शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

किन एमाले र माओवादीको तानातानमा परिन् सांसद विमला वली ?

दलीय कारबाहीबाट उनलाई बचाउने यस्तो छ कवच
शुक्रबार, २२ साउन २०७८, १० : ३९
शुक्रबार, २२ साउन २०७८

लुम्बिनी प्रदेशसभा सदस्य विमला खत्री वली नेकपा एमाले र नेकपा माओवादी केन्द्रको तानातानमा परेकी छन् । प्रदेशसभाको नाजुक समीकरणका कारण उनी दुई दलको तानातानमा मात्र होइन, अपहरण तथा बन्धक सरह व्यवहार खेप्न पनि बाध्य भएकी छन् ।

दलीय रुपमा निर्वाचित एउटा सांसद दुई दलको तानातानमा परेको घटना संसदीय इतिहासमा बिरलै पाइन्छ । प्रदेशसभा सदस्य विमला वली २०७६ मंसिर १४ गते सम्पन्न प्रदेशसभा उपनिर्वाचनमा तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को उम्मेदवारका रुपमा दाङ क्षेत्र नम्बर ३ (ख) बाट विजयी भएकी हुन् । तर उनी जुन दलबाट उम्मेदवार बनेर चुनाव जितेकी थिइन्, उक्त दल अहिले अस्तित्वमा छैन । सर्वोच्च अदालतको गत फागुन २३ गतेको फैसलाअनुसार तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) एकीकरण पूर्वकै अवस्था अर्थात्, नेकपा एमाले र नेकपा माओवादी केन्द्रका रुपमा फर्किसकेको छ ।


२०७४ सालको निर्वाचनमा तत्कालीन वाम गठबन्धन अन्तर्गत एमालेबाट उम्मेदवार भएकाहरु अहिले एमालेमै र माओवादी केन्द्रबाट उम्मेदवार भएकाहरु माओवादी केन्द्रमै फर्किसकेका छन् । एउटा दलको उम्मेदवार बनेर चुनाव जितेका तर सर्वोच्चको फागुन २३ को फैसलापछि अर्को दलमा सामेल भएका सांसदहरु भने कारवाहीमा परिसकेका छन् । तर विमला वलीको हकमा भने त्यस्तो कारवाहीको प्रावधान छैन । किनकि उनी न एमालेबाट उम्मेदवार बनेकी हुन् न त माओवादी केन्द्रबाट । दुवै दल एकीकरण भएको अवस्थामा बनेको नेपाल कम्युनिस्ट पार्टी नेकपाबाट उम्मेदवार बनेको र उक्त दल सर्वोच्चको आदेशअनुसार खारेज भइसकेको अवस्थामा उनलाई दलीय अनुशासनको कारवाही गर्न एमाले र माओवादी केन्द्रले मिल्दैन । त्यसैले उनी अहिले दुवै दलको तानातानमा परेकी हुन् ।

किन बढ्यो विमला वलीको महत्व ?

मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध प्रदेशसभामा अविश्वास प्रस्ताव दर्ता भएको छ । विपक्षी गठबन्धनले समावेदन गरेबमोजिम प्रदेश प्रमुख अमिक शेरचनले प्रदेशसभाको विशेष अधिवेशनसमेत आह्वान गरिसकेका छन् ।

प्रदेशसभामा हाल ८० सांसद कायम छन् । बहुमतका लागि कम्तीमा ४१ सांसद आवश्यक हुन्छ । मुख्यमन्त्रीको दल नेकपा एमालेसँग ३८ सांसदमात्र छन् । जबकि, विमला वलीसहित बाँकी सबै सांसद विपक्षी गठबन्धनमा छन् ।


प्रदेशसभाको यही अंक गणितलाई प्रभावित पार्नका लागि सत्ता पक्षले सांसद वलीलाई प्रभावमा पार्न खोजेको देखिन्छ ।

सांसद अपहरणको आरोप

सांसद विमला वलीले आफूलाई अपहरणशैलीमा घरबाट बुटवलसम्म ल्याई पाँच दिनसम्म मुख्यमन्त्री शंकर पोखरेलको निवासमा बन्धकसरह राखिएको आरोप लगाएकी छन् ।

संघीय सरकारले लुम्बिनी प्रदेशमा भइरहेको राजनीतिक खिचातानीका बीच प्रदेश प्रमुख परिवर्तन गरेसँगै यो घटना प्रकाशमा आएको हो । विपक्षी गठबन्धनले मुख्यमन्त्री पोखरेल अल्पमतमा रहेको र असंवैधानिक रुपमा सत्तामा रहेको आरोप लगाउँदै आएको अवस्थामा प्रदेश प्रमुख परिवर्तनसँगै सत्ता पक्ष राजनीतिक संकटमा पर्ने आँकलन गरिएको थियो ।

नभन्दै, नवनियुक्त प्रदेश प्रमुख अमिक शेरचनलाई भेट गरी विपक्षी गठबन्धनले संविधानको धारा १६८ को उपधारा २ बमोजिम सरकार गठनका लागि आह्वान गर्न माग गरेका थिए । तर संविधानतः प्रदेश प्रमुखले त्यस्तो आह्वान गर्ने व्यवस्था नरहेका कारण विपक्षी गठबन्धन प्रदेशसभाभित्रैबाट सरकारलाई चुनौती दिने योजना बनाउन थाल्यो । यसबीचमै सांसद विमला वली सम्पर्कविहीन भएकी थिइन् ।

सम्पर्कविहीन रहेकै अवस्थामा उनको विज्ञप्ति सार्वजनिक भएको थियो, जसमा उनले आफू नेकपा एमालेमा रहने बताएकी थिइन् । त्यसअघि उनले आफू नेकपा माओवादी केन्द्रमा रहने जनाउँदै आएकी थिइन् ।

बिहीबार सांसद वली स्वयंले पत्रकार सम्मेलन गर्दै आफूलाई साउन १५ गते उपचारका लागि नेपालगञ्जतर्फ जान लागेको अवस्थामा नेकपा एमालेका लुम्बिनी प्रदेशसभा संसदीय दलका नेता भूमिश्वर ढकाल, स्थानीय नेता मानबहादुर रावतले आफूहरु पनि नेपालगञ्ज नै जाने हो भन्दै सँगै जान भनेर गाडीमा राखेको तर नेपालगञ्जको साटो बुटवल लगेको आरोप लगाइन् ।

यतिमात्र होइन, मुख्यमन्त्री कार्यालयमा पाँच दिनसम्म बन्धकसरह राखेर आफूलाई मानसिक यातना दिइएको र प्रेस विज्ञप्ति तथा रजिस्टरमा लेखिएका विवरणसमेत पढ्न नदिइ हस्ताक्षर गर्न लगाइएको आरोपसमेत उनले लगाएकी छन् ।


एउटा जननिर्वाचित प्रतिनिधिले प्रदेश सरकारको नेतृत्व, प्रदेशको सत्तारुढ दलका जिम्मेवार नेता तथा कार्यकर्तामाथि लगाएको यस्तो आरोप आफैमा निकै गम्भीर र समवेदनशील विषय हो ।

त्यसो त, गत वैशाख १७ गते उनले नेकपा माओवादी केन्द्र संसदीय दलको सदस्यता लिएकी थिइन् । लगत्तै नेकपा एमालेले उनी अपहरणमा परेको आरोप लगाएको थियो । माओवादी केन्द्रले उनको अपहरण गरी दलमा भित्र्याएको एमालेको आरोप थियो । त्यसपछि वैशाख १९ गते सांसद वलीले पत्रकार सम्मेलन गरी आफूले नेकपा माओवादी केन्द्र रोज्नुको कारणहरु प्रस्ट पार्दै आफूलाई कसैले अपहरण नगरेको बताएकी थिइन् ।

विमला वली दिवंगत प्रदेशसभा सदस्य उत्तरकुमार वलीकी पत्नी हुन् । उत्तरकुमार नेकपा एमालेमा आवद्ध थिए । २०७५ फागुनमा सडक दुर्घटनामा उनको निधन भएको थियो । पतिको निधनपछि रिक्त भएको सिटमा विमलालाई तत्कालीन नेकपाले उपनिर्वाचनमा उम्मेदवार बनाएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

तेजेन्द्र के.सी.
तेजेन्द्र के.सी.

केसी रातोपाटीका प्रदेश नम्बर ५ का संयोजक हुन् । 

लेखकबाट थप