शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

नेपालको बैङ्क ठगेको पैसाले पोर्चुगलमा सम्मानित व्यापारी !

नक्कली बिलबुक बनाएर देव: विकास बैङ्कबाट यसरी ठगिएको थियो २ करोड
शनिबार, ३० साउन २०७८, ११ : २६
शनिबार, ३० साउन २०७८

काभ्रेपलाञ्चोक जिल्ला साबिकको सापिङ गाविस ४ र हालको भुम्लु गाउँपालिका १ का केदार ढुङ्गाना खासमा यातायात व्यवस्था कार्यालय एकान्तकुनामा लेखापढीको काम गर्थे । सेवाग्राहीको काममा सहजीकरण गरिदिने उनलाई यातायातका ‘दले दाइ’ भनेर चिनिन्थ्यो ।

लामो समय यातायात व्यवस्था कार्यालय एकान्तकुनामा काम गरेका ढुङ्गानालाई नचिन्ने मान्छे कमै थिए । गाडीसम्बन्धी सबैजसो काम उनै ढुङ्गानाले पूरा गरिदिन्थे । ढुङ्गानाले एउटा रिकण्डिसन शो रुम पनि चलाएका थिए भने कोटेश्वरमा कार्यालय पनि खोलेका थिए । उनको आम्दानी ठिकै थियो ।

तर, ढुङ्गानालाई जसरी हो, पैसा कमाउनु थियो । त्यही हुटहुटीले गर्दा ढुङ्गानाले बैङ्कलाई नै ठगेर पैसा कमाउने योजना बनाए ।

आफू सवारीसाधन सम्बन्धी काम गर्ने भएकाले नक्कली सवारीसाधन खडा गर्ने, नक्कली कागजात बनाउने र त्यही देखाएर ऋण लिने योजना बनाए । त्यसपछि आफ्नै गाउँका विभिन्न व्यक्तिहरुलाई साथमा लिएर उनले बैङ्क ठग्ने धन्दा सुरु गरे ।

उनको धन्दामा साथ दिन आफ्नै गाउँका नारायणबहादुर श्रेष्ठ तयार भए । ढुङ्गाना र श्रेष्ठ मिलेर नक्कली बिलबुक लगायतका कागजात बनाउने र बैङ्कमा पेस गरेर ऋण लिने काम सुरु गरे । यातायातको सबै कामको जिम्मा केदार ढुङ्गानाले लिए भने बैङ्कबाट ऋण निकाल्ने कामको जिम्मा नारायणबहादुर श्रेष्ठले गरे ।

नारायणबहादुर श्रेष्ठका दुईवटा ठूला कन्टेनर थिए, जुन तातोपानी, काठमाडौँ र खासासम्म पुग्थ्यो । तत्कालीन समयमा कन्टेनरको कमाइ अत्यधिक थियो । कन्टेनर भएपछि बैङ्कहरूले पनि सजिलै पैसा दिन्थे ।

श्रेष्ठ त्यतिबेला पनि तत्कालीन एनडीईपी डेभलपमेण्ट बैङ्कका ‘असली ऋणी’ थिए । सोही आधारमा बैङ्कले श्रेष्ठलाई विश्वास गर्थ्यो भने यातायात कार्यालयले ढुङ्गानालाई राम्रैसँग चिनेको थियो । त्यसपछि सुरु भयो ढुङ्गाना र श्रेष्ठको बैङ्क ठग्ने योजनाको शृङ्खला ।

पहिलो चरणमा ढुङ्गाना र श्रेष्ठ मिलेर विभिन्न ट्याक्सी र भाडाका जिपहरू देखाएर बैङ्कबाट ऋण लिने योजना बनाए । उनीहरूले ऋण लिनका लागि गाउँकै एक व्यक्तिलाई छाने । नक्कली कागजात बनाएर बिना धितो ऋण लिने र ३ जनाले बराबर भाग लगाउने भनेपछि गाउँकै कृष्णबहादुर खत्री पनि उनीहरूको योजनामा सामेल भए । 

पहिलो चरणमा ढुङ्गानाले खत्रीको नाममा बा ११ च १३४६ नम्बरको कारको नक्कली बिलबुक र कागजात बनाए । अनि त्यही कार देखाएर ऋण माग्न तत्कालीन इनडीइपी डेभलपमेण्ट बैङ्क (हालको देव विकास बैङ्क) मा पुगे ।

बैङ्कमा कुरा गर्ने र सबै व्यवस्था मिलाउने काम नारायणबहादुर श्रेष्ठले गरे । उनीहरूले २०७१ साल मङ्सिर १८ गते यातायात व्यवस्था कार्यालय एकान्तकुनाको नक्कली कागजातसमेत पेस गरी सवारीधनीको नाम एनडीइपी डेभलपमेण्ट बैङ्कसमेत बनाउन भ्याए र बैङ्कबाट १५ लाख ऋण लिन सफल भए ।

बैङ्कबाट प्राप्त भएको १५ लाख ऋण केदार ढुङ्गाना, नारायणबहादुर श्रेष्ठ र कृष्ण बहादुर खत्रीले ५–५ लाखका दरले भाग लगाए ।

त्यसपछि पनि कृष्णबहादुर खत्रीको नाममा बा १ ज ८२४४, बा १ ज ९४० नम्बरको भाडाको ट्याक्सी तथा उनकी श्रीमती सावित्री खत्रीका नाममा पनि केही सवारी साधन रहेको देखाइएको छ । त्यसपछि पनि बा १ ज ४५५६, बा १ ज ४५१, बा १ ज १३०७, बा १ ज १३३० लगायतका कारहरू खत्रीको नाममा देखाएर लाखौँ रकम ऋण लिइएको छ ।

नक्कली कागजात बनाउने, नक्कली धनी बनाउनेदेखि अन्य सबै काम केदार र नारायणले गरेका थिए भने उनीहरूलाई साथ दिने र फाइदा लिने क्रममा कृष्ण खत्रीले साथ दिएका थिए ।

खत्रीको नाममा धेरै ऋण र सवारी साधन देखिएपछि बैङ्कले खत्रीको नाममा ऋण दिन अस्वीकार गर्न थाल्यो । त्यसपछि गाउँकै अन्य मानिसलाई पनि ऋणी बनाएर नक्कली कागजातकै आधारमा उनीहरूले ऋण लिन छाडेनन् ।

जब २०७२ सालमा भूकम्प गयो र त्यसको लगत्तै नाकाबन्दी भयो, त्यसपछि नारायणबहादुर श्रेष्ठलाई पनि आर्थिक सङ्कट पर्न थाल्यो । खासमा श्रेष्ठका तातोपानी नाका हुँदै सामान ओसारपसार गर्ने दुईवटा कन्टेनर २०७२ सालको भूकम्पले ध्वस्त बनाइदियो । दुईवटा कन्टेनरमध्ये एउटा कन्टेनर अहिलेसम्म भेटिएको छैन भने एउटा कन्टेनर तत्कालीन समयमै १५ लाखभन्दा बढी खर्च गरेर बनाउनु परेको थियो ।

भूकम्पपछि तातोपानी नाका पूर्णरुपले बन्द भयो र सडक यातायात पनि अवरुद्ध भएपछि त्यो नाका भएर सवारी साधन पनि चल्न सकेनन् । जसका कारण बैङ्कबाट ऋण लिएर कन्टेनर किनेका श्रेष्ठले बैङ्कको ब्याज र किस्तासमेत तिर्न सकेका थिएनन् । ठगी गरेर लिएको पैसा पनि सकिँदै थियो ।

त्यसपछि नारायण श्रेष्ठले आफ्नै नामबाट पनि ऋण लिने योजना बनाए । केदारले एउटा महिन्द्राको स्करपियो गाडी केही समयलाई भाडामा लिए । त्यस जिपमा नक्कली नम्बर प्लेट टाँस गरे । गाडीको नम्बर प्लेट बा १३ च २७१३ राखे । यातायात व्यवस्था कार्यालयबाट नक्कली बिलबुक बनाए । अनि उक्त बिलबुक पनि बैङ्कमा पेस गरे र ऋणका लागि निवेदन दिए । ऋण लिनका लागि चाहिँ तत्कालीन समयसम्म ‘असल ऋणी’ रहेका नारायणबहादुर श्रेष्ठका नामबाट लिने गरी गाडीको धनीमा पनि श्रेष्ठकै नाम राखियो ।

कागजात सबै उपलब्ध गराएपछि बैङ्कले खटाएको मूल्याङ्कनकर्ताबाट उनीहरूले गाडीको मूल्याङ्कन गराए । बिलबुकमा भएको सवारी नम्बर, इञ्जिन तथा च्यासिस नम्बर आदि सबै मिलेपछि भ्यालुएटरले पनि दिन सकिने ऋणको सीमा तोकेर मूल्याङ्कन गरिदिए ।

बैङ्कले ऋण दिनका लागि सवारीसाधन आफ्नो नाममा ल्याउनुपर्दथ्यो । त्यही प्रयोजनका लागि बैङ्कले आफ्नै कर्मचारी मैया भुजेललाई यातायात कार्यालयमा पठायो ।

तर, मैया यातायात कार्यालयमै पुगिनन् । सबै काम केदारले मिलाउने र केही पैसा पनि दिने भनेपछि मैयाले पनि यातायात कार्यालय नगई फाइलको जिम्मा केदारलाई दिन थालिन् । केदारले यातायात कार्यालयको नाममा नक्कली कागजात, नक्कली बिलबुक, छाप, नामसारी आदि सबै गरिदिने भए । दुःखै नगरी कार्यालयको जागिर पनि पाक्ने र पैसा पनि पाउने भएपछि मैयालाई हाइसञ्चो हुने नै भयो ।

यता केदारले मैयालाई यातायात कार्यालय जान रोकेर आफैँ सबै काम गराए र नक्कली कागजात खडा गरे । र, त्यही कागजातका आधारमा बैङ्कले ‘क्रस भेरिफाई’ नगरी ढुङ्गानाको गिरोहलाई ऋण दिइरह्यो ।

ढुङ्गानाको गिरोहलाई बैङ्कले विभिन्न पटक गरी करिब २ करोड रुपैयाँ ऋण दिएको थियो । सुरु–सुरुमा उनीहरूले ऋणको किस्ता पनि तिरे र असल ऋणीजस्तो व्यवहार देखाइरहे ।

२०७१ सालको एनडीइपी विकास बैङ्क पनि मर्ज भएर २०७२ असारमा देव विकास बैङ्क बनिसकेको थियो । देव विकास बैङ्ककै नामबाट पनि यो समूहले नक्कली बिलबुक र कागजातको आधारमा ऋण निकालेका थिए ।

तर, नियतमै खोट रहेका ढुङ्गाना र श्रेष्ठले २०७४ सालपछि भने ऋण तिर्नै छाडे । पटक–पटक ताकेता गर्दा पनि ऋण तिर्न नआएपछि बैङ्कले सवारी साधन जफत र लिलाम प्रक्रियाका लागि यातायात व्यवस्था कार्यालय र प्रहरीलाई पत्र लेख्यो ।

जब देव विकास बैङ्कले आफ्नो नाममा रहेको सवारीसाधनको विवरण र जफत प्रक्रियाका लागि प्रहरीलाई पत्र काट्यो, तब बैङ्क ठगीको भेद खुल्यो । बैङ्कले आफ्नो नाममा रहेको भनिएको सवारीसाधन त अन्य व्यक्तिहरूका नाममा पो दर्ता भएको भेटियो । न यातायातको ढड्डामा बैङ्कको नाम थियो, न धनी भनिएका व्यक्तिहरू नै सही थिए ।

नक्कली कागजात बनाएर ठगी गरेको थाहा पाए लगत्तै बैङ्कले राष्ट्र बैङ्कलाई जानकारी गराउँदै केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) मा छानबिनका लागि आग्रह ग¥यो ।

सीआईबीले लामो अनुसन्धान गर्दै २०७५ सालमा तत्कालीन एनडीइपी डेभलपमेण्ट बैङ्क र देव विकास बैङ्क ठगी प्रकरणमा काभ्रेको भुम्लु गाउँपालिका वडा नं १ का नारायणबहादुर श्रेष्ठ, सोही वडाका सदस्यसमेत रहेका बालकृष्ण श्रेष्ठ, चेतबहादुर श्रेष्ठ, विकास श्रेष्ठ, नवीन श्रेष्ठ र काभ्रेकै चौबास–४ घर भएका कृष्णबहादुर खत्रीलाई पक्राउ ग¥यो ।

त्यस्तै पर्साको वीरगञ्ज घर भई ललितपुरको ज्वागल बस्ने नरेशमान सिंह (बैङ्कका भ्यालुएटर) र काठमाडौँ महानगरपालिका–२३ सरिनशंकर श्रेष्ठ (देव विकास बैङ्कका तत्कालीन ब्राञ्च म्यानेजर) लाई पनि प्रहरीले पक्राउ गर्‍यो ।

घटनाको मुख्य योजनाकार मानिएका केदार ढुङ्गाना भने फरार भइसकेका थिए ।

त्यसपछि उनीहरुविरुद्ध २ करोड रुपैयाँभन्दा बढी ठगी गरेको, सरकारी कागजात किर्ते गरेको लगायतमा जिल्ला अदालत काठमाडौँ, ललितपुर जिल्ला अदालत र उच्च अदालत पाटनमा समेत विभिन्न मुद्दाहरू परे ।

सीआईबीले नै उनीहरुविरुद्ध विभिन्न अदालतमा मुद्दा दायर गरेको थियो । सीआईबीले दायर गरेको मुद्दामा एकाध व्यक्तिलाई सफाइ दिइए पनि अधिकांशलाई दोषी ठहर गरिएको र फरार रहेका अभियुक्त केदार ढुङ्गानालाई पनि दोषी करार गरिएको छ ।

उनीहरूमध्ये केही जेल सजाय काटेर जरिवाना बापतको रकम तिरी रिहा पनि भएका छन् भने केही अझै पनि जेलमा सजाय काटिरहेका छन् । उक्त मुद्दामा १२ जनालाई प्रतिवादी बनाइएको थियो ।

नेपालमा ठगेको पैसा पोर्चुगल लगेर व्यापारमा !

मुख्य योजनाकार एक पात्र अर्थात् केदार ढुङ्गाना, जो यतिबेला युरोपमा छन् र बिजनेस गरेर बसिरहेका छन् । उनलाई भने अझैसम्म पक्राउ गर्न सकिएको छैन । केदार ढुङ्गानासहित अन्य १२ जनाको नाममा काठमाडौँ जिल्ला अदालतमा ५ थान, ललितपुर जिल्ला अदालतमा १० थान लिखत सम्बन्धी कसुर र उच्च अदालत पाटनमा १६ वटा बैङ्किङ कसुरसम्बन्धी मुद्दा परेका थिए । यी सबै मुद्दा देव विकास बैङ्कको तर्फबाट दायर भएका थिए ।

नेपालमा उनीहरूको खोजी हुने बित्तिकै ढुङ्गाना भने युरोप हानिए । बिजनेस भिसामा ढुङ्गाना पोर्चुगल पुगे र त्यहाँ पुगेर व्यापार गर्न थाले । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले ढुङ्गानाको खोजी र पक्राउका लागि पटक–पटक प्रयास गरेको भए पनि त्यो सफल भएको देखिँदैन ।

सीआईबीले ढुङ्गाना रहेको स्थानबारे जानकारी पाए लगत्तै इन्टरपोलमार्फत डिफ्युजन नोटिस र रेड कर्नर नोटिससमेत जारी गरिसकेको सिआईबीका डिआइजी धिरजप्रताप सिंहले बताए ।

धिरजप्रताप सिंह, डिआइजी, केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी)

डीआइजी सिंहका अनुसार २०७५ साल पुस ९ गते ढुङ्गानाविरुद्ध इन्टरपोलमार्फत् डिफ्युजन नोटिस जारी गरिएको छ भने २०७८ साल वैशाख १७ गते रेड कर्नर नोटिससमेत जारी गरिएको छ । अन्तर्राष्ट्रिय प्रहरी संगठन इन्टरपोलको एनसिबी शाखामार्फत् पोर्चुगल प्रहरीलाई ढुङ्गानाबारे जानकारी दिई पक्राउ गरी नेपाल पठाइदिन आग्रह गरिएको डीआईजी सिंह बताउँछन् ।

तर, पनि नेपाल र पोर्चुगलबीच सुपुर्दगी सन्धी नभएको कारण नेपालमा अपराध गरी बाहिर रहेकाहरूलाई नेपाल ल्याउन कानुनी समस्या रहेको डीआईजी सिंहको भनाइ छ । यद्यपि इन्टरपोलमार्फत् केही काम भइरहेको र बाहिर देशमा रहेका केही अभियुक्त र अपराधीलाई नेपाल ल्याउने काममा मिहिनेत गरिरहेको सिंहले बताए ।

वित्तीय अपराधमा संलग्नलाई धमाधम समाउँदै सीआईबी

डीआईजी सिंहका अनुसार नेपालमै वित्तीय अपराध गरेर यहीँ लुकिछिपी बसेका र नेपालमा अपराध गरी अर्को देशमा पुगेकाहरूलाई पनि नेपाल ल्याउन सीआईबीले काम गरिरहेको छ ।

अहिले अन्य अपराध भन्दा पनि वित्तीय अपराध गर्नेहरू बढिरहेको र उनीहरूलाई पक्राउ गरी जरिवाना तिराउने र सजाय भुक्तान गराउने सम्बन्धमा सीआईबीले काम गरिरहेको बताए । वित्तीय अपराधमा संलग्न रहेका दैनिक २÷३ जना व्यक्ति पक्राउ गरी फैसला कार्यान्वयनका लागि पेस गरिरहेको भन्दै चाँडै नै ठूला वित्तीय अपराधका अपराधी पनि पक्राउ पर्ने सिंहले बताए ।

सिंहले भने, ‘हो अहिले ठूला वित्तीय अपराध गर्ने धेरै मानिसहरू देशभन्दा बाहिर नै रहेका छन्, उनीहरूलाई नेपाल ल्याउन धेरै कठिन छ । तर, पनि हामीले इन्टरपोलमार्फत् उनीहरूलाई नेपाल ल्याउने कोसिस गरिरहेका छौँ । केही दिनमै एक ठूला वित्तीय अपराधी पक्राउ परेको सूचना पाउनुहुनेछ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

मदन ढुङ्गाना
मदन ढुङ्गाना
लेखकबाट थप