प्रेरक व्यक्तित्व : मण्डेलाका सफलताका स्रोत

person explore access_timeसाउन ३१, २०७८ chat_bubble_outline0

नेल्सन मण्डेला विश्वविख्यात राजनेता हुन् । संसारभरि सम्भवतः उनको नाम नसुन्ने कमै हुनुपर्छ । संसारमा आजसम्म सर्वाधिक आदरका साथ नाम लिइने कुनै राजनेता छन् भने उनै देखिएका छन् । दक्षिण अफ्रिकी नागरिकलाई गोराहरूको उपनिवेशबाट मुक्त गराउन सफल उनी न्याय, स्वतन्त्रता र समानताका कोशेढुङ्गा मानिन्छन् । शान्तिका लागि नोबेल पुरस्कार पाउने मण्डेला त्याग, निष्ठा र समर्पणका अनुपम उदाहरण पनि हुन् । स्वतन्त्रता र समानताका लागि २७ वर्ष जेलमा बिताएका मण्डेलाले संसारभरका शोषित, पीडित, उपेक्षित मानिसका लागि सङ्घर्षको जुन पाठ पढाएका छन् निःसन्देह त्यो प्रशंसनीय मात्र होइन अनुकरणीय समेत देखिएको छ ।  

सन् १९१८ जुलाई १८ मा जन्मेका मण्डेलाको बाबुको नाम गेडला हेनरी म्फाकेनिस्वा र आमाको नाम नेक्युफी नोसकेनी हो, जो म्फाकेनिस्वाकी तेस्री पत्नी थिइन् । उनी आमाको प्रथम र बाबुको १३ मध्ये तेस्रा सन्तान थिए । बाबु गाउँको मुखिया थिए । मुखियाको छोरालाई त्यहाँका भाषामा मण्डेला भनिन्थ्यो । यसै अर्थमा उनको उपनाम मण्डेला रहेको हो तर बाल्यकालीन नाम भने रोलिह्ला प्रथम थियो । 

मण्डेलाले प्रारम्भिक शिक्षा क्लार्कबेरी मिशनरी स्कूलबाट पाएका थिए । बाँकी शिक्षा मेथोडिस्ट मिशनरी स्कूलबाट लिए । औपचारिक शिक्षा हासिल गरेपछि सन् १९४३ मा अफ्रिकी नेशनल काङ्ग्रेस (एएनसी) को कार्यकर्ता बनी राजनीतिमा प्रवेश गरेका थिए । त्यसको लगत्तैजसो एएनसी युथ लिग स्थापना गरी त्यसैको संस्थापक बने । गोरा सरकारको रङ्गभेदनीति विरुद्ध आवाज उठाउँदै आएका मण्डेलाले सन् १९५२ मा कानूनी फर्म स्थापना गरी कानूनी परामर्शलाई पनि सँगै अघि बढाए । उनको बढ्दो लोकप्रियताबाट डराएर सरकारले १९५६ मा १५५ कार्यकर्ताका साथ पक्राउ गरी मुद्दा चलायो तर आरोप निराधार भएकाले मुद्दा आफैँ झिसमिस भएको थियो ।   

यसैबीच सरकारले नयाँ कानून पास ग¥यो, जो अश्वेतहरूको अहितमा थियो । मण्डेलाले यसको खुलेर बिरोध गरे । सरकारले दमनको बाटो लियो । यतिबेला १८० भन्दा आन्दोलनकारीको मृत्यु भएको थियो । उग्र बनेका आन्दोलनकारीले पनि प्रतिहिंसाको बाटो लिएपछि सन् १९६० मा सरकारले उनको संस्था एएनसीमाथि नै प्रतिबन्ध लगायो । त्यसपछि उनी भूमिगत बनेर आन्दोलन सञ्चालन गर्नतिर लागे । यसैबेला केही समय अद्दिसअवावा, अल्जेरिया हुँदै लन्डनसम्म पुगेर गुरिल्ला तालीम लगायत थप अनुभव बटुलेका थिए । 

बीचमा केही समय उनले साथीहरूसँग मिलेर अर्थव्यवस्था सुधारका लागि अभियान चलाएका थिए । यस वापत उनलाई हिंस्रक कारवाहीको आरोप लगाई पक्राउ गरिएको थियो  । यदिबेला उनले आफ्नो बचाउका लागि प्रजातन्त्र, स्वतन्त्रता समानताको आवाज उठाएका थिए । उनको लोकप्रियता प्रतिदिन बढ्दै गएको देखेर डराएको सरकारले मजदूर हडताल उक्साएको, विना अनुमति देश छाडेको जस्ता मुद्दा लगाई आजीवन कारावासको सजाय दियो, जुन सन् १९६४ तिरको कुरा हो । तर, उनी भने यसबाट न डराए न साहस, धैर्य र उत्साहमा कमी आउन दिए । उल्टै काला जातिका कैदीहरूलाई उचालेर जेलभित्रै अर्को आन्दोलन चलाउन थाले ।

अन्ततः सरकार आफैँ हत्तु भयो र २७ वर्षसम्म जेलमा रहेर आन्दोलनको नेतृत्व गर्दै आएका मण्डेलासँग घुँडा टेक्न वाध्य भयो । यसरी ११ फरवरी १९९० का दिन सरकारले उनीसँग शान्ति सम्झौता गरी जेलबाट मुक्त गरेको थियो । उनले जेलबाट छुटेपछि नयाँ दक्षिण अफ्रिका निर्माणको जुन जग बसाए त्यो आज सारा विश्वका लागि रङ्गभेद विरुद्धको प्रतीक बनेर रहेको छ । सन् १९९४ मा दक्षिण अफ्रिकाको प्रथम अश्वेत राष्ट्रपति बनेका देशभक्त मण्डेला पितृभक्तिको समेत अनुपम उदाहरण मानिएका छन् ।

हरेक कठिन मोडमा बाबुलाई सम्झने गरेका मण्डेलाले आफ्नो प्रेरणाको स्रोत बाबुलाई नै मानेका छन् । जब उनी दक्षिण अफ्रिकाका जननिर्वाचित राष्ट्रपति बने त्यतिबेला एक कार्यक्रममा कसैले सोधेका थिए–

‘तपाईँ संसारभरिकै प्रेरणाको स्रोत हुनुहुन्छ । तपाईँको आफ्नै प्रेरणाको स्रोत चाहिँ को हो नि ? यति ठूलो राजनेता बन्नुको पछाडि कसको हात रहेको ठान्नुहुन्छ ?’

त्यतिबेला उनले भनेका थिए–

‘मेरो सफलताका पछाडि मेरै पिताजीको हात छ । त्यसैले हमेसा आफ्नो प्रेरणाको स्रोत उहाँलाई नै मान्ने गरेको छु ।’

त्यतिबेला शुभेच्छुकले प्रतिप्रश्न गर्दै भनेका थिए–

‘कुनै उदाहरण दिएर सम्झाउन सक्नुहुन्छ ?’

लगत्तै उनले भनेका थिए–

‘पिताजी गाउँको सरदार हुनुहुन्थ्यो । गाउँमा हुने भेलाहरूमा म पनि साथै जाने गर्थेँ । भेलामा उहाँ हमेसा गोलो घेरा बनाएर बस्नुहुन्थ्यो । यतिबेला कसैमाथि पनि सानो, ठूलो, धनी, गरीवको भेद गर्नुहुन्नथ्यो । उहाँका निम्ति सबै समान थिए । सबैलाई समानताकै व्यवहार गर्नुहुन्थ्यो । उहाँबाट मैले सिकेको पहिलो पाठ यही हो ।  

उहाँको अर्को विशेषता भनेको भेलामा जम्मा भएका मानिस बोलुन्जेल उहाँ बोल्नु हुन्नथ्यो । सबैलाई पालैपालो बोल्ने अवसर दिनुहुन्थ्यो र आफू गम्भीर भएर अरूको कुरा सुन्नुहुन्थ्यो । सबैको कुरा सुनिसकेपछि बोल्नुहुन्थ्यो र निर्णय प्रक्रियामा पुग्नुहुन्थ्यो । मैले उहाँबाट सिकेको दोस्रो पाठ यही हो । मलाई लाग्छ आज म जहाँ छु त्यसको पछाडि पिताजीबाट सिकेको यिनै पाठले काम गरेका छन् ।’

दक्षिण अफ्रिकामा उनी राष्ट्रपिता मानिन्छन् । उनलाई लोकतन्त्रको संस्थापक, राष्ट्रिय मुक्तिदाता र उद्धारकर्ताको रूपमा हेरिन्छ । उनको योगदानको कदर गर्दै दक्षिण अफ्रिकी जनताले जोहानिसबर्ग स्थित सेन्डटन स्क्वायरको सपिङ सेन्टरमा उनको मूर्ति स्थापना गरेका मात्र छैनन् सपिङ सेन्टरको नाम नै बदलेर नेल्सन मण्डेला स्क्वायर राखेका छन् । संयुक्त राष्ट्रसङ्घले समेत सन् २००९ मा उनको जन्म दिन १८ जुलाईलाई मण्डेला दिवसको रूपमा मनाउने घोषणा गर्दै लोकतन्त्रसित जोडिएको उनको जीवनको ६७ वर्ष बराबर यस दिनको २४ घण्टामध्ये ६७ मिनेटको समय परहितमा समर्पित गर्नुपर्ने निर्णय गरेको थियो ।

विश्वका विभिन्न मुलुकबाट २५० भन्दा बढी सम्मान तथा पुरस्कार पाएका मण्डेला जस्ता राजनेता संसारमा आजसम्म न कोही भएका छन् न हुने सम्भावना नै देखिएको छ । उनले जति गरे जनहितकै लागि गरे र जनहितमा सर्पित हुँदाहुँदै सन् २०१३ को डिसेम्बर पाँचका दिन संसारबाट विदा लिए । आज उनको पार्थिव शरीर छैन तर उनले देखाएका बाटोले भने अहिले पनि दुनियाँलाई मार्गदर्शन गरिरहेको छ । 

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।