बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

लुम्बिनी प्रदेश : नयाँ सरकारको पहिलो मन्त्रिपरिषद् बैठकका आठ निर्णय

बिहीबार, २८ साउन २०७८, २१ : ०९
बिहीबार, २८ साउन २०७८

मुख्यमन्त्री कुलप्रसाद केसीको अध्यक्षतामा बिहीबार साँझ बसेको लुम्बिनी प्रदेश मन्त्रिपरिषदको बैठकले विभिन्न ८ वटा निर्णय गरेको छ । बिहीबार नै मुख्यमन्त्री नियुक्त भएका केसीले सात सदस्यीय मन्त्रिपरिषद गठन गरेका छन् । नवनियुक्त मुख्यमन्त्री तथा मन्त्रीहरुको सपथ ग्रहणपछि प्रदेश मन्त्रिपरिषदको पहिलो बैठक बसेको हो ।

मन्त्रिपरिषद बैठकले प्रदेश नम्बर ५ प्रदेश सरकार (कार्यसम्पादन पहिलो संशोधन) नियमावली २०७८ स्वीकृत गर्ने निर्णय गरेको छ । यस्तै, कोभिड–१९ का बिरामीको तत्काल उद्धार गर्न हटलाइन र सवारी साधन (एम्बुलेन्स) को व्यवस्था गर्ने र सोको खर्च प्रदेश सरकारले व्यहोर्ने निर्णय भएको छ ।

बैठकले कोरोना प्रभावित क्षेत्रमा घुम्ती शिविरमार्फत एन्टिजेन परीक्षणको व्यवस्था गथरी कोभिड प्रभावितको उपचार र उद्धार गर्ने, कोभिड–१९ विरुद्धको खोप वितरण प्रणालीलाई प्रभावकारी बनाइ प्रदेशवासी जनतालाई खोपको सुनिश्चितता गर्न विशेष व्यवस्था गर्ने निर्णय पनि गरेको छ ।

यस्तै, प्रदेश सरकारको प्रवक्तामा आर्थिक मामिला तथा योजना मन्त्री कृष्णध्वज खड्कालाई तोकिएको छ भने मुख्यमन्त्रीको प्रमुख सल्लाहकारमा अमरबहादुर डाँगीलाई नियुक्त गर्ने निर्णयसमेत भएको छ ।

बैठकले क्यान्सर, किड्नी परिवर्तन र मुटुको भल्व फेर्ने बिरामीहरुलाई उपचारका लागि हाल पाइरहेको सुविधाका अतिरिक्त प्रदेश सरकारका तर्फबाट थप दुई लाख रुपैयाँका दरले उपलब्ध गराउने निर्णयसमेत गरेको छ । त्यस्तै, मातृ मृत्युदर कम गर्न लुम्बिनी प्रदेशका स्थानीय तहको मागको आधारमा एउटा पोर्टेबल अल्ट्रासाउन्ड मेसिनसहित तालिमप्राप्त नर्स उपलब्ध गराउने निर्णय पनि भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप