शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

डिजिटल नेपालको परिकल्पना गरेर विद्यार्थीहरूले जिते १ लाख बढीको पुरस्कार

शनिबार, ३० साउन २०७८, १४ : ४६
शनिबार, ३० साउन २०७८

लिभिङ आइसिटीले आयोजना गरेको माई सेकेन्ड टिचर ‘मेरो डिजिटल नेपाल, मेरो परिकल्पना’ प्रतियोगिताका विजेताहरूको घोषणा गरिएको छ । 

शुक्रबार सोल्टी होटलमा आयोजना भएको विशेष कार्यक्रममा विजेताहरूलाई पुरस्कार प्रदान गरिएको छ । प्रतियोगिताको प्रथम पुरस्कार सेन्ट जेभियर्स कलेज, माइतीघरमा १२ कक्षामा अध्ययनरत नेहा गिरीले हात पारेकी छन् ।

उनले ‘मेरो डिजिटल नपाल, मेरो परिकल्पना’ शीर्षकको निबन्ध प्रतियोगिताको सर्वोकृष्ट रचना हुँदै एक लाख रुपैयाँ जितेकी हुन् ।

दोस्रो हुनेमा बंगलामुखी राधाकृष्ण थारु उच्च माध्यमिक विद्यालय गुलेरिया–६ बर्दियामा कक्षा १० मा अध्ययनरत प्रश्ना सुवेदी र रत्न राज्य माध्यमिक विद्यालय, बानेश्वरबाट यस वर्ष एसइई दिएका ऋदम भेटवाल रहेकी छन् ।

प्रश्नाले ‘पूरा होस् मेरो सपना : डिजिटल नेपालको’ शीर्षकमा कविता लेखेकी थिइन भने ऋदमले ‘मेरो सपनाको डिजिटल नेपाल’ निबन्ध लेखेकी थिइन । उनीहरूले जनही ५० हजार नगद पुरस्कार पाएका छन् ।

तेस्रो हुने चार जनामा मनकामना माध्यमिक विद्यालय बिर्तामोड, झापाबाट एसइई दिएका असिम डङ्गोल, त्रि–पद्म विद्याश्रम माध्यमिक विद्यालय पुलचोक, ललितपुरबाट एसईई दिएका अनिश श्रेष्ठ, बुढानिलकण्ठ स्कुल, काठमाडौँमा कक्षा १० मा अध्ययनरत उद्धव ठाकुर र बृहस्पति विद्यासदन, नक्साल काठमाडौँमा कक्षा ७ मा अध्ययनरत विशेष्ता चौधरी रहेका छन् ।

असिमले ‘डिजिटल नेपाल : एक अमुक सपना’ शीर्षकको कविता लेखेका थिए भने अनिषले ‘सुन्दर शान्त विशाल, मेरो परिकल्पनाको डिजिटल नेपाल’ शीर्षकको भिडियो प्रिजेन्टेशन बनाएका थिए । त्यस्तै, उद्धवले ‘वे टु डिजिटल नेपाल’ शीर्षकको निबन्ध र विशेषताले ‘माई डिजिटल नेपाल’ थिममा आर्ट गरेकी थिइन ।

तेर्सो हुने सबै जनाले जनही नगद २५ हजार रुपैयाँ प्राप्त गरेका छन् ।

त्यसैगरी, प्रतियोगितामा विद्यार्थीको एक समूहले ‘डिजिटल र समृद्ध नेपाल’ शीर्षकको फ्रेमवर्क तयार गरेका थिए । इभ्यालुएसन प्यानलले यस फ्रेमवर्कलाई विशेष सम्मान गर्ने निर्णय स्वरुप काठमाडौं मोडल सेकेन्डरी स्कुल, बागबजारका प्रशन्नकुमार रेग्मी, शशांक न्यौपाने, आर्या प्रसाईँ र अमिम सिंहलाई ‘स्पेसल मेन्सन पुरस्कार’बाट सम्मानित गरिएको छ । उनीहरूले ५१ हजार एक सय ५१ रुपैयाँ राशीको विशेष पुरस्कार हात पारेका छन् । 

यसबाहेक विजेताले स्पोन्सर कम्पनीहरूबाट आकर्षक अफरहरु पनि प्राप्त गर्ने छन् । डिसहोमले सम्पूर्ण विजेतालाई एक वर्षको इन्टरनेट र शीर्ष प्रायोजक माई सेकेण्ड टिचरले विशेष गिफ्ट प्रदान गरेको छ ।

नेपालमै पहिलो पटक सूचना तथा सञ्चार प्रविधिका विषयमा नयाँ पुस्तालाई जागरूक गर्ने उद्देश्यले ‘मेरो डिजिटल नेपाल, मेरो परिकल्पना’ शीर्षकमा गत असार १ गतेदेखि असार ३१ गतेसम्म उक्त प्रतियोगितामा भाग लिन आह्वान गरिएको थियो ।

प्रतियोगितामा निबन्ध, कविता, लेख, चित्र, वक्‍तृत्व, भिडियो प्रिजेन्टेशन मार्फत ३५० बढीको सोच तथा परिकल्पना प्राप्त भएका थिए । 

प्रतियोगितामा सहभागी ३५० बढी परिकल्पनाबाट उत्कृष्ट छनोट गर्न ११ जनाको मूल्याङ्कन समिति बनाइएको थियो । मूल्याङ्कन समितिका सदस्यहरूले प्रत्येक रचनालाई मूल्याङ्कन गरेर सर्ट लिस्ट गरेका थिए । मूल्याङ्कन समितिको विभिन्न चरणको छनौट  प्रक्रियाबाट उत्कृष्ट ८ रचनालाई पुरस्कार वितरण गरिएको हो ।  

विजेतालाई राष्ट्रिय सभाका सदस्य तथा दिगो विकास तथा सुशासन समितिका सभापति तारादेवी भट्ट, प्रमुख सूचना आयुक्त महेन्द्रमान गुरुङ, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव डा. बैकुष्ठ अर्याल, शिक्षा तथा विज्ञान प्रविधि मन्त्रालयका सचिव सुरेश आचार्य, पूर्व मन्त्री गणेश शाहलगायतले पुरस्कार प्रदान गरेका थिए ।

विद्यार्थीका उत्कृष्ट रचना तथा सोच लिभिङ विथ आइसिटी म्यागजिन र आइसिटी समाचार डटकममा क्रमशः प्रकाशन गरिनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप