शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

‘ट्वीटरको खतरनाक खेल’ : ह्यान्डल ब्लक गरेको भन्दै राहुल गान्धी रुष्ट

शुक्रबार, २९ साउन २०७८, १२ : २४
शुक्रबार, २९ साउन २०७८

राहुल गान्धीले आफ्नो ट्वीटर अकाउन्ट ब्लक गरेकोमा आक्रोश व्यक्त गर्दै एक भिडियो जारी गरेका छन् । ‘ट्वीटरको खतरनाक खेल’ नाम दिइएको भिडियोमा राहुलले भनेका छन्, ‘मेरो ट्वीटर अकाउन्ट बन्द गरेर राजनीतिक प्रक्रियामा हस्तक्षेप गरिएको छ । एउटा कम्पनीले हाम्रो राजनीतिलाई परिभाषित गर्नेलाई व्यवसाय बनाइरहेको छ । एक राजनीतिज्ञको रूपमा म यसलाई मन पराउँदिनँ ।’

‘यो देशको लोकतन्त्रमा हमला हो । यो मात्र राहुल गान्धीमाथि हमला होइन । मेरा १.९ देखि २० करोड फलोअर्स छन् । तपाईं उनीहरूबाट मेरो विचार जान्ने अधिकार खोस्नुहुँदैछ । ट्वीटर एक न्युट्रल पोर्टल हो भन्ने कुरालाई यो कुराले गलत ठहराइरहेको छ । यो खतरनाक हो । हाम्रो लोकतन्त्रमा हमला भइरहेको छ । ट्वीटर भेदभाव गर्ने प्लेटफर्म भएको छ ।’

ट्वीटरले गत शनिबार राहुल गान्धीको ह्यान्डल ब्लक गरेको थियो । राहुलले दिल्लीमा बलात्कार पीडित बालिकाको आमाबाबुको तस्बिर सेयर गरेका थिए । यसलाई ट्वीटरले आफ्नो नियमको उल्लङ्घन भएको बताएको छ ।

राष्ट्रिय बाल अधिकारी संरक्षण आयोगले राहुलको ट्वीटलाई लिएर दिल्ली प्रहरी र ट्वीटरमा उजुरी गरेको थियो । पीडित बालिकाको परिवारको तस्बिर सेयर गरेकोमा राहुलमाथि कारबाहीको माग गरिएको छ ।

काँग्रेसका अनुसार राहुल गान्धी मात्र नभएर पार्टीका थप पाँच शीर्ष नेताहरूको समेत ट्वीटर अकाउन्ट ब्लक गरिएको छ । यसमा पार्टी महासचिव अजय माकन, लोकसभामा पार्टीका ह्वीप मणिकर टैगोर, असम प्रभारी, पूर्वमन्त्री जितेन्द्र सिंह र महिला काँग्रेस अध्यक्ष सुस्मिता देव रहेका छन् । ट्वीटरले पार्टीको आधिकारिक ट्वीटर ह्यान्डल पनि लक गरेको आरोप छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप