शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

श्वेतपत्रमा कुनै आग्रह पूर्वाग्रह छैन : अर्थमन्त्री शर्मा

बिहीबार, २८ साउन २०७८, १५ : ००
बिहीबार, २८ साउन २०७८

अर्थमन्त्री जनार्दन शर्माले देशको वर्तमान आर्थिक अवस्थाको श्वेतपत्रमा कुनै आग्रह र पूर्वाग्रह नरहेको स्पष्ट पारेका छन् । बिहीबार राष्ट्रियसभामा वर्तमान आर्थिक अवस्थाको जानकारीपछि सांसदका प्रश्नको उत्तर दिँदै उनले देशको वर्तमान आर्थिक अवस्थाको श्वेतपत्रमा कुनै आग्रह, पूर्वाग्रह र डेटामा फरक रहेको भए आफू कठघरामा उभिन तयार रहेको बताए ।

उनले देशको वर्तमान आर्थिक अवस्थाको श्वेतपत्रमा भएका र गरेका कामसहितको विकासको उल्लेख गरिएको बताए । उनले भने, ‘मैले देशको आर्थिक अवस्थाको जानकारी भनेको छु, त्यसमा कुनै आग्रह–पूर्वाग्रह छैन, यहाँ सडक कति लामो खनियो, कतिवटा पुल बनाइयो भन्ने कुरा उल्लेख गरिँदैन, यसमा आर्थिक विकास र प्रगतिको अवस्था के छ, पूँजी निर्माण कसरी भइरहेको छ, ऋणको अवस्था के छ, सञ्चितिको अवस्था के छ, भन्ने विषय प्रस्तुत गर्नुपर्ने भएकोले डाटामा जे छ, त्यही प्रस्तुत गरेको छु । प्रगति के भयो भनेर देशको ऐना प्रस्तुत गरेको हुँ । कतै डाटामा फरक परेको रहेछ भने त्यसको जिम्मा लिन्छु । कुनै आग्रह–पूर्वाग्रह छैन । भएका गरेका काम छन्, त्यसैले यसमा कुनै आग्रहको गन्ध भेट्नुहुने छैन, भेट्नुभयो भने म फेरि कठघरामा उभिन तयार छु ।’

उनले जिम्मेवार भएर लोकतन्त्रलाई स्वीकार गर्ने भएकोले संसदमा बजेट प्रस्तुत गरिएको बताए । बजेटको बारेमा संशोधन, परिमार्जन र प्रतिस्थापन जस्ता कुरा संसदले गर्ने बताउँदै शर्माले भने, ‘बजेट अध्यादेशमार्फत् नल्याउनुपर्थ्यो ल्याइयो, तर पनि सरकारको निरन्तरताको कारणले, जिम्मेवार भएर लोकतन्त्रलाई स्वीकार गर्ने भएको कारणले संसदमा प्रस्तुत गरिएको छ, यसको निर्णय संसदले गर्नेछ, त्यसलाई संशोधन, परिमार्जन, प्रतिस्थापनका कुरा संसदमा आएर निर्णय हुनेछन्, त्यसकारणले पूर्वाग्रही ढंगले निकट र टाढाको नातामा वा गुट र अर्कोको नातामा बजेट विनियोजन गर्ने कुरा यो सरकारले गर्दैन, यो सरकारको मन्त्रीले गर्नेछैन ।’  

शर्माले राष्ट्रिय गौरवका योजनाहरु निरन्तर रुपमा अघि बढिरहने बताउँदै प्रदेश र पालिकाका अधिकार मिच्ने गरी गरिएका निर्णयमा सुधार गरिने धारणा व्यक्त गरे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप