ad
प्रवास

लन्डनमा आमरण अनसन बसेका भूपू गोर्खाको मागप्रति बेलायत सरकार अझै मौन

person explore access_timeसाउन ३०, २०७८ chat_bubble_outline1

भूतपूर्व गोर्खाहरू समान पेन्सनलगायत माग राख्दै बेलायती प्रधानमन्त्री कार्यालय अगाडि आमरण अनसन बसेको शनिबार ८ औँ दिन प्रवेश गरेको छ । बेलायती सांसदहरू र विपक्षी दल लेबरको समेत दबाब हुँदा पनि गोर्खा मागबारे बेलायत सरकार अझै मौन छ । 


वर्षौँदेखि आफूहरूलाई विभेद गरिएकामा भूतपूर्व गोर्खा सैनिकहरू निकै आन्दोलित र आक्रोशित छन् । बेलायत सरकारले आफ्ना समस्या समाधानमा चासो नदिएको भन्दै १७ दिनको रिले अनसनपछि गत शनिबारदेखि गोर्खा सत्याग्रह संयुक्त सङ्घर्ष समितिका अभियान निर्देशक ज्ञानराज राई, सचिव धन गुरुङ र महिला अभियन्ता पुष्प राना घले आमरण अनसनमा छन् । समानताको लडाईंमा आफूहरू मर्न तयार रहेको जनाउँदै उनीहरू भोक हडताल छाड्ने मनस्थितिमा छैनन् यद्यपि उनीहरूको स्वास्थ्य अवस्था जटिल बन्दै गएको छ । 



सन् २०१८ मा नेपाल सरकार, ब्रिटिस सरकार, प्रमुख गोर्खा सङ्गठनका  प्रतिनिधिहरुबीच चरण चरणका वार्तापछि प्राविधिक समितिद्वारा बुझाइएको प्रतिवेदन कार्यान्वयन गर्न उनीहरूको आग्रह छ ।



बेलायती प्रधानमन्त्री कार्यालय सामुन्ने सडकमा रिले र आमरण अनसन सुरु गरेको झन्डै चार हप्ता पुग्न लाग्दा पनि सरकारको तर्फबाट कुनै प्रतिक्रिया आएको छैन । बरु उल्टै उनीहरू प्रहरी दमनको शिकार बन्न पुगे । उनीहरूले प्रयोग गर्दै आएको त्रिपाल हटाउन मंगलबार प्रहरीद्वारा गरिएको दमनमा झडप समेत हुँदा यसले सर्वत्र आलोचना भएको छ । सुरुमा प्रहरीले त्रिपाल हटाउन खोज्दा गोर्खाहरूले रोक्न खोजे पनि प्रहरी पछि हटेन । 



आमरण अनसनमा बस्नेमध्येका एक अभियन्ता ज्ञानराज राईले त्रिपाल हटाउँदै गरेका प्रहरी अधिकृतहरूलाई ’हामीले २ सय ७ वर्षदेखि तिमीहरूको देशका लागि लड्दै आएको बदलामा यही पुरस्कार दिएको हो ?’ भनी प्रश्न गरेका थिए ।  त्यस क्रममा प्रहरीले गोर्खाहरूको अनसन वा विरोधका कार्यक्रममाथि हस्तक्षेप गर्ने कुनै मनसाय नरहेको बताएका थिए । 



प्रहरी हस्तक्षेप र बल प्रयोगलाई सबैले मानवअधिकार विरोधी रहेको भन्दै कडा निन्दा गरेका छन् ।

आन्दोलनमा समर्थन

गोर्खा सत्याग्रह सङ्घर्ष समितिको आव्हानमा यसअघि पटक पटक गरिएका र्यालीमा ब्रिटेनस्थित शिख समुदाय लगायत अन्य विभिन्न भूपू ब्रिटिस सैनिकहरूले साथ र समर्थन दिँदै आएका छन् । अनसनका क्रममा बेलायतका विभिन्न राष्ट्रिय मिडियाहरूले समेत निकै चासोका साथ नियाल्दै आएका छन् । बेलायतको मुख्य विपक्षी दल लेबर पार्टीले भूतपूर्व गोर्खा सैनिकले गरिरहेको आन्दोलनमा ऐक्यबद्धता जनाएको छ भने संसद्मा समेत आवाज उठाएको छ । 

त्यस्तै यहाँका विभिन्न सांसदहरूले समेत आमरण स्थलमा गएर भेटघाट अनि ऐक्यबद्धता प्रकट गर्दै आएका छन् । 

ब्रिटिस संसद्को सर्वदलीय समितिका नेपाल अध्यक्ष सांसद वीरेन्द्र शर्मासहित सांसदहरू सीमा मल्होत्रा, नभेन्दु मिश्र, निक स्मिथ, अलान डोरान्स, डान जार्भिस, लर्ड बिलिमोरिया, लर्ड ढोलाकिया र लर्ड शेखले शुक्रबार प्रधानमन्त्री जोन्सनलाई संयुक्त पत्र लेख्दै गोर्खा समस्याको दीर्घकालीन समाधानमा जोड दिएका छन् ।

गैर आवासीय नेपाली सङ्घ यूके, नेपाल पत्रकार महासङ्घ बेलायत शाखा, प्रवासी नेपाली मञ्च यूके लगायत विभिन्न सङ्घसंस्थाले आन्दोलनमा आफ्नो ऐक्यबद्धता जनाइसकेका छन् । 

प्रवासी नेपाली मञ्च यूकेको अन्तर्राष्ट्रिय कमिटी अध्यक्ष समेत रहेका मञ्चका अध्यक्ष भक्त गुरुङको नेतृत्वमा उनीहरूले गोर्खा मागलाई सरकारी स्तरबाट कूटनीतिक पहल गर्न नेपाली राजदूतावास गई राजदूत लोकदर्शन रेग्मीलाई ज्ञापन–पत्र समेत बुझाए । 

एनआरएनए उपाध्यक्ष डा बद्री केसीले पनि बुधबार एक भिडियो सन्देशमार्फत गोर्खाहरूको रगत र बहादुरीले बेलायती साम्राज्य संसारभरि फैलिएको बताउँदै समान पेन्सन र अधिकारका लागि लडिरहेका भूपू गोर्खाहरूको आन्दोलनप्रति ऐक्यबद्धता जनाएका छन् । 

किन गरियो आन्दोलन ?

दुई शताब्दीदेखि बेलायतका लागि आफ्नो रगत पसिना बगाउँदै आएका गोर्खाहरूमाथि भएको विभेदविरुद्ध पटक पटक आन्दोलन गर्दै आए पनि कुनै वास्ता नभएको भन्दै अन्तिम विकल्पको रूपमा १७ दिने रिले अनसनपछि आमरण अनसन बसेका हुन् गोर्खा । भूतपूर्व गोर्खाले भन्दा बेलायतीले २ सय ९८ प्रतिशत बढी पेन्सन पाउँदै आएका छन् । गोर्खाहरूद्वारा पटक पटकका आन्दोलनपछि बेलायतले सन् १९९७ पछि भर्ना हुने गोर्खा सैनिकलाई बेलायतीसरह पेन्सन दिन थालेको हो । तर, त्यसअघि अवकाश पाएका झन्डै आठ हजार वृद्ध गोर्खाहरूमाथि अझै पनि व्यापक रूपमा विभेद गरिँदै आएको छ ।

 बेलायती रक्षा मन्त्रालय, भूपू गोर्खा सैनिक प्रतिनिधि र बेलायतस्थित तत्कालीन नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदीको संयोजनमा करिब १४ महिना लगाएर प्राविधिक समितिले तयार पारेको समस्या समाधानार्थ १३ बुँदे प्रतिवेदन गत २२ मार्च २०१८ मा नेपाल र बेलायत सरकारलाई औपचारिकरुपमा हस्तान्तरण गरिए पनि बेलायतले उक्त प्रतिवेदन कार्यान्वयनमा चासो नदेखाएको गोर्खाहरूको गुनासो छ । 

यसअघि नेपाल सरकारले समितिलाई पत्र पठाउँदै गोर्खा मुद्दा समाधानका लागि बेलायत सरकारसँग प्रत्यक्ष रूपमा वार्ता गर्न पहल गरिरहेको जानकारी दिएपछि समितिले जुलाई १ देखि गर्ने तय गरेको आमरण अनसन तीन साता स्थगन गरेको थियो ।  

नेपाल सरकार र लन्डनस्थित नेपाली राजदूत लोकदर्शन रेग्मीले फेरी पनि समस्या समाधानका लागि पहल भइरहेको जनाउँदै अनसन नबस्न सुझाए पनि गोर्खाहरूले यसपटक सो आग्रह अस्वीकार गर्दै उनीहरूले अनसन सुरु गरेका हुन् । 

प्राविधिक कमिटीले दुवै देशका सरकारलाई बुझाएको समान पेन्सनसहित १३ बुँदे माग कार्यान्वयन हुनुपर्ने र यसको लागि दुवै देशबीच आधिकारिक रूपमा पहल गरिनुपर्ने भन्दै भूपू गोर्खाहरू आन्दोलनरत छन् ।

के के छन् भूपू गोर्खाका १३ बुँदे मागहरू ?

झन्डै १४ महिना समय लगाएर बेलायतका लागि तत्कालीन राजदूत डा दुर्गाबहादुर सुवेदीको संयोजनमा सन् २०१८ मार्चमा नेपाल र बेलायत सरकारलाई औपचारिकरुपमा १३ बुँदे माग हस्तान्तरण गरिएको थियो ।

जसमा २२ वर्ष नोकरी पुरयाएका बेलायती गोर्खालीलाई बेलायती सरह पेन्सन दिनुपर्ने, २१ वर्ष उमेरमा सेवा सुरु गरि ६ वर्ष नोकरी गरेका गोर्खा अधिकृतले बेलायती अधिकृतसरह पेन्सन पाउनुपर्ने जस्ता माग राखिएका छन् । 

यसै गरी १५ वर्ष नोकरी गरेका गोर्खा सिपाहीले २२ वर्ष सेवा गरेका बेलायती सिपाही सरह पेन्सन पाउनुपर्ने, नोकरीको सिलसिलामा मृत्यु भएका र लिबरल, डिसएबिलिटी लगायतलाई पेन्सन, सन् १९९७ अघि नोकरीबाट बर्खास्त गरिएकालाई एकमुष्ट रकम दिनुपर्ने र कम्तीमा दुई वर्ष नोकरी गरि सेवा निवृत्त भएका पेन्सन नपाएकालाई सञ्चित पेन्सनको व्यवस्था हुनुपर्ने जस्ता मागहरू उक्त उक्त १३ बुँदा अन्तर्गत पर्दछन् । 

हाल बेलायती सेनामा करिब चार हजार गोर्खाहरू कार्यरत छन् भने १८ हजार भूपू गोर्खाले पेन्सन पाउँदै आएका छन् । सन् १८१६ को सुगौली सन्धिदेखि नेपालीहरू ब्रिटिस सेनामा भर्ती हुन थालेका हुन् । तर, १९४७ मा बेलायतले भारतलाई आफ्नो उपनिवेशबाट मुक्त गरेपछि बेलायती सेनामा रहेका गोर्खा सैनिकलाई ब्रिटिस र भारतीय सेनामा विभाजन गरियो । सोही अवसरमा सन् १९४७ नोभेम्बरमा भएको त्रिपक्षीय सन्धिअनुरूप गोर्खा ब्रिगेडका ६ बटालियन भारत र ४ बटालियन बेलायती सेनाअन्तर्गत रहने उल्लेख छ । 

साथै उनीहरूलाई भारत वा बेलायत जाने भन्ने बारेमा निर्णय गर्न उनीहरूलाई स्वैच्छिक रूपमा आग्रह गरिएको थियो । गोर्खा ब्रिगेडमा रहने सैनिकलाई अन्य सैनिकसरह व्यवहार गरिने र भाडाको सेनाको रूपमा व्यवहार नगरिने सन्धिमा उल्लेख गरिए पनि बेलायतले उक्त सन्धि विरोधी व्यवहार गर्दै आएको भूपू गोर्खाको दाबी छ ।

के भन्छन् आन्दोलनकारीहरू ?

गोर्खा सत्याग्रह सङ्घर्ष समितिका अभियान निर्देशक ज्ञानराज राईले आफ्नो आन्दोलन कुनै राजनैतिक पार्टीबाट प्रेरित नभएको बताउँदै आफूहरू समानताका लागि लडेको बताएका छन् । यस अनसनप्रति असहमत जनाउँदै आएको भूपू गोर्खाहरूको अर्को सङ्गठन गेसोको एउटा खेमाप्रति लक्षित गर्दै उनले आन्दोलन भाँड्न नेपाल सरकार र नेपाली दूतावास लन्डनमा पहल भइरहेको आरोप लगाए । 

पार्टीगत लाञ्छना लगाएर आन्दोलन असफल पार्न खोज्ने समूहलाई विरोध नगरी संयम भएर बस्न समेत राईले आग्रह गरेका छन् । ‘संसारले समर्थन गरेको छ, हाम्रो लक्ष्य पूरा गर्नेमा हामी विश्वस्त र दृढ छौँ । एउटा सानो समूहको रोइकराइले हामीलाई कुनै असर गर्दैन’ राईले भने ।प्रहरी दमनपछि अनसनकारीहरू हाल खुला आकाशमुनि बस्न बाध्य भएका छन् । उनीहरूको स्वास्थ्य अवस्था नाजुक अवस्थामा पुगेको भोक हडताल आव्हान गर्ने सत्याग्रह संयुक्त सङ्घर्ष समितिका प्रमुख संयोजक कृष्णबहादुर राईले  बताए ।

कमेन्ट

  1. Aug. 14, 2021, 6:41 p.m. Kbmadhav
    While I sympathize with these Gorkha daju bhai, I feel that they are being used by some vested interest and greedy lawyers; this is not the first time they have made this kind of protest; In my view British Govt. will not be too sympathetic to this as they are fighting pandemic, unemployment and climate change; these Gorkhas should know that by repeatedly demanding equal pay they are robbing opportunities for future of many aspiring Nepalese Gurkhas as British Govt. will reduce the number of recruits as they have already done. The reality is that even if the pay is half of British citizens in their army thousands of Nepalese Gurkha will still will apply to join. This is simple economics as Nepalese Gurkhas have much less opportunity cost that the British man and women .
  2.  0 Reply

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।