शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

‘दैनिक पाँच लाखभन्दा बढीलाई खोप लगाउने क्षमता छ’

डा. झलक शर्मा गौतम, बाल स्वास्थ्य तथा खोप सेवा शाखा प्रमुख, स्वास्थ्य विभाग
शुक्रबार, २९ साउन २०७८, ११ : ५१
शुक्रबार, २९ साउन २०७८

देशभर कोरोनाभाइरस (कोभिड —१९) विरुद्धको खोप अभियान सञ्चालन भइरहेको छ । तर, संघीय राजधानीदेखि प्रदेश र स्थानीय तहका खोप केन्द्र व्यवस्थित नहुँदा खोप केन्द्रबाटै कोरोना महामारीको जोखिम बढेको जनस्वास्थ्यविज्ञ तथा चिकित्सकहरु बताउँछन् ।

किन खोप केन्द्र व्यवस्थित हुन सकेनन् ? खोपको प्राथमिकतामा नपरेका व्यक्तिले खोप प्राप्ति गर्दा सरकार किन मौन छ ? बालबालिकाले कहिले कोरोनाविरुद्धको खोप पाउँछन् ? अनुदानमा प्राप्त र खरिद गरेको खोप कहिले नेपाल आइपुग्छ ? यस्ता प्रश्नहरु आम रुपमा उठ्ने गरेका छन् । यी र यस्ता अन्य केही प्रश्नका जवाफ खोज्ने क्रममा रातोपाटीले स्वास्थ्य विभाग अन्तर्गत बाल स्वास्थ्य तथा खोप सेवा शाखा प्रमुख डा. झलक शर्मा गौतमसँग कुराकानी गरेको छ । प्रस्तुत छ, डा. गौतमसँग गरिएको कुराकानीको सम्पादित अंश–

खोप केन्द्र अव्यवस्थित हुँदा संक्रमण फैलने खतरा बढ्यो भनेर चिकित्सकहरुले बताउँदै आएका छन्, के सरकारले खोप केन्द्रहरु व्यवस्थापन गर्न नसकेको हो ?

खोप केन्द्र व्यवस्थापन गर्नका लागि सुरुमा खोप केन्द्र तोक्छौँ । सबै जिल्लामा खोप केन्द्र तोकिएका हुन्छन् । जिल्लामा कतिवटा खोप केन्द्र रहन्छन्, कति दिनसम्म खोप केन्द्र सञ्चालन गर्ने भन्नेबारे जिल्लाहरूले नै निर्णय गर्छन् । सहयोगका लागि जिल्ला, प्रदेश, पालिकाहरुसँग समवन्य गर्ने समिति छन् । हरेक जिल्लामा प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा खोप केन्द्र तोकेर स्वास्थ्यकर्मी, स्वयंसेविका परिचालन गरी कति दिन खोप अभियान चलाउने, कसरी भिडभाड रोक्ने, कसरी खोपको पहुँच बढाउने आदि कुरामा  खोप प्राप्त गरेपछि जिल्लाले निर्णय गर्छ ।

पालिकाहरुमा पालिका प्रमुखको संयोजकत्वमा बनेको समितिले सबै व्यवस्थापन गर्छ । स्वास्थ्यकर्मीले प्राविधिक काम गर्छौं । प्राप्त भएको खोपलाई सेवाग्राही आएपछि लगाइदिन्छौँ र त्यसको रेकर्ड राखेर रिपोर्ट गर्ने काम हुन्छ । प्राविधिक समस्या अर्थात् अनपेक्षित घटना घटेमा त्यसको व्यवस्थापन गर्छौं । तर, भिडभाड नियन्त्रण स्वास्थ्यकर्मीले मात्रै गरेर सम्भव छैन । जनघनत्व कम भएको खोप केन्द्रमा बिहानको समय अर्थात् १० बज्ने बित्तिकै भिड हुन्छ । आज खोप अभियान सञ्चालन हुन्छ भनेपछि बिहानैदेखि लाइनमा बस्नाले १०÷११ बजेतिर ठूलो भिडभाड हुन्छ ।

खोप केन्द्रमा जनस्वास्थ्यका मापदण्ड पालना भएको छैन । मापदण्डका कुरामा सेवाग्राही स्वयंले सावधानी अपनाउनु पर्छ । स्वास्थ्यकर्मीले मात्रै केही गर्न सकिदैँन । सम्बन्धित स्थानका जनप्रतिनिधि सुरक्षाकर्मी, स्वयंसेवा गर्ने संस्था र व्यक्ति आफै सजग भएर जिम्मेवार बन्नुपर्छ । खोप केन्द्र व्यवस्थित गर्न खोजेका छौँ । तर, कतिपय ठाउँबाट सहयोग र समवन्य भएको छैन । त्यसका लागि पटकपटक स्वास्थ्य मन्त्रालयले अनुरोध गरेको छ ।

चैत्रसम्ममा सबैलाई खोप दिने सरकारको प्रक्षेपण छ । सबैजनालाई खोप दिन हाल भएको खोप केन्द्रबाट सम्भव हुन्छ ?

नेपालले कति खोप प्राप्त गर्छ र खोपको मौज्दात कति हुन्छ भन्ने आधारमा खोप केन्द्र तोक्छौँ । त्यसपछि खोप कुन समूहलाई लगाउने, कति जनसंख्या छ भनेर सुरुमै निर्धारण गर्छौँ । अहिलेसम्म विभिन्न कम्पनीका १ करोड ८ लाख ६० हजार १७० मात्रा खोप नेपालले प्राप्त गरेको छ । यो खोप एकैपटक प्राप्त भएको होइन । माघ ८ गते खोप प्राप्त गरेर माघकै १४ गतेदेखि खोप अभियान सुरु गरिएको हो । हालसम्म १ करोड ८ लाख डोज खोप प्राप्त गरेका छौँ भने बाँकी खोप आउने क्रम जारी छ । जति खोप प्राप्त भयो त्यो अनुसार खोप दिनका लागि प्राथमिक समूह तोक्ने र कतिवटा केन्द्र तोक्ने भनेर निर्णय गर्छाैँ । तर, एकै पटक सबैलाई लगाउन आह्वान गर्न सकेका छैनौँ । खोप धेरै आएको भए केन्द्रहरु पनि बढाउन सकिन्थ्यो । तर खोप धेरै आएको छैन, त्यसैले खोपको उपलब्धताका आधारमा खोप केन्द्र तोकेका हौँ ।

नेपालले अब कति खोप अनुदानमा पाउँदैछ र कति खोप खरिद गर्ने प्रक्रियामा छ ?

नेपालले अहिलेसम्म अनुदान, खरिद तथा कोभ्याक्स सुविधामार्फत खोप प्राप्त गरेको छ । कोभ्याक्स सुविधाबाट केही खोप प्राप्त गरेका छौं र अझै प्राप्तिका लागि प्रक्रिया आगडि बढाएका छौँ । कोभ्याक्समार्फत खरिद प्रक्रियाबाट पनि खोप प्राप्त गर्ने लाइनमा छौँ । खोप खरिदका लागि प्रशासनिक कामलाई त्यही अनुसार अगाडि बढाएका छौँ । नेपाल सरकारले असोजसम्ममा एकतिहाई जनसंख्यालाई कोरोनाविरुद्धको पूर्ण खोप दिने र चैतसम्ममा सबैलाई खोप दिइसक्ने प्रतिवद्धता जनाएको छ । त्यही अनुसार खोप प्राप्तिका लागि अगाडि बढेका छौं । विस्तारै खोप आउँदै पनि छ । आगामी असोजसम्म १ करोड ८ लाख डोज थप खोप आइपुग्ने छ । माघ मसान्तसम्म ३ करोड २३ लाख थप खोप प्राप्त हुने छ । यसरी माघसम्म कुल ५ करोड २३ लाख डोज खोप उपलब्ध भइसक्ने छ । भारतबाट अनुदानमा १० लाख मात्रा, नेपाली सेनालाई कोभिशिल्डकै एक लाख मात्रा, चीनबाट अनुदान सहयोगमा हालसम्म १८ लाख मात्रा भेरोसेल खोप, गाभीमार्फत ३ लाख ४८ हजार मात्रा कोभिशिल्ड खोप नेपालले प्राप्त गरेको छ ।

यस्तै, अमेरिकाबाट जोनसन एण्ड जोनसन खोप १५ लाख ३४ हजार मात्रा नेपालले अनुदानमा प्राप्त गरेको छ । भारतबाटै १० लाख कोभिशिल्ड खोप खरिद गरिएको छ भने ४० लाख मात्रा भेरोसेल खोप चीनबाट खरिद गरेको छ । यस्तै, भुटानबाट एक्स्ट्राजेनिका २ लाख ३० हजार डोज अनुदानमा प्राप्त गरेको छ । जापानबाट एक्स्ट्राजेनिकाको खोप ८ लाख ४७ हजार मात्रा आएको छ । जम्मा नेपालले १ करोड ८ लाख ४९ हजार डोज खोप हालसम्म प्राप्त गरेको छ ।

योसँगै अब चाँडै १६ लाख अनुदान सहयोग र ६० लाख खरिद गरेको खोप आउँदै छ । यस्तै जापान सरकारले अनुदान सहयोगमा दिन बाँकी ८ लाख मात्रा खोप पनि चाडै आउँदैछ ।

हालसम्म ४५ लाख ७० हजार ५५३ जनाले पहिलो मात्राको खोप लगाएका छन् भने २८ लाख ८८ हजार ३६९ जनाले पूर्ण मात्रामा खोप लगाएका छन् । सरकारले खोप प्राप्ति गर्ने आधारमै चैत्रसम्ममा सबैलाई खोप दिने भनेको हो । त्यही डाटामा आधारित भएर नै तयारी गरेका छौँ ।

भेरोसिल खोप ९ लाख मात्रा, एस्ट्रोजेनिका ११ लाख ५० हजार मात्रा र जोन्सन २१ हजार मात्रा गरी २० लाख ७१ हजार मात्रा खोप स्थानीय तहमा भण्डारण गरिएको छ । यस्तै, केन्द्रीय भण्डारमा एस्ट्रोजेनिका १ लाख ६१ हजार मात्रा र जोन्सन १२ हजार मात्रा गरी कुल १ लाख ७३ हजार मात्रा छ ।

एकातिर फागुनमा स्थानीय तहको चुनाव गर्नुपर्ने छ, अर्कोतिर सरकारले चैतसम्ममा सबैका लागि खोप उपलब्ध गराउने भनेको छ । सरकारको यो घोषणालाई धेरैले शंकाको दृष्टिले हेरिरहेका छन्, के चैतसम्म सबैका लागि खोप सम्भव छ ?

नेपालले खोप प्राप्त गरेका खण्डमा खोप लगाउनका लागि कुनै समस्या छैन । नेपालसँग खोप वितरणका लागि जनशक्ति, खोप भण्डारणका पूर्वाधार उपलब्ध छ ।  विगतदेखि नै खोप वितरण र व्यवस्थापनमा हामीसँग बालियो क्षमता छ । खोप वितरण नेपालका लागि पुरानो कार्यक्रम हो । खोप वितरण प्रणाली व्यवस्थित छ । हाल दैनिक तीन लाखका दरले कोरोनाविरुद्धको खोप दिइरहेका छौँ । खोप प्रशस्त मात्रामा प्राप्त गरेको खण्डमा हामीसँग दैनिक ५ लाखभन्दा बढीलाई खोप लगाउन सक्ने क्षमता छ । खोप प्राप्तिपछि खोप दिनलाई समस्या छैन । तर, खोप कति प्राप्त हुन्छ, त्यही अनुसार वितरण गर्छौँ ।

चुनाव कहिले हुन्छ भन्नेसँग खोप वितरण प्रणालीको कुनै सरोकार हुँदैन । खोप प्राप्त भएको खण्डमा व्यवस्थित तरिकाले सबैलाई खोप दिन सक्छौँ । सरकारले खोप प्राप्त गर्ने आधारहरुबाटै चैतसम्ममा शतप्रतिशत जनतालाई खोप दिने घोषणा गरेको हो ।

कोरोनाविरुद्धको खोप बालबालिकालाई पनि दिने भनिएको छ, त्यस्तो खोप बालबालिकाले कहिलेसम्म पाउँछन् ?

कतिपय मुलुकले किशोरकिशोरीलाई पनि कोरोनाविरुद्धको खोप प्रयोग गरेका छन् । अझै तल्लो उमेर समूहमा पनि क्लिनिकल ट्रायल भइरहेको छ । केही मुलुकले बालबालिकालाई पनि खोप दिएको अवस्था छ । आमरुपमा बालबालिका र किशोरकिशोरीहरुमा प्रयोग गरिने खोप आयो भने नेपालमा पनि लगाउने प्रतिवद्धता सरकारले जनाएको छ । त्यसको तयारी गरेका छौँ । फाइजर र मोर्डना खोप प्राप्तिका लागि प्रशासनिक प्रक्रिया अगाडि बढाएका छौँ ।  कुल जनसंख्याको ७२ प्रतिशत अर्थात्, पहिलो प्राथमिकतामा रहेका २ करोड १५ लाख र त्यसपछि १२ वर्षदेखि १८ वर्ष सम्मका ४९ लाख गरी २ करोड ६५ लाख जनसंख्यालाई खोप दिने सरकारको लक्ष्य छ । १२ वर्षदेखि माथिका बालबालिकाका लागि खोप प्राप्तिको प्रक्रिया अगाडि बढाइएको छ ।

सरकारले भनेअनुसार अनुदान र खरिद गरिएको खोप नेपालले प्राप्त गरेको खण्डमा खोप भण्डारणमा समस्या पर्दैन ?

चिस्यान भण्डारण प्रणाली अर्थात् कोल्ड चेन सिस्टम पुरानो हो । बालबालिका र गर्भवती आमाहरुलाई दिने खोपहरु यही चिस्यान भण्डारण प्रणालीमा राखेर दिने गर्थ्यौँ । अहिले दुई तरिकाबाट खोप भण्डारण गरेका छाँै । एकतिर बालबालिका र गर्भवतीलाई दिइने खोप भण्डारण गरेका छौँ र निरन्तर खोप अभियान सञ्चालन गरेका छौँ । अहिले कोभिडको कारणले थप भण्डारण चाहिएको हो । पहिला भएका नियमित खोपलाई नियमित भण्डारण गरेका छौँ । अर्कोतिर खोप प्राप्त गर्दै त्यही भण्डारणमा नयाँ केही सामग्री जोड्दै वायर हाउसहरु थप गरेर कोरोना खोप भण्डारण र वितरण गरेका छौँ । हामीसँग भएको खोप भण्डारण पर्याप्त नभएकाले त्रिभुवन विमानस्थलको चिस्यान भण्डारणमा ठूलो मात्रा खोप राख्न सक्छौँ । नेपाली सेनासँग भएका चिस्यान भण्डारणका सामग्री पनि प्रयोग गरिएको छ भने कृषि मन्त्रालयसँग भएका रेफ्रिजेरेटर भ्यानहरु पनि खोप भण्डारणका लागि प्रयोग गरेका छौँ । प्रदेशमा पनि वायर हाउसमा उपकरण जडान गरेर भण्डारण निर्माण गरेका छौँ । पथलैयाको खोप भण्डारणमा राम्रो व्यवस्थापन भएको थिएन, हाल त्यसलाई पनि व्यवस्थापन गरेका छौँ । हामीसँग भएका चिस्यान भण्डारण सुधार गरेर राम्रो बनाएका छौँ भने अन्य संस्थामा भएका चिस्यान भण्डारणलाई पनि प्रयोग गरेर कोभिड खोपलाई व्यवस्थित गर्दै वितरण गरेका छौं । आगामी दिनमा आउने खोपलाई पनि सहजरुपमा व्यवस्थापन र वितरण गर्न सक्छौँ । किनभने यसका लागि निजी क्षेत्रसँग पनि हामीले समन्वय गरेका छौँ ।

नेपालले प्राप्त गरेको सबै खोप शतप्रतिशत प्रयोग भएको छ ?

प्रयोग गर्ने खोपमा खेर जाने मात्रा हुन्छ । खोप उत्पादक कम्पनीले नै यति खोप खेर जान सक्छ भनेर छुट्याएको हुन्छ तर हामीले सकेसम्म खोप खेर जान नदिने कोसिस गरेका छौँ । कोभिशिल्ड खोप एक भाइलमा १० मात्रा हुन्छ । हामीले एकदुई जना खोप लगाउन आउँदा भाइल खोलेका छैनौँ । खोप खोलेको ६ घण्टाभित्र प्रयोग गरिसक्नु पर्छ । यदि प्रयोग गर्न सकिएन भने खेर जान्छ । ९/१० जना मान्छे आएपछि मात्रै खोप खोलेर लगाइदिन्छौं । एकदुई मात्रा खोप रहेको खण्डमा पनि मान्छे खोजेर खोप दिन भनेका छौँ । त्यसैले खोप खेर जाने दर कम छ ।  नेपालमा १ प्रतिशतभन्दा कम खोप खेर गएको छ ।

पछिल्लो समय आएको भेरोसेल खोप एक भाइलमा एक मात्रा हुने भएकाले खेर जाँदैन । जोनसन एण्ड जोनसन खोपमा पनि भाइल अनुसार मान्छे जुटाएरमात्र खोप दिने गरेका छौँ । कहिलेकाहीँ खोप दिँदा भाइल खाली हुने, भाइलहरु फुट्ने, खोप तान्दा सिरिन्जहरु बिग्रिने हुँदा त्यो खोपको यताउता हुन सक्छ । अपवादमा खोपको भाइल अन्तिममा बाँकी रहन पनि सक्छ । यसरी सामान्य रुपमा मात्रै खोप खेर गएको छ ।

कोभिडविरुद्धको खोप खेर जाँदैन भनिरहँदा काठमाडौं उपत्यकासँगै ग्रामीण भेगमा सोर्सफोर्स र स्वास्थ्यकर्मीकै मनोमानीमा प्राथमिकतामा नपरेकालाई जथाभावी खोप वितरण गरेको पाइएको छ । प्राथमिकतामा नपरेकालाई खोप दिँदा किन कारवाही हुँदैन ?

कसरी खोप व्यवस्थित गर्ने भनेर कोभिड १९ को राष्ट्रिय खोप कार्यक्रम कार्यान्वयन योजना छ । त्यसको आधारमा प्राथमिकता तोकेका छौँ । खोप प्राप्तिका आधारमा प्राथमिकता निर्धारण गरेर खोप दिइरहेका छौँ । पहिलो प्राथमिकतामा फ्रन्टलाइनर थिए । दोस्रो प्राथमिकतामा ६५ वर्षभन्दा माथि, तेस्रोमा १८ वर्षभन्दा माथि ५४ वर्षभन्दा तलकालाई प्राथमिकतामा राखेका छौँ । कहिलेकाहीँ विशेष निर्णय गरेर खोप दिएका छौँ । जस्तै, अक्सिजन उत्पादक कम्पनीमा काम गर्नेहरुलाई, जेलभित्र बस्ने, फरक क्षमता भएका व्यक्तिलाई खोप दिने निर्णय गरेका छौँ । खोप केन्द्रबाट प्रदेश, जिल्ला, नगरपालिका, गाउँपालिका, वडाको खोप केन्द्रमा खोप पुग्छ । कतैकतै त्यहाँको स्थानीय वातावरणले गर्दा समस्या सिर्जना हुन्छ । जस्तै, हाम्रा स्वास्थ्यकर्मीलाई दबाब दिने, यो समूह वा यो वर्गलाई खोप लगाइदिनै पर्छ भनेर राजनीतिक नेतृत्व तथा समाजका प्रतिष्ठित व्यक्तिले नै दबाब दिएको सुनेका छौँ । यस्तै, तोकिएको उमेर समूहभन्दा बाहिर गएर खोप दिएको पनि देखिएको छ । हामीले संघले बनाएको मापदण्डलाई उल्लंघन नगर्न अनुरोध गरेका छौँ । कतै मापदण्डलाई उल्लंघन गरेको पाइएको छ । हामी सेवा प्रदायक हौँ त्यसैले पनि हामीले कसैलाई कारवाही गर्न मिल्दैन ।

क्यूआर कोड प्राप्तिको लागि दैनिक हजारभन्दा बढीले निवेदन दिने तर, दैनिक एक सय जनाले पाउने अवस्था देखिएको छ, क्यूआर कोड लिनेहरुको भिडले संक्रमणको जोखिम झन् बढाएको होइन र ?

सुरुमा कोरोनाविरुद्धको खोप दिँदा अनलाइन सिस्टममा जान सकेनौँ । देशभर एकैपटक सम्भव पनि थिएन । कहीँ विद्युत थिएन भने कहीँ नेटवर्क पनि थिएन, कहीँ सिप थिएन । त्यसैले देशभर रजिष्टरमा रेकर्ड राखेर व्यवस्थित बनायौँ । पछिल्लो समयमा खोप लगाउनुभन्दा अगाडि अनलाइन फारम भर्ने, लगाइसकेपछि रजिष्टरमा भएको रेकर्डलाई अनलाइनमा भर्ने सिस्टम अगाडि बढाएका छौँ । खोप लगाइसकेपछि हामीले खोप कार्ड दिएका छौँ । कतिपय देशले खोप कार्ड स्वीकार नगरेका कारण खोप लगाएका र खोप कार्ड पाएकाहरुलाई अनलाइनमा रेकर्ड राखेर क्यूआर कोड दिने निर्णय भएको छ । अहिले त्यसलाई व्यवस्थित गरेका छौँ । हालसम्म १७ हजार जनाले क्यूआर कोडका लागि अनलाइनमार्फत फारम भरेका छन् । ४ हजार जनाले क्यूआर कोड पाएका छन् । क्यूआर कोडका लागि ठूलो टीम नै लागि परेको छ । क्यूआर कोडको समस्या धेरै दिन रहँदैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

माया श्रेष्ठ
माया श्रेष्ठ

श्रेष्ठ राताेपाटीका लागि समसामयिक विषयमा रिपाेर्टिङ गर्छिन् ।

लेखकबाट थप