बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

सामान्य मर्मत नहुँदा हेटौंडाका ४५ वटा सिसिटिभी क्यामेरा जीर्ण अवस्थामा

मउवासंघले नै गरेन मर्मत बापतको रकम भुक्तानी
बिहीबार, २८ साउन २०७८, १० : ५७
बिहीबार, २८ साउन २०७८

मकवानपुर । हेटौंडा बजार क्षेत्रको शान्ति सुरक्षालाई मध्यनजर गर्दै विभिन्न स्थानमा सिसिटिभी क्यामेरा जडान गरिए पनि हाल ती सिसिटिभी क्यामेरा जीर्ण अवस्थामा पुगेका छन् ।

हेटौंडा उपमहानगरपालिका र मकवानपुर उद्योग वाणिज्य संघको समन्वयमा ७ वर्ष अगाडि नै सिसिटिभी क्यामेरा जडान गरिएको थियो । तर जडान गर्ने संस्था र हेटौंडा उपमहानगरपालिकाको बेवास्ताका कारण ती सिसिटिभी क्यामेरा जीर्ण अवस्थामा पुगेका हुन् ।

२०७० माघबाट तत्कालीन उद्योग वाणिज्य संघका अध्यक्ष राजकुमार न्यौपाने नेतृत्वको टोलीले हेटौंडा उपमहानगरपालिकासँगको समन्वयमा बजार क्षेत्रमा करिव ४० वटा सिसिटिभी क्यामेरा जडान कार्य सुरुवात गरेको थियो ।

केही समयमै उद्योग वाणिज्य संघको नेतृत्व परिवर्तन भयो र सिसिटिभी क्यामेरा जडान गर्ने कार्यलाई मउवासंघका वर्तमान अध्यक्ष कृष्ण कटुवालले पूर्णता प्रदान गर्ने काम गरे ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरमा कन्ट्रोल सिस्टम राखेर जडान गरिएका ती सिसिटिभी क्यामेरा मर्मत सम्भार गर्न मउवासंघ र हेटौंडा उपमहानगरपालिकाले चासो नदिँदा ती सिसिटिभी क्यामेरा काम नलाग्ने भएका छन् ।

हेटौंडा उपमहानगरपालिकाको ४ लाख र मउवासंघको २२ लाख गरी कुल २६ लाख रुपैयाँको लागतमा हेटौंडा बजार क्षेत्रका विभिन्न स्थानमा ती सिसिटिभी क्यामेरा जडान गरिएको थियो ।

क्यामेरा जडान गरेको केही समयसम्म मउवासंघले मर्मतको काम गरेको देखिन्छ । मउवा संघले हेटौंडाकै एक सप्लायर्स मार्फत ती सिसिटिभी क्यामेरा जडान र मर्मत गरेको मउवासंघका कार्यकारी अधिकृत पवन कार्कीले बताए ।

मउवासंघले बारम्बार सिसिटिभी क्यामेरा मर्मतको खर्च व्यहोर्न नसक्ने अवस्था आएको र सरकारका तर्फबाट पनि मर्मतका लागि कुनै पहल नदेखिएपछि सिसिटिभी क्यामेराहरु बन्द हुन पुगेको उनको भनाइ छ ।

३÷४ पटकको मर्मत खर्च बापतको ४ लाख रुपैयाँ बराबरको रकम सप्लायर्सलाई दिन बाँकी नै रहेको उनी बताउँछन् ।

‘३÷४ पटक मर्मत गरेका थियौं । सरकारले गर्ने काम व्यवसायीले गरेका थिए,’ उनले भने, ‘उद्योग वाणिज्य संघले पनि खर्च व्यहोर्ने अवस्था रहेन र सरकारले पनि चासो नदिएपछि समस्या देखिएको हो, मर्मत बापतको ४ लाख जति रकम अहिलेसम्म तिर्न बाँकी नै छ ।’

९० वटा सिसिटिभी क्यामेरामध्ये ३५ वटामात्र सञ्चालनमा

मउवासंघले सुरुवात गरेको सिसिटिभी क्यामेरा जडान कार्यलाई विभिन्न संघसंस्थाको सहयोगमा अघि बढाइयो । हाल बजार क्षेत्रमा ९० वटा सिसिटिभी क्यामेरा छन् ।

२०७० सालदेखि ७ वर्षको अवधिमा मकवानपुरका विभिन्न पालिका र बजार क्षेत्रमा ती ९० वटा क्यामेरा जडान गरिएको छ ।

गत आर्थिक वर्ष २०७७/०७८ मा मात्र विभिन्न संघसंस्था र पालिकाको सहयोगमा मकवानपुरको राजमार्ग क्षेत्र र बजार क्षेत्रमा गरी ४७ वटा सिसिटिभी क्यामेरा जडान गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

जडान गरिएको कुल ९० वटा क्यामेरामध्ये हाल ३५ वटामात्र सञ्चालनमा रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक जयश्वर रिमालले जानकारी दिए । अन्य सिसिटिभी क्यामेरामा केही समस्या आएकोले मर्मत गर्नुपर्ने अवस्थामा रहेको उनले बताए ।

समान्य मर्मत गर्दा प्रायः सबै क्यामेरा सञ्चालनमा आउने तर, मर्मत खर्चको अभावका कारण ती क्यामेराहरू बन्द अवस्थामा रहेको उनी बताउँछन् ।

शान्ति सुरक्षा, अपराध न्यूनीकरण र अनुसन्धान कार्यमा सघाउ पुग्ने भएकाले हाल जिल्ला प्रहरी कार्यालयले समिति नै गठन गरी जिल्लाका सबै पालिकाको समन्वयमा राजमार्ग र बजार क्षेत्रमा गुणस्तरीय सिसिटिभी क्यामेरा जडान गर्ने अभियान थालनी गरेको उनले बताए ।

सिसिटिभी क्यामेराका कारण अनुसन्धानमा सहजता

मकवानपुरमा सिसिटिभी क्यामेरा प्रयोगका कारण प्रहरीलाई विभिन्न अनुसन्धानमा थप सहज भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक रिमाल बताउँछन् ।

उनका अनुसार आर्थिक वर्ष २०७७/०७८ मा हेटौंडा बजार क्षेत्रमा मात्र ४ वटा चोरी डकैती, लुटपाटका घटना भएकोमा सिसिटिभी क्यामेराको मद्दतमा ३ जनालाई प्रहरीले पक्राउ गर्न सफल भएको छ ।

हेटौंडाको मुख्य बजार क्षेत्रमा २ वटा पसल र २ जना व्यक्तिको घरमा चोरी भएकोमा २ वटा पसल चोरी गर्ने एकैजना रहेको तथ्य सिसिटिभी क्यामेराको रेकर्ड हेरेपछि थाहा भएको र ती व्यक्तिलाई पक्राउ गर्न सफल भएको प्रहरी नायव उपरीक्षक रिमालले बताए ।

त्यस्तै गत आर्थिक वर्षमा १२९ वटा मोटरसाइकल हेटौंडा बजार क्षेत्रबाट चोरी भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । चोरी भएका मोटरसाइकलमध्ये सिसिटिभी क्यामेराको सहायताबाट अनुसन्धान गर्दा १३ वटा फेला पार्न सहयोग पुगेको प्रहरीको भनाइ छ ।

भुक्तानी लिन ५ वर्षदेखि बिल बोकेर धाउँदै व्यवसासी

व्यवसायीहरुको हक हितको वकालत गर्ने मउवासंघले विगत ५ वर्षदेखि काम गरेबापतको रकम भुक्तानी दिएको छैन ।

मउवासंघको नेतृत्वमा बजार क्षेत्रको शान्ति सुरक्षालाई थप सवल पार्न जडान गरिएको ४० वटा सिसिटिभी क्यामेरा मर्मत गरे बापतको रकम भुक्तानी हुन नसकेको हो ।

सो बापतको रकम भुक्तानी माग गर्दै विगत ५ वर्षदेखि हेटौंडा–४ स्कुलरोडमा रहेको द क्रियटिभ ग्रुप्सका सञ्चालक पवन प्रधान अहिले पनि बिलसहित मउवासंघ धाउँदै छन् ।

विभिन्न बहाना गर्दै मउवासंघले आफूलाई मर्मत खर्च बापतको ६ लाख रुपैयाँ भुक्तानी नदिएर टार्दै आएका सञ्चालक प्रधान बताउँछन् ।

‘विभिन्न समयमा गरी ३/४ वटा भ्याट बिल काट्न लगाइसके तर भुक्तानी पाएको छैन । कहिले अन्य काम गर्न दिने र त्यसैमा बाँकी ६ लाख रुपैयाँ पनि मिलाएर बिल बनाएर ल्याउन सुझाव दिइएको, कहिले विगत ४ वर्षसम्म किन लिन नआएको भन्दै फर्काउँछन्,’ उनले भने ।

यता मउवासंघका अधयक्ष कटुवाल भने क्यामेरा मर्मत गरेकोबारे आफुलाई कुनै जानाकरी नै नभएको बताउँछन् ।

मउवासंघबाट क्यामेरा मर्मतको कुनै लिखित निर्णय तथा निर्देशन नभएकोले सो बापतको रकम भुक्तानी दिन नसकिने उनको भनाइ छ ।

‘मकवानपुर उद्योग वाणिज्य संघ संस्था हो । यो विधान अनुसार चल्छ । कुनै पनि काम गर्दा निर्णय हुन्छ, कार्य आदेश लिनु पर्छ,’ उनले भने, ‘ठुला ठुला रकमको त झन टेण्डर नै हुने गर्छ । तर सिसिटिभी क्यामेरा मर्मतको सन्दर्भमा यो कुनै पनि विधि पूरा भएको छैन र हामीले पनि कुनै निर्णय र निर्देशन दिएका छैनौँ, न टेण्डर नै गरेका छौं ।’ मौखिक सहमति मै काम गरेको भए पनि सिसिटिभी चल्नुपर्ने हो तर क्यामेरा नै नचलेका कारण भुक्तानी दिन कठिन भएको उनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

गणेश दुलाल
गणेश दुलाल
लेखकबाट थप