बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

६१ अर्बले वाणिज्य बैंकहरुको निक्षेप घट्यो, कहाँ जाँदैछ लगानी ?

सोमबार, २५ साउन २०७८, २० : ०७
सोमबार, २५ साउन २०७८

हालसम्मकै उच्च दरमा वाणिज्य बैंकहरुको निक्षप संकलन घट्न पुगेको छ । नेपाल बैंकर्स संघका अनुसार चालू आर्थिक वर्ष २०७८/७९ को पहिलो महिना अर्थात साउनको तेस्रो हप्तासम्ममा अधिकतम ६१ अर्बले बैंकहरुको निक्षेप घट्न पुगेको हो ।

बैंकका अनुसार साउन २२ गतेसम्म वाणिज्य बैंकहरुले कुल ४१ खर्ब ४० अर्ब निक्षेप संकलन गरी ३७ खर्ब ३२ अर्ब कर्जा लगानी गरेका छन् । जबकि गत महिना असार मसान्तसम्ममा बैंकहरुले कुल ४२ खर्ब १ अर्ब निक्षेप संकलन गरी ३७ खर्ब २१ अर्ब कर्जा परिचालन गरेका थिए ।

उक्त तथ्याङ्कअनुसार चालु आर्थिक वर्षको पहिलो महिना अर्थात साउनको १ गतेदेखि २२ गतेसम्ममा वाणिज्य बैंकहरुले अधिकतम ६१ अर्ब रुपैयाँ निक्षेप गुमाएका हुन् । आर्थिक वर्षको पहिलो महिना साउनको पहिलो हप्तामा अधिकतम ४३ अर्बले गुमेको निक्षेप, दोस्रो हप्तामा ६ अर्बले र तेस्रो हप्ता १२ अर्ब घटेको बैंकर्स संघले जनाएको छ । 

यता, कर्जा लगानी तथा विस्तारतर्फ पनि बैंकहरुको साउनको पहिलो हप्ता १५ अर्बले घटेकोमा दोस्रो हप्ता १० अर्बले र तेस्रो हप्ता अधिकतम १६ अर्बले घटेको संघले जनाएको छ ।  पहिलो पटक यति ठूलो दरमा बैंकहरुको निक्षेप घटेपछि नेपाल बैंकर्स संघलाई समेत चकित परेको छ ।

नयाँ आर्थिक वर्ष शुरु भएसँगै बैंकको निक्षप घट्नुलाई संघले शंकाको विषयको रुपमा हेरेको छ । यद्यपि, गत वर्षहरुमा पनि साउनमा केही मात्रामा निक्षेप घट्ने गरेतापनि यस पटक अस्वभाविक रुपमा निक्षेप घटेको संघको भनाई छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप