बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

सर्वोत्तम सिमेन्टको सेयर विवाद प्रकरण : बोर्डका अध्यक्ष नै मुछिएको मुद्दामा के गर्दैछ अर्थ मन्त्रालय ?

विवाह गरेर गइसकेकी छोरीलाई एकाघरको भन्न मिल्दैन : ढुंगाना
शुक्रबार, २२ साउन २०७८, १२ : १६
शुक्रबार, २२ साउन २०७८

धितोपत्र बजारको अनैतिक सेयर कारोबारको लफडा जारी छ । धितोपत्र बजारमै पहिलो पटक बुक बिल्डिङ प्रणाली मार्फत सेयर निष्कासन गर्न लागेको सर्वोत्तम सिमेन्टको ६० लाख कित्ता बराबरको सेयर निष्कासन पूर्व नै नियामक निकाय धितोपत्र बोर्ड (सेबोन) का अध्यक्ष भीष्मराज ढुंगाना, नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अध्यक्ष चन्द्रसिंह साउद र नेपाल उद्योग वाणिज्य महासङ्घ (एफएनसिसिआई) का वरिष्ठ उपाध्यक्षसमेत रहेका बोर्डका सदस्य चन्द्रप्रसाद ढकाल नै अनैतिक कारोबारको मुद्दामा मुछिएपछि सेयर बजारमा एक खालको तरङ्ग नै मच्चिएको छ । 

बुक बिल्डिङमार्फत् पहिलो पटक ६० लाख कित्ता सेयर निष्कासन  गर्न लागेको कम्पनीको कुल सेयर मध्ये ११ हजार ९१२ कित्ता सेयर अध्यक्ष ढुंगानाले आफ्नी छोरी रेबिका ढुंगानाको नाममा र १ लाख १९ हजार ११७ कित्ता सेयर उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले आफै सहोदर भाइ हेमराज ढकालको नाममा खरिद गरेको समाचार बाहिरिएको छ । यता नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अध्यक्ष चन्द्रसिंह साउदले समेत आफ्नी श्रीमती सुशीलाकुमारी बोहराको नाममा कम्पनीको १० हजार कित्ता सेयर प्रतिकित्ता २२५ रुपैयाँका दरले खरिद गरेको देखिन्छ । 


सर्वोत्तम सिमेन्टले भने बुक बिल्डिङ मार्फत सेयर निष्कासनमा जान बोर्डसँग प्रतिकित्ता अधिकतम ७५० रुपैयाँका दरले स्वीकृति दिन प्रस्ताव गरेको छ । यही शङ्कास्पद सेयर कारोबारको विषय अहिले अर्थ मन्त्रालयको टाउको दुखाइको विषय बनेको छ । नियामक निकाय धितोपत्र बोर्डकै संलग्नतामा सेयर बजारमा चलखेल भएको भन्ने समाचार बाहिरिएसँगै अर्थ मन्त्रालयले गत आइतबार हल्लाको वास्तविकता के हो ? भन्दै बोर्डसँग स्पष्टीकरण माग गरेको थियो । तीन दिन भित्र मन्त्रालयमा जवाफी पत्र पठाउन भनेकोमा यता बोर्डको तर्फबाट अध्यक्ष ढुंगानाले मन्त्रालयलाई जवाफी पत्र समेत पठाइसकेका छन् । 

‘विवाह गरेर गइसकेकी छोरीलाई एकाघरको भन्न मिल्दैन’

धितोपत्र बोर्डका अध्यक्ष ढुंगानाले मन्त्रालयको प्रश्नको प्रतिउत्तरमा आफ्नी छोरीले कम्पनीको सेयर खरिद गरेको तर त्यसमा आफ्नो कुनै संलग्नता नभएको जवाफी पत्र पठाएका छन् । विवाह गरेर अर्काको घर गइसकेकी छोरीले के गर्ने नगर्ने भन्ने विषय स्वअधिकारको विषय भएकाले त्यसमा आफूलाई जोडेर हेर्नुपर्ने र प्रचार प्रसार गरिराख्नु पर्ने कुनै कारण नै नभएको उनले तर्क गरेका छन् ।

‘विद्यमान ऐन, नियमावली जस्ता कुनै पनि कानुनले विवाह गरेर गएकी छोरीलाई स्वनिर्णयमा आर्थिक कारोबार गर्ने अधिकारबाट वञ्चित गरेको छैन । त्यसैले विवाह गरेर गइसकेकी छोरीलाई एकाघरको भन्न मिल्दैन,’ ढुंगानाले अर्थ मन्त्रालयलाई लेखिपठाएको पत्रमा भनिएको छ ।

तर, यता उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष समेत रहेका बोर्डका सदस्य चन्द्रप्रसाद ढकालको बचाउमा भने सिङ्गो महासंघनै उत्रिएको छ । उपाध्यक्ष ढकालकै नाममा अर्थ मन्त्रालयबाट स्पष्टीकरणको पत्र नआए पनि महासङ्घले गत सोमबार नै एक विज्ञप्ति जारी गर्दै सर्वोत्तम सिमेन्ट बुक बिल्डिङमा जाने घोषणा गर्नु पूर्व नै ढकालका भाइ हेमराज ढकालले कम्पनीको सेयर खरिद गरेको र सो तथ्यलाई बुझेर मात्र समाचार सम्प्रेषण गर्न सञ्चार माध्यमहरूलाई आग्रह गरेको छ । 

विवादमा नाम जोडिएका हेमराज ढकाल हाल उद्योग परिसंघका उपाध्यक्ष रहेका छन् भने बुक बिल्डिङ मार्फत सेयर निष्कासन गर्न गइरहेको स्वयम् सर्वोत्तम सिमेन्टको सेयर विक्री व्यवस्थापक ग्लोबल आईएमई बैङ्कका मातृ संस्था आईएमई ग्रुपका सञ्चालक समेत हुन् । 

अब के हुन्छ ?

अर्थ मन्त्रालयले बोर्डको जवाफीपत्रलाई अध्ययन गरेर मात्र थप स्टेप चाल्ने बताएको छ । हालै मात्र अर्थ मन्त्रालयको प्रशासनिक जिम्मेवारीको नेतृत्व सम्हालेका सचिव मधुकुमार मरासिनीले बोर्ड मार्फत प्राप्त जवाफीपत्रलाई अध्ययन गरेर मात्र मन्त्रालयले थप निर्णय लिने रातोपाटीसँग बताए । 

धितोपत्र बजारसम्बन्धीको विवादमा नियामक निकाय धितोपत्र बोर्डकै संलग्नताको मुद्दा अब के हुन्छ भन्ने हाम्रो प्रश्नमा सचिव मरासिनीले भने, ‘बोर्ड मार्फत जवाफी पत्र आएको छ । त्यसको अध्ययन गर्न बाँकी नै छ । अध्ययन पश्चात् त्यसको गुण दोषका आधारमा मन्त्रालयले फरदर स्टेप चाल्नेछ ।’ भर्खरै मात्र आफू मन्त्रालयको जिम्मेवारीमा आएकाले सो मुद्दा हेरी नसकेको बताउँदै सचिव मरासिनीले अब आफूले सो मुद्दा हेर्ने बताए ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रयास श्रेष्ठ
प्रयास श्रेष्ठ

प्रयास श्रेष्ठले आर्थिक क्षेत्रमा कलम चलाउँछन् ।

लेखकबाट थप