलाई जापानका प्रधानमन्त्री योसिहिदे सुगाले अस्विकार गरेका छन् । भाइरसको महामारी फैलिएपछि केही विज्ञहरुले टोकियो र अन्य पाँचवटा इलाकामा लागेको संकटकाललाई राष्ट्रव्यापी गर्नुपर्ने धारणा राखेका छन् । तर, सुगाले बिहीबार आपतकाल घोषणा गर्दै फुकुसिमा, कुमामोटोलगायत क्षेत्रमा हल्काखाले कडाईमात्रै गरेका छन् । विज्ञहरुले डेल्टा भेरियन्ट निकै संक्रामक रहेका कारण दुई साताभित्रै टोकियोमा दैनिक १० हजारजना संक्रमित हुनसक्ने चेतावनी दिएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप