शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

मास्क र सेनिटाइजर प्रयोग गर्दा ध्यान दिनुपर्ने कुरा (भिडियोसहित)

​छालामा आउन सक्छ यस्तो समस्या
शनिबार, ३० साउन २०७८, १० : ०९
शनिबार, ३० साउन २०७८


काठमाडौं । कोरोनाभाइरस (कोभिड—१९) महामारीबाट जोगिनका लागि मुख्य हतियार भनेकै मास्क र सेनिटाइजर हो । संक्रमणबाट जोगिनका लागि अनिवार्य रुपमा मास्क लगाउने गरिन्छ । साथै, साबुनपानीले हात सफा गर्न सम्भव नभएमा सेनिटाइजर प्रयोग गर्ने गरिन्छ ।

कोरोना संक्रमणबाट जोगाउन मद्दत गर्ने यिनै मास्क र सेनिटाइजरको नियमित प्रयोगले बेफाइदासमेत हुने अर्थात् छालामा केही समस्यासमेत देखापर्ने स्वास्थ्यकर्मी बताउँछन् ।

लामो समयसम्म मास्क प्रयोग गर्दा अनुहारमा विभिन्न किसिमका समस्या देखिने गरेको छाला तथा कपाल रोग विशेषज्ञ डा. स्मृति श्रेष्ठ बताउँछिन् । लामो समयसम्म मास्क लगाउँदा गाला, ओठ, नाक, चिउँडोबाट चिल्लो पदार्थ धेरै निस्कने, डन्डीफोर आउने, चिलाउने, पोल्ने आदि समस्या देखिने गरेको उनको भनाइ छ ।

डा. श्रेष्ठका अनुसार लामो समयसम्म मास्कको प्रयोग गर्दा छालामा जलन हुने र बढी सुक्खा हुने वा बढी चिल्लो आउने गर्छ । त्यसपछि क्रमशः अनुहारमा डन्डीफोर आउने, चिल्लो पदार्थ आउने, चिलाउने, पोल्ने जस्ता समस्या देखिने उनले बताइन् ।

कोरोना महामारीको वर्तमान समयमा अनिवार्य रुपमा मास्कको प्रयोग गर्नुपर्छ । तर, छालालाई इरिटेट गर्नेे जस्तोसुकै मास्क प्रयोग गर्न नहुने उनले बताइन् । छालालाई इरिटेट बनाउने मास्क लामो समयसम्म लगाउँदा मास्क लगाएको भागमा समस्या देखिन सक्ने उनको भनाइ छ ।

कस्तो मास्क प्रयोग गर्ने ?

लामो समयसम्म मास्क लगाउँदा मास्कले छोपेको ठाउँ इरिटेड हुने भएकाले छालालाई इरिटेट हुनबाट जोगाउनका लागि कपडाको मास्क प्रयोग गर्न उनले सुझाव दिइन् । खासगरी कटन, सिल्कको कपडाको मास्क प्रयोग गर्न उत्तम हुने उनले बताइन् ।

जुनसुकै खालको मास्क प्रयोग गरे पनि कम्तीमा ३/४ घण्टामा खोलेर ब्रेक दिनुपर्ने उनको सुझाव छ । उनका अनुसार भिडभाड, हुल नभएको खण्डमा वा आफु नजिकै सम्पर्कमा कोही छैन भने सम्भव भएसम्म मास्क लगाएको ३/४ घण्टामा कम्तीमा १० मिनेट जति मास्क खोलेर बस्नु उत्तम हुने उनले बताइन् ।

उनका अनुसार यसरी बेलाबेलामा मास्क खोल्दा छाला इरिटेट हुँदैन । अमेरिकी ड्रामालोटोजीको गाइडलाइनले पनि तीनदेखि चार घण्टाको बीचमा सम्भव भएसम्म १० मिनेट जति मास्क खोल्नुपर्ने जनाएको उनले सुनाइन् ।

मास्क लगाउँदा सहज भएको छैन, छाला इरिटेट भएको छ भने पुनः त्यही मास्क नलगाउन पनि उनले सुझाव दिइन् । मास्क लगाउँदा धेरै चिल्लो पदार्थ आउने साथै पसिना पनि आउँछ भने मास्कले ढाक्ने क्षेत्रमा रेटिनो क्रिम प्रयोग गर्न सकिने उनको भनाइ छ ।

डा. श्रेष्ठका अनुसार मास्क लगाउँदा धेरै पसिना आएमा हल्का टिस्यु पेपरले पुछेर मास्क लगाउन सकिन्छ । घरमा पुगेपछि मास्कले गर्दा चिपिक्क भएको भागलाई हल्का चिल्लो पानीजन्य पदार्थ अर्थात् क्रिमले पहिला सफा गर्ने, त्यसपछि मुख सफा गर्न उनको सुझाव छ ।

मास्क प्रयोग गर्नुभन्दा पहिला अनिवार्य रुपमा मोस्चराइजर प्रयोग गर्ने तर अनुहारको छालाको प्रकार अनुसारमात्र मोस्चराइजर प्रयोग गर्नुपर्ने उनले बताइन् । यी विधि प्रयोग गर्दा पनि अनुहारमा डन्डीफोर, बढी चिल्लो पदार्थ आउने, चिलाउने, पोल्ने क्रम कम भएन भने छाला रोग विशेषज्ञसँग सल्लाह लिन उनको सुझाव छ ।

सेनिटाइजर प्रयोग गर्दा कस्तो समस्या आउँछ ?

कोरोना महामारीमा सेनिटाइजरको प्रयोग गर्नेको संख्या पनि निकै छ । महामारीभन्दा अघि प्रायः मेडिकल क्षेत्रका स्वास्थ्यकर्मीले मात्र सेनिटाइजर प्रयोग गर्ने गरेको उनले सुनाइन् ।

सेनिटाइजरको प्रयोग गर्दा हातको छाला जाने समस्या नौलो नभएको उनको भनाइ छ । समय समयमा साबुनपानीले हात सफा गर्ने अवस्था नभएको खण्डमा आवश्यकताको आधारमा मात्रै सेनिटाइजरको प्रयोग गर्नुपर्ने उनले बताइन् । ह्यान्ड सेनिटाइजरमा अल्कोहल हुने भएकाले छालाको पहिलो सतह फाल्ने गर्छ । जसले गर्दा छाला नाङ्गो जस्तो हुने डा. श्रेष्ठको भनाइ छ ।

सेनिटाइजर प्रयोग गर्नुभन्दा पहिला हातमा सामान्य पातलो खालको मोस्चराइजर लगाएरमात्र सेनिटाइजर दल्न उनले सुझाव दिइन् ।

पहिला सामान्य पातलो खालको मोस्चराइजर लगाएर सेनिटाइजर हातमा दल्ने बित्तिकै हल्का चिसो सेनिटाइजर हुँदै चिल्लो खालको भ्यासलिन लगाउँदा हातको छाला जानबाट जोगाउन सकिने उनको भनाइ छ । कतिपय व्यक्तिमा सेनिटाइजरको प्रयोगले हातको छालाको माथिल्लो भाग जाँदा एक्जिमा र एलर्जी हुने उनको भनाइ छ ।

उनका अनुसार त्यस्तो अवस्थामा पहिला भ्यासलिन त्यसपछि मोस्चराइजर प्रयोग गर्ने गर्नुपर्छ । तर, जति चिलाए पनि कन्याउन नहुने उनले बताइन् । तर, सेनिटाइजर लगाएको ठाउँमा धेरै चिलाउने अथवा हातबाट पानी नै निस्किएको अवस्थामा विशेषज्ञको सल्लाह लिन आवश्यक पर्ने उनको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

माया श्रेष्ठ
माया श्रेष्ठ

श्रेष्ठ राताेपाटीका लागि समसामयिक विषयमा रिपाेर्टिङ गर्छिन् ।

लेखकबाट थप