शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

राष्ट्रिय गौरवको आयोजनाकै बेहाल

४४ किलोमिटर लामो सडक ९ वर्षसम्म पनि अपुरो
सोमबार, ३२ साउन २०७८, ०७ : २५
सोमबार, ३२ साउन २०७८

सामान्य अवस्थामा कुल ४४ किलोमिटर लामो सडक निर्माण सम्पन्न गर्न कति समय लाग्ला ? बढीमा ५/६ वर्ष या सात वर्ष । तर यस्तो पनि सडक छ, जो राष्ट्रिय गौरवको आयोजना भनिए पनि निर्माण सुरु भएको ९ वर्षसम्म पूरा हुन सकेको छैन ।

रानी–विराटनगर–इटहरी–धरान हुँदै किमाथाङ्का जोड्ने राष्ट्रिय गौरवको ६ लेन सडक निर्माणको काम यही अवस्थामा अघि बढेमा निर्माण सम्पन्न हुन अझै वर्षौं लाग्ने देखिन्छ ।

साविकको दुई लेनको सडकलाई विस्तार गरी ६ लेनको  बनाउने काम ९ वर्षदेखि भइरहेको छ । तर, सुनसरीको दुहवी र धरानको तीनकुनेदेखि धरान बजार क्षेत्रमा सडक विस्तारका लागि सडकमा पर्ने जग्गा ‘क्लियर’ गर्ने काम अहिले पनि सम्पन्न हुन सकेको छैन । जसका कारण ती दुई क्षेत्रमा सडक विस्तारको काम कहिले सम्पन्न हुन्छ भन्नेमा अन्यौल कायम छ ।

९ वर्षमा ७५ प्रतिशत काम

आर्थिक वर्ष २०७५/०७६ सम्ममा विराटनगरको रानीदेखि सुनसरीको धरानसम्म ६ लेनको सडक बनाइसक्नु पर्ने समयसीमा थियो । तर आयोजनाको अहिलेसम्म कामको प्रगति भने ७५ प्रतिशत मात्र पूरा भएको छ । सडक विस्तारको क्रममा विभिन्न भागमा अहिले पनि विवाद कायम छ ।

आयोजनाका अनुसार अहिलेसम्म विभिन्न प्याकेजमा २२ किलोमिटर सडक कालोपत्र गर्ने काम पूरा हुनका साथै  विभिन्न प्याकेटमा नाला निर्माण सँगै सडक पेटी निर्माणको काम भइसकेको छ ।

०६९ सालबाट ठेक्का लागेर रानी विराटनगर–इटहरी–धरान सडक खण्ड व्यापारिक मार्ग विस्तारको काम सुरु भएको थियो । कुल ४९ किलोमिटर सडक विस्तारको काममा सुरु भएकोमा अहिले रानीदेखि धरानको तीनकुनेसम्मको ४४ किलोमिटर सडक विस्तारको काम भइरहेको छ ।

विशेषगरी सुनसरीको दुहवी र धरानको तीनकुनेदेखि धरान बजार क्षेत्रमा सडक विस्तारका लागि सडकको जग्गामा परेका घरहरु नहटाइएका कारण सडक विस्तारको ठेक्का लाग्न नसकेको उत्तर–दक्षिण व्यापारिक मार्ग आयोजनाको कार्यालयले जनाएको छ । रानी, विराटनगर–इटहरी–धरान हुँदै किमाथाङ्का जोड्ने राष्ट्रिय गौरवको आयोजना अहिले अलपत्र अवस्थामा छ ।

सडक आयोजनाका इन्जिनियर उपेन्द्र दासका अनुसार आर्थिक वर्ष २०६९/७० मा सम्झौता भई काम भइरहेको सडक आयोजना मोरङको रानीदेखि सुनसरीको धरानसम्म ४४ किलोमिटर सडकका लागि १७ वटा ठेकेदारले काम गरिरहेका छन् । ७ स्थानमा कान्छाराम कन्स्ट्रक्सन, ४ स्थानमा ढुण्डीरमण, २ स्थानमा आशिष कन्स्ट्रक्सन, रौता कन्स्ट्रक्सन, पप्पु जेभी कन्स्ट्रक्सन, गिताञ्जली जेभी र प्यासिफिक निर्माण कम्पनीले १/१ स्थानमा काम गरिरहेका छन् । 

तर ठेक्का पाएका कम्पनीले हालसम्म कुनै स्थानको पनि काम सम्पन्न गर्न सकेका छैनन् । सडक आयोजनका अनुसार विराटनगरको रानीदेखि धरानको तीनकुनेसम्मको सडक विस्तारका लागि पुलसहित १७ प्याकेजमा काम भइरहेको छ ।

सुनसरी र मोरङको सीमानामा पर्ने बूढी खोलाको पुल विस्तारका लागि २० करोडमा ठेक्का लागेर काम सुरु भइसकेको छ । रानीदेखि सुनसरीको तरहरासम्मको कुल ३४ किलोमिटरसम्म ६ लेनको सडक विस्तारको काम गत आर्थिक वर्षभित्रै सम्पन्न गर्ने लक्ष्य राखिए पनि पूरा हुन सकेन ।

कुल १० अर्ब ९८ करोड लागतमा निर्माण भइरहेको सडक २०८० सालसम्म सक्नुपर्ने जिम्मेवारी पाएका निर्माण कम्पनीले निर्धारित समयमा काम नसक्ने देखिएको हो ।

सुनसरीको इटहरीदेखि तरहरासम्म करिब ९० प्रतिशत काम सम्पन्न भएको आयोजनाले जनाएको छ । तरहरादेखि धरानको तीनकुनेसम्म साढे ९ किलोमिटर सडक गत वर्षमात्रै ठेक्का लागेर काम भइरहेको छ । दुहवी र धरान मुख्य बजारमा अहिलेसम्म ठेक्का लाग्न सकेको छैन । तर आयोजनाले समयमै काम सक्ने बताउँदै आएको छ । इन्जिनियर दासले बजेट अभावको समस्यासँगै बिजुली, खानेपानी र टेलिफोन स्थानान्तरणको काम समयमै नहुँदा काम गर्न धेरै समस्या भएको छ ।

तीन ठेकेदार कम्पनी कारवाहीमा

लामो समयदेखि निर्माणाधीन ६ लेन सडकको काम निर्धारित समयमा सम्पन्न नगरेपछि सडक आयोजनाले तीन ठेकेदार कम्पनीलाई कारवाही गरेको छ ।

सडक आयोजनाले गिताञ्जली जेभीलाई २ करोड ४० लाख, पप्पु जेभी कन्स्ट्रक्सनलाई १ करोड ४० लाख र कान्छाराम जेभीलाई २ करोड ३२ लाख जरिवाना गरेको छ ।

विभिन्न खण्डको ठेक्का लिएर पनि समयमै काम सम्पन्न नगरेकाले उनीहरुलाई कारवाही गरिएको आयोजनाका इन्जिनियर दासले बताए ।

‘तोकिएकोभन्दा निकै सुस्त गतिमा सडक विस्तारको काम भएको छ,’ इन्जिनियर दासले भने, ‘पटक/पटक सडक विस्तारको कामलाई तीव्रता दिन भनिए पनि अटेर गरिएको छ ।’ आयोजनाको काम नै अलमलमा परेपछि उनीहरुलाई कारवाहीको प्रकृयामा समावेश गरिएको उनले बताए ।

सडक विस्तारमा व्यवधान नै व्यवधान

९ वर्ष अघिदेखि निर्माण सुरु भएको ६ लेन सडक विस्तारमा विभिन्न व्यवधानका करण अति सुस्त गतिमा काम हुँदै आएको छ । सरकारी कार्यालयकै असहयोगका कारण धेरै स्थानमा सडक विस्तारको काम अघि बढाउन सडक आयोजनाले समस्या झेल्दै आएको छ ।

सुनसरीको इटहरीमा स्थानीयले सडक विस्तारको काममा गरेको अवरोधका कारण पनि केही समय सडक विस्तारको काम रोकिन पुगेको थियो । त्यसैगरी, सुनसरीकै दुहवी बजार क्षेत्रको ६ सय मिटर क्षेत्रमा सडकका लागि ३० मिटर चौडाइको मापदण्ड आवश्यक पर्ने भए पनि त्यस क्षेत्रमा १६.५ मिटरमात्र जग्गा उपलब्ध भएकाले ठेक्का प्रक्रिया रोकिएको छ । बजार क्षेत्रमा करिव ६० वटा घर सडक विस्तार आयोजनाभित्र पर्ने भए पनि अहिलेसम्म हटाउन सकिएको छैन ।

आयोजनाले सडक विस्तार क्षेत्रभित्र पर्ने घरको क्षतिपूर्ति दिने जनाए पनि स्थानीयले जग्गाको समेत मुआब्जा माग गरेका कारण सडक विस्तारको काम रोकिएको छ ।

इटहरी बजार ट्ङ्याग्रा खोलादेखि तरहरासम्मको सडक विस्तारमा पनि ५० मिटर चौडा सडकको मापदण्ड तय गरी ठेक्का लागेको छ । तर धेरै घर भत्काउनु पर्ने भएपछि स्थानीयले सडक विस्तारमा अवरोधका कारण विस्तारको काम रोकिएको छ । त्यस क्षेत्रको सडकको दुवैतर्फ पर्ने करिब २ सय घर हटाउनुपर्ने अवस्था छ ।

त्यसैगरी धरानको तीनकुनेदेखि धरान बजार क्षेत्रमा पनि सडक विस्तारको काम हुन सकेको छैन । एक किलोमिटर बजार क्षेत्रमा सडक विस्तारका क्रममा धेरै घर पर्ने र स्थानीयले सडक विस्तारको काममा अवरोध सिर्जना गरेकाले सो क्षेत्रको ठेक्का प्रकृया अघि बढ्न सकेको छैन । व्यापारिक मार्ग मध्यविन्दुबाट दायाँबायाँ २५/२५ मिटर फराकिलो हुनुपर्नेमा रानी–इटहरी सडकखण्ड १५/१५ मिटर मात्र बनाइँदै छ ।

धरानको तीनकुनेसम्म सडक विस्तारको काम सुरु

आँपगाछीदेखि धरानसम्मको सडक विस्तार अन्तर्गत क्षेत्रभित्र सडक विस्तारको काम सुरु भएको छ ।

आँपगाछीदेखि धरानसम्म ९ किलोमिटर क्षेत्रमा सडक विस्तारका लागि वन क्षेत्रका एक हजार ४३० वटा रुख काटिएका छन् । कुल ८० करोडको लागतमा सो खण्डमा सडक विस्तारको काम गत आर्थिक वर्षदेखि सुरु भएको सडक आयोजनाले जनाएको छ ।

इन्जिनियर दासले उक्त खण्डलाई दुई भागमा बाँडेर साढे चार/साढे चार किलोमिटरको दरले ठेक्का लागेको जनाए । यो क्षेत्र अन्तर्गत आँपगाछीदेखि सेउती खोलासम्मको ठेक्का रौता कन्स्ट्रक्शन र सेउतीदेखि तीनकुनेसम्म हिम्डुङ  एण्ड ठोकर प्यासिफिकले ठेक्का पाएर विस्तारको काम अगाडि बढाएको छ । यी दुवै निर्माण कम्पनीले तीन वर्षभित्र काम सम्पन्न गर्नेछन् ।

ठाउँपिच्छे मापदण्ड

रानीदेखि धरानसम्म ६ लेनको सडक विस्तारका क्रममा ठाउँपिच्छे मापदण्ड बनाइएको छ । रानीदेखि इटहरी हुँदै आँपगाछीसम्म काम भइरहेको स्थानमा कतै ३० मिटर र कतै ५० मिटर चौडाइको मापदण्ड कायम गरी सडक विस्तारको काम भइरहेको सडक आयोजनाले जनाएको छ ।

विराटनगरको रानीदेखि दुहवी बजारसम्म सडकको चौडाइ ३० मिटर कायम गरिएको छ । त्यसैगरी दुहबी उत्तरबाट इटहरी बजार क्षेत्र हुँदै आँपगाछी क्षेत्रसम्म  ५० मिटर चौडा बनाउने मापदण्ड तोकिएको छ । सडक मापदण्डमा एकरुपता नहुँदा पनि कतिपय स्थानमा विवाद कायम छ ।

इटहरी बजार क्षेत्रमा ५० मिटर चौडा कायम गरेका कारण धेरै घर पर्ने भएपछि स्थानीयले मापदण्डलाई लिएर लामो समयदेखि विरोध जनाउँदै आएका छन् । जसका कारण करिव ६ सय मिटर क्षेत्रमा सडक विस्तारको काम हुन सकेको छैन ।

पूर्वी नेपाललाई चीनसँग जोड्ने दुई मुख्य नाका छन् । तीमध्ये एउटा संखुवासभाको किमाथाङ्का नाका हो भने अर्काे ताप्लेजुङ जिल्लामा पर्ने ओलाङचुङगोला नाका हो ।

यी दुवै नाका भारत र चीनलाई छोटो दूरीमा जोड्न सकिने महत्वपूर्ण ट्रान्जिट प्वाइन्ट हुन् । विराटनगरको रानी तथा भारतको जोगवनीसँग यी दुवै नाकालाई जोड्ने सरकारको योजना छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ध्रुव भट्टराई
ध्रुव भट्टराई
लेखकबाट थप