शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

यस्तो रह्यो सेलिब्रेटीको साउन : कोही व्रत बसे, कोही रमाए शृङ्गारमा

सोमबार, ३२ साउन २०७८, १२ : ००
सोमबार, ३२ साउन २०७८

आज साउन महिनाको अन्तिम सोमबार । साउनको प्रत्येक सोमबार हिन्दु धर्मावलम्बीहरुले भगवान शिवको पूजाआराधना गरेर मनाउन गर्छन् । साउनको हरेक सोमबार व्रत बसेर शिवको पूजा गर्दै आएका महिलाहरूले आज विधिपूर्वक पूजा गरेर व्रत समाप्त गर्ने चलन रहिआएको छ । पहिले पहिलेको तुलनामा गत वर्षझैँ यो पनि कोरोनाको कहरले गर्दा शिवालयमा भिडभाड भने कम देखियो ।

साउन महिनालाई वर्षकै पवित्र महिनाका रूपमा लिइन्छ । साउनको सोमबार व्रत बसेर शिवको पूजा गर्दा दीर्घायु, अटल सौभाग्य तथा अविवाहित नारीले सुयोग्य वर पाउने मान्यतासमेत छ । साउन महिनाभर महिलाहरू हरियो, पहेँलो कपडा, चुरापोते र मेहन्दीमा आफूलाई सिँगार्ने गर्छन् ।

सर्वसाधारण मात्र होइन, हाम्रा सेलिब्रेटीले पनि साउनको सोमबार विशेष रूपमा मनाउने गर्छन् । नेपाली मनोरञ्जन जगतका सेलिब्रिटीहरुले साउनको सोमबार व्रत बस्ने, मन्दिर जाने र शिवको महिमा गाउने लगायतका क्रियाकलापका साथ मनाएका छन् । केही सेलिब्रेटी भने व्रत नराखे पनि चोखोनितो खाएर, हरियो, पहेँलो पहिरन लगाएर साउन मनाएको बताउँछन् ।

प्रस्तुत छ, सेलिब्रेटीको साउने सोमबार, उनीहरुकै शब्दमा ।

भुवन चन्द (प्रथम अभिनेत्री)-

यो वर्षको साउनको सोमबार व्रत बसेँ । म प्रत्येक वर्ष साउनको सोमबार व्रत भने बस्दिनँ । जुन वर्ष ५ वटा सोमबार पर्छ, त्यो वर्षमात्र व्रत बस्ने गरेकी छु । साउनमा म कहिल्यै पनि माछामासु खान्नँ । श्रीमान्, आफ्नो र सन्तानलाई राम्रो होस् भनेर यो पटक व्रत बसेकी हुँ । साउनमा हरियो, पहेँलो पहिरन, चुरा लगाउने गरिनँ । यो पटकको साउनमा पनि साझा पहिरन नै लगाएँ ।

करिष्मा मानन्धर (अभिनेत्री)-

यो वर्ष मैले साउनको सोमबार व्रत राखिनँ । पूजाआजा गरेँ, मन्दिर पनि गएँ । चोखो खाएँ । अहिले साउनमा लगाउने चलन चलेको हरियो, पहेँलो पहिरन, चुरा, मेहन्दीलगायत सबै शृङ्गार भने गरेँ ।

देवीका बन्दना (गायिका)-

पहिले त साउनको सोमबारमात्र होइन, हरेक सोमबार व्रत बस्थेँ । यो पटक स्वास्थ्यका कारणले साउनको सोमबार पनि व्रत बस्न सकिनँ । महिलाहरूका लागि साउनको सोमबार महत्त्वपूर्ण हुने मेरो धारणा हो । साउनमा हरियो, पहेँलो गेटअप गर्न मनपर्छ । यो साउनमा मैले धेरैजसो हरियो नै पहिरन लगाएँ । मेरो मनपर्ने पहिरनमा पनि यही हो । हरियो चुरा र पोतेसमेत लगाएँ ।

वर्षा सिवाकोटी (अभिनेत्री)-

मैले कहिल्यै पनि साउनको सोमबारको व्रत राखेकी छैन । यो पटक पनि गरिनँ । साउनमा माछामासु खाइनँ, मन्दिर गएर पूजापाठ भने गरेँ । म हरेक दिन बेलुका सात बजेपछि भोलिपल्ट बिहान ११ बजेसम्म केही खान्नँ । एक हिसाबले हेर्ने हो भने मेरो सधैँजसो व्रत छ । साउनको पहिरन हरियो, पहेँलो मनपर्छ । सधैँ काममा निस्कनुपर्ने भएकाले केही दिनमात्र यस्तो पहिरन लगाएँ ।

अञ्जु निरौला (मोडल)-

जान्ने र बुझ्ने भएदेखि म नियमित साउनको सोमबारको व्रत बस्दै आएकी छु । यो वर्ष पनि बसेँ । साउनभरि माछामासु खान्न । आफ्नो शरीर, श्रीमान् र परिवारको राम्रो हुने मान्यताले व्रत राख्दै आएकी हँु । मेरो श्रीमान् त हरेक सोमबार व्रत बस्नुहुन्छ । साउनमा मेहन्दी, हरियो, पहेँलो चुरा र पहिरन प्रयोग गरेँ । वर्षमा एक महिना यस्तो पहिरन प्रयोग गर्न मनपर्छ । अन्य महिनाभन्दा साउन विशेष पनि लाग्छ ।

ऋचा शर्मा (अभिनेत्री)-

साउन मेरो मनपर्ने महिना हो । तर अहिलेसम्म मैले साउनको सोमबार व्रत बसेकी छैन । यो पटक झन् म गर्भवती छु । बच्चाको स्वास्थ्यका लागि पनि समय समयमा खानुपर्ने हुन्छ । त्यसैले व्रत बस्ने त कुरै भएन । पहिले पनि चोखो खाएर मनाउँथेँ । यो पटक पनि त्यस्तै गरेँ । हरियो, पहेँलो पहिरन, चुरा, मेहन्दी सबै लगाएँ ।

रेखा थापा (अभिनेत्री)-

हरेक वर्ष साउनको सोमबार व्रत बस्छु । शिवको महिना भएकाले साउन विशेष लाग्छ । यो साउनमा पनि हरियो, पहेँलो पहिरन, चुरा र मेहन्दी लगायतका शृङ्गार गरेर चाखोनितो गरेर, मन्दिरसमेत गएँ ।

दीपाश्री निरौला (अभिनेत्री)-

साउन भन्नेबित्तिकै देवादिदेव महादेवको व्रत, पशुपतिनाथ मन्दिरमा भक्तजनको लर्काे एकदमै रमाइलो लाग्छ । यो वर्ष समय उपयुक्त नभएकाले त्यस्तो दृश्य देख्न पाइएन । व्रत बसेर भजन गर्न मनपर्छ, यो वर्ष पनि गरेँ । हरेक वर्षको साउन म विशेष रूपमा सेलिब्रेसन गर्ने गर्दछु । साउन महिनाभर नै उमङ्ग लाग्छ । हरियो, पहेँलो र रातो मिसिएको लुगा, चुरा, मेहन्दी साउनभरि नै लगाएँ ।

सारिका घिमिरे (अभिनेत्री)-

हरेक वर्ष साउनको सोमबार व्रत बस्ने गरेकी छु । यो वर्ष छुटाउने कुरै भएन । सानैदेखि सोमबारको व्रत गर्दै आएकाले रमाइलोसमेत लाग्छ । सोमबार मन्दिर जाँदा, पूजापाठ गर्दा बेग्लै आनन्द महसुस गर्छु । साउनको अर्काे मनपर्ने पाटो हरियो, पहेँलो पहिरन, चुरा र मेहन्दी हो । अन्य महिनाभन्दा साउनमा शृङ्गारको महिनाजस्तो लाग्छ । आफ्नो, परिवारको राम्रो स्वास्थ्यको कामना गर्दै व्रत राखेँ ।

रोशनी केसी (अभिनेत्री)-

हाम्रो हिन्दु परम्पराअनुसार साउन शिवको महिनाका रूपमा मानिन्छ । त्यसैले पनि यो महिनाको सोमबार शिव व्रत गर्ने गरिन्छ । मैले पनि सानैदेखि साउनको सोमबारको व्रत राख्दै आएकी छु । कोरोना महामारीका कारण यो वर्ष धेरै मन्दिर जान सकिनँ । साउनमा विशेष गरेर हरियो, पहेँलो चुरा, हातखुट्टामा मेहन्दी लगाउन मनपर्छ । कतिपय महिला गहना पनि लगाउँछन् तर त्यो मलाई भने मन पर्दैन ।

खुस्बु खड्का (अभिनेत्री)-

व्रतले मनमा शान्ति, शरीर स्वस्थ हुन्छ भन्ने मेरो बुझाइ हो । त्यसैले विगत ७÷८ वर्षदेखि नियमित साउनको सोमबार व्रत राख्दै आएकी छु । हाम्रो संस्कारमा साउनको सोमबारको विशेष महत्त्व छ । व्रत बसेर शिवको आराधना गर्नाले जीवनमा सकारात्मक ऊर्जा मिल्छ भन्ने मेरो बुझाइ पनि हो । यो पटकको साउनमा पनि मैले हरियो, पहेँलो र रातो पहिरनमा जोड दिएँ ।

सञ्चिता लुइँटेल (अभिनेत्री)-

हरेक वर्षझैँ यो वर्ष पनि साउन विशेष रूपले मनाए । यो वर्ष सोमबारमात्र होइन, पूरै महिनाभर व्रत बसँे । दिनमा फलफूल र साँझ शुद्ध रोटी, तरकारी खाएँ । पूजा गर्दा, मन्दिर जाँदा हरियो, पहेँलो सारी, चुरा लगाएँ । अन्य कामको समय भने सामान्य पहिरन प्रयोग गरेँ । शिव भगवान्प्रति मेरो पहिलेदेखि नै आस्था रहँदै आएको छ । त्यसैले हरेक वर्षको साउन मेरो विशेष हुने गर्दछ ।

लक्ष्मी आचार्य (गायिका)-

विगत दस वर्षदेखि साउनको सोमबार व्रत गर्दै आएकी छु । यो पटक पनि गरेँ । यो पटक भगवान् शिवसँग मनको शान्ति, राज्यको शान्ति र कोरोना हटेर जाहोस् भनेर कामना गरेँ । व्रतले आफ्नो स्वास्थ्य राम्रो हुन्छ र शरीरमा नयाँ ऊर्जा मिल्छ भन्ने मेरो विश्वास छ । साउनभर नै हरियो, पहेलो शृङ्गारमा आफूलाई सजाएँ ।

अनु शाह (अभिनेत्री)-

साउनको व्रत गर्न अनिवार्य त छैन, आफ्नो इच्छा हो । म भने विगत दुई वर्षदेखि साउनको सोमबार नियमित व्रत राख्दै आएकी छु । यो पटक पनि राखेँ । साउनमा हरियो, पहेँलो गटेअप गर्न मनपर्छ । मेहन्दी लगाउन रमाइलो लाग्छ । मेरो भगवान् शिवप्रति आस्था भएकाले यो महिना उत्सवका रूपमा मनाएँ ।

रजनी केसी (अभिनेत्री)-

साउन भगवान् शिवको महिना भनेर बुझिन्छ । त्यसैले मलाई साउन विशेष लाग्ने गरेको छ । साउनभरि भेजिटेरियन भएर सोमबारको व्रत गरेँ । साउनको सोमबार पहिलेदेखि नै व्रत बस्दै आएको थिएँ । साउनमा हरियो, पहेँलो पहिरन, चुरा, मेहन्दी लगाएर मन्दिरसमेत गएँ ।

निरु खड्का (अभिनेत्री)-

पहिले साउनको सोमबार व्रत बस्थेँ । यो पटक स्वास्थ्य त्यति राम्रो नभएकाले बस्न सकिनँ । साउनमा गरिने शृङ्गार भने गरेँ । अचेल एकादशीको मात्र व्रत गर्छु ।

वर्षा राउत (अभिनेत्री)-

मैले कहिल्यै पनि साउनको सोमबारको व्रत बस्ने गरेको छैन । यो पटक पनि बसिनँ । साउनको शृङ्गार भने गरेँ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कुवेर गिरी
कुवेर गिरी

कुवेर गिरी कला/मनोरञ्जन बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप