बुधबार, १८ माघ २०७९
ताजा लोकप्रिय

गाईभैँसीमा हुने गर्भपतन : अपत्यारिलो समस्या

सोमबार, २५ साउन २०७८, १२ : ३१
सोमबार, २५ साउन २०७८

पछिल्लो दशकमा पशु प्रजननमा अवलम्बन गरिएका नयाँ प्रविधिका कारण पशुको उत्पादकत्वमा उल्लेखनीय वृद्धि भएको छ । यसरी उत्पादनशील पशुको सङ्ख्या वृद्धि हँुदा यिनको दाना, आहारा तथा व्यवस्थापनको खर्च पनि बढेर गएको देखिन्छ । यसका पूर्वाधारका लागि पशुहरूको बथानमा प्रभावकारी उत्पादनशील पशुको सङ्ख्याको स्थिरता राख्नु चुनौतीपूर्ण कार्य भएको छ । गोठमा दुधालु पशुको सङ्ख्या बढाउन कृत्रिम गर्भाधान अभियान चलाए चुनौतीपूर्ण छ । यस अभियानअन्तर्गत कति सङ्ख्यामा गाईभैंँसीलाई कृत्रिम गर्भाधान गरियो भन्ने मात्र होइन औसत कति सङ्ख्यामा पशुले स्वस्थ पाडापाडी, बाच्छाबाच्छी जन्माए र औसत बथानमा कति दुहुना गाईभैँसी छन् भनेर हेर्नु पनि यो अभियानको सफलताको मापक हो । विकसित मुलुकमा ७० प्रतिशतभन्दा बढी बथानका दुधालु पशु प्रतिवर्ष उत्पादनशील तथा प्रजनन उत्पादनशील हुनुलाई उत्कृष्ट मानिन्छ ।

दुग्धजन्य उत्पादनका लागि पालिने गाईभैँसीमा गर्भपतन तथा उल्टिनु अनि बाँझो रहनु एउटा चुनौतीपूर्ण व्यवस्थापकीय समस्याका रूपमा रहेको छ । गर्भाधारण गराइएका पाडापाडी, बाच्छाबाच्छी स्वस्थ्य नजन्मिनु, तत्काल त यसले कुनै आर्थिक प्रभाव त पार्दैन तर बथानमा आज भएका माउको उत्पादनशील क्षमता घट्दा उत्तराधिकारीको व्यवस्थापनका लागि चुनौती थप्न सक्छ । गर्भ पतन, गर्भ तुहिनु तथा बाँझोपन बथानमा वृद्धि हुनुको आर्थिक प्रभाव पाडापाडी, बाच्छाबाच्छी क्षतिको कारक तत्त्व निदानको खर्च लागत, मासु तथा दूध उत्पादनको क्षति, पटक पटक गर्भाधारण गराउनुपर्ने खर्च तथा यस्ता पशु बथानबाट न्यून मूल्यमा हटाउनुपर्नेसम्म हुन सक्छ ।

बथानमा यसरी गर्भ तुहिनु तथा बाँझोपनका जटिल कारणबारे विज्ञले अभिलेख गरेका छन् । यी निश्चित एवं अनिश्चित दुवै हुने गर्छन्; जुन सामान्य रूपमा पहिचान गर्न दुरुह कार्य मानिन्छ । यो अवस्था आउनुका प्रष्ट कारक तत्त्वमा जीवाणु, विषाणु, माइक्रो प्लाज्मा, क्लामोडिया, ढुसीजन्य सङ्क्रमण तथा प्रोटोजोवाका संलग्नता मानिएको छ ।

कुनै पनि पशु प्रजनन सञ्चालनको प्रस्थान विन्दु त्यस बथानमा हुने गर्भ पतन, गर्भ तुहिने अनि बाँझोपनको निराकरण मान्नै पर्छ । अनि मात्र त्यस्ता अभियान सफल हुने छन् ।

विगतका दशकमा भएका बथानका यस्ता समस्याको सिंहावलोकन गरिने हो भने परजीवीजन्य सङ्क्रमणका कारण हुने गर्भपतन, गर्भ तुहिने तथा बाँझोपनका कारण हाम्राअगाडि यस अभियानका लागि चुनौतीका रूपमा देखिएका छन् । तर हाम्रो प्रविधि तथा कार्यक्रम त अनभिज्ञ छ । यसका निराकरणका हाम्रा उपाय त्यही जीवाणु, विषाणुसम्म सीमित छन् । कृषकले समय सीप र आर्थिक क्षति बेहोर्दै आएका छन् । अनि कृषक, व्यवसायी आफ्नो गोठमा प्रतिवर्ष व्याएको दुहुनो गाईभैँसी देख्नको साटो आफ्नो गोठका गाईभैँसी बेलैमा बाली लागी ब्याउने बाटो कुर्नुका साटो दूध दिन छोडेपछि अन्यत्रबाट पशु जोहो गर्न भौँतारिन्छन् मात्र । तर अन्यत्रबाट पाए पनि उस्तै ।

परजीवीजन्य गर्भपतन गर्भ तुहाउने तथा बथानमा बाँझोपन गराउने प्रमुख निम्न कारक तत्त्वलाई प्रमुख मानिन्छ ।

१. टोक्सो प्लाज्मोसिस

२. ट्राइको मोनिएसिस

३. सारको सिस्येसिस

४. नियो सारकोसिस

टोक्सो प्लाज्मोसिस 

यसको कारक तत्त्व टोक्सोप्लाज्मा गोन्डाई नामक परजीवीजन्य सूक्ष्म परजीवी मानिन्छ । यसले प्रायजसो बङ्गुर, भेडा, बाख्रा प्रजातिमा गर्भ पतन गराउँछ । यस सूक्ष्म परजीवीको स्थायी बासस्थान बिरालो मानिन्छ । गाईभैँसी, भेडाबाख्रा तथा मानिस प्रजाति भने पाहुना घरजस्ता यिनको जैविक विकास क्रमका विभिन्न चरणका अवस्थामा यिनले सङ्क्रमण गराउँछन् अनि सोही अनुसार उपरोक्त प्रजातिमा गर्भपतन, गर्भ तुहिनुका साथै बाँझोपनको समस्या देखिन सक्छ ।

माथि उल्लेख गरिएका पशुहरू विभिन्न माध्यमबाट यसको सङ्क्रमणको जोखिममा पर्न सक्छन् । तीमध्ये यौनसम्पर्क, मासु सेवन तथा सङ्क्रमित पशुका दिसा, पिसाबबाट पनि सर्न सक्छ ।

रोगका लक्षण

भेडाका बथानमा गर्भ तुहिनु, बेला नपुगी बच्चा जन्मनु सामान्य मानिन्छ भने मस्तिष्क ज्वरो निमोनिया पनि देखिन्छ । जिउँदै पाठापाठी, पाडोपाडी, बाच्छाबाच्छी जन्मिहाले छेरपाटी लाग्नु खाने रुचि नहुनु, ख्याउटे हुने समस्या पटक पटक ज्वरो आउने समस्या देखिन सक्छन् ।

यस्ता पशुबाट प्रप्त हुने श्राव तथा विसर्जन गरेको तन्तुमा परजीवीको अवस्थितिका आधारमा रोग निदान गर्न सकिन्छ । यसबाहेक विभिन्न खाले सिरोलोजिकल जस्तो सीएफटी सविन फेल्डमन डाई टेस्ट, इलैजा, आईएफएटीआई टेस्टबाट बथानमा यसको एन्टिबडी परीक्षण गर्न सकिन्छ ।

उपचार नै गर्नुपरे सल्फा डाइजिन र पाइरामेथामाइन मात्र प्रभावकारी मानिन्छ । एन्टिबायोटिक त प्रयोजनहीन हुन्छ ।

रोकथामका उपाय

क. पशुहरूको दाना, घाँस, पराल भण्डारण गरिएको ठाउँ र घरमा बिरालो निषेध गरिनुपर्छ ।

ख. बिरालोको दिसा प्रदूषित चरणमा पशु चराउन बन्देज गरिनुपर्छ ।

ग. बिरालो पाल्नुभएको छ भने काँचो मासु खान दिनुहोला ।

घ. बथानमा तुहिएका बच्चा तथा साल सुरक्षित व्यवस्थापन गर्नु गर्नुपर्छ । 

ङ. टोक्सोम्याक खोप उपलब्ध भए अनि आफ्नो क्षेत्रमा रोग यकिन भए लगाउँदा राम्रो हुन्छ । तर ६ हप्ताभन्दा कम उमेर अनि गर्भिणीलाई निषेध गर्नुपर्छ ।

२. ट्राइकोमोनिएसिस

त्यो रोग ट्राइकोमोनास फिट्सका कारण र यौन सम्पर्कबाट हुने गर्छ । यसको सङ्क्रमण मुख्यगरी गाई प्रजातिमा देखिन्छ । तर भैँसी, बङ्गुर, घोडा प्रजाति त के अछुतो रहँदैनन् । दुग्ध प्रयोजनका लागि पालिने बथानमा बाँझोपनको समस्याको रूपमा यसलाई विश्वव्यापी मानिन्छ । प्राकृतिक गर्भाधान वा कृत्रिम गर्भाधान प्रयोजनका लागि तीन वर्षभन्दा माथिका ब्याडका साँढे प्रयोग गरिन्छ । प्राकृतिक अवस्थामा यो रोग यौन सम्पर्कबाहेक प्रभावित ब्याडको साँढेबाट सङ्कलन गरिएको वीर्य प्रयोग तथा जथाभावी अदक्ष प्राविधिकबाट हुने जनेन्द्रीय परीक्षणबाट यो रोगको सङ्क्रमण हुनेगर्छ ।

तीन महिनाभन्दा कम समयमा नै पशु उल्टिनु, योनी चिलाएको जस्तो हुनु, योनीबाट चौलानी जस्तो श्राव आउनु यसका लाक्षण हुन् । साल भित्रै बेरिएका बच्चा फालिएको भेटिए अन्य निदानका उपाय अवलम्बन गर्नुपर्दैन ।

गर्भाधान तथा गर्भावस्थाको सुरुमै धेरै बथानमा उल्टिने समस्या देखियो र ३ वर्षभन्दा बढीको एउटै ब्याडको साँढे प्रयोग भएको तथ्य भेटिए, निदानको अन्य झन्झट नगर्दा हुन्छ ।

सालको झोल, बच्चको पेटको झोल, योनी सफा गरेको झोल प्रयोगशालामा एग्लाटिसिन, इलिजा तथा पेरोकसिडेज, एन्टी पेरोक्सिडेज विधिबाट परीक्षण गराउन सकिन्छ । कोरली तथा माउमा समस्या देखियो भने तीन ऋतुचक्रसम्म बाली लगाउनु हुन्न । यसका लागि पुरानो ब्याडको साँढे निषेध गरी नयाँ ब्याडको साँढे वा कृत्रिम गर्भाधान गराउनु उचित हुन्छ ।

बथानमा यस्ता समस्या देखिन नदिन 

१. ब्याडको साँढे ३ वर्षभन्दा कम उमेरको हुनु पर्छ ।

२. नयाँ ब्याडको साँढे यो रोगरहित भए नभएको परीक्षणपछि किन्नुपर्छ ।

३. पूर्ण सफा तथा निसङ्क्रमित विधिबाट कृत्रिम गर्भाधान गराउनुपर्छ । एउटै सामग्रीबाट जिल्लाभरिका गाईलाई कृत्रिम गर्भाधान गराउनु हुँदैन ।

४. कृत्रिम गर्भाधानका लागि प्रयोग गरिने वीर्यमा सङ्क्रमण देखिए सम्पूर्ण स्रोत नष्ट गर्नुपर्छ ।

५. सङ्क्रमित ब्याडको साँढेलाई खसी बनाउनुपर्छ ।

६. तुहिएका गाई बथानबाट हटाउनुपर्छ ।

अन्ततः खोप पाइन्छ । हामीकहाँ पहिला रोगको  यकिन गरौँ क्षति मूल्याङ्कन गरौँ अनि सोचौँला ।

यसबहेकका अन्य दुई कारण अन्यत्र अभिलेख गरिएका छन् । हाम्रो परिवेशमा चिन्ता गर्नुपर्ने कारण छैन । तर पनि कृत्रिम गर्भाधान अभियानका अभियानकर्ता अलि सचेत हुन जरुरी छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकबाट थप

डा. केदार कार्की
डा. केदार कार्की
लेखकबाट थप