शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

निर्यातमुखी अर्थतन्त्र निर्माण गर्न निजी क्षेत्रको सहयोग आवश्यक छ : अर्थमन्त्री शर्मा

शनिबार, ३० साउन २०७८, १५ : ०१
शनिबार, ३० साउन २०७८

अर्थमन्त्री जनार्दन शर्माले उत्पादन केन्द्रित अर्थतन्त्र निर्माणको लागि गुणात्मक प्रयत्न गर्न निजी क्षेत्रलाई आग्रह गरेका छन् । नेपाल उद्योग वाणिज्य संघ काठमाडौंले शनिबार भर्चुअल रुपमा आयोजना गरेको दोस्रो वार्षिक साधारणसभालाई सम्बोधन गर्दै उनले उत्पादन बृद्धि गरेर आयात प्रतिस्थापन गर्नेतिर लाग्नुपर्नेमा जोड दिए । यसका लागि सामान्य प्रयत्‍नले नपुग्ने भन्दै मन्त्री शर्माले गुणात्मक प्रयत्न जरुरी रहेको बताए ।

निर्यातमुखी अर्थतन्त्र निर्माणका लागि उत्पादन बृद्धि गर्नु अपरिहार्य रहेको भन्दै उनले यसमा निजी क्षेत्रको सहयोग को आवश्यकता औंल्याए । कोभिड १९ संकटको बेला निजी क्षेत्रले राहत महशुस गर्ने गरी सरकारले पाइला चाल्ने जानकारी गराउँदै उनले भर्खरै सार्वजनिक मौद्रिक नीतिमार्फत यसलाई सम्बोधन गर्ने प्रयास गरिएको बताए ।

राष्ट्रलाई आत्मनिर्भर बनाउने अभियानमा लाग्नको लागि निजी क्षेत्रले के कस्तो नीतिगत सुधार चाहन्छ त्यसका लागि सरकार तयार रहेको मन्त्री शर्माको भनाइ छ । उनले अनौपचारिक अर्थतन्त्रलाई औपचारिक अर्थतन्त्रको दायरामा ल्याउन समेत निजी क्षेत्रको सहयोग रहने अपेक्षा गरे । राष्ट्रिय सम्पत्ति कति हो भन्ने कुरा मूल्याङ्कन गरेर वैदेशिक लगानीको लागि समेत उपयुक्त वातावरण निर्माण गर्ने र राष्ट्रको समग्र पुँजी निर्माण गर्नतिर लाग्नुपर्नेमा समेत मन्त्री शर्माको जोड छ । 

भर्चुअल सभामा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले सरकारले सार्वजनिक गरेको मौद्रिक नीतिले कोभिडपछिको पुनरुत्थान तथा साना एवं मझौला उद्यमको विस्तारमा विशेष ध्यान दिएको भन्दै त्यो सकारात्मक भएको टिप्पणी गरे । उनले सरकारको राहत योजना विकसित मुलुकको जस्तो सिधै नगद दिने खालको नभएपनि सुधारमा सहयोगी रहेको बताए ।

उद्योग वाणिज्य महासंघले १० वर्षमा १५० अर्ब अमेरिकी डलर बराबरको पुँजी निर्माण हुने अपेक्षाका साथ ‘राष्ट्रिय आर्थिक रुपान्तरण २०३० (नेट  २०३०)’ नामक भिजन पेपर तयार पारेको जानकारी दिँदै अध्यक्ष गोल्छाले यसबाट थप २२ लाखलाई औपचारिक रोजगार बनाउने योजना रहेको बताए । यो लक्ष प्राप्तिको लागि १० प्राथमिकताका क्षेत्र र एक सय पहल पहिचान गरेको उनले जानकारी दिए । 

नेपाल उद्योग बाणिज्य संघ काठमाडौंका अध्यक्ष दिनेश श्रेष्ठले नवगठित सरकारले सम्पूर्ण नागरिकलाई कोभिड १९ विरुद्धको खोप उपलब्ध गराई अर्थतन्त्र जोगाउने संकल्प सहितको नीति लिएकोमा आभार व्यक्त गरे ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप