बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

दल विभाजन गर्ने अध्यादेश ल्याउन लागेको भन्दै ओलीले बोलाए लगातार बैठक

मङ्गलबार, ०१ भदौ २०७८, ०९ : १२
मङ्गलबार, ०१ भदौ २०७८

समसामयिक विषयमा छलफल गर्न एमाले अध्यक्ष केपी ओलीले स्थायी समिति र संसदीय दलको बैठक बोलाएका छन् । मंगलबार बिहान ११ बजे तुलसीलाल अमात्य प्रतिष्ठान च्यासलमा बस्ने गरी स्थायी समिति बैठक बोलाएको नेता विशाल भट्टराईले जानकारी दिए । त्यस्तै स्थायी समिति बैठक सकिने बित्तिकै एमाले संसदीय दलको बैठक पनि मंगलबार नै बस्दैछ । 

एमाले संसदीय दलको बैठक दिउसो २ बजे संसद् भवन नयाँ बानेश्वरमा बोलाएको एमाले संसदीय दलका प्रमुख सचेतक समेत रहेका भट्टराईले जानकारी दिए । दुवै बैठक पछिल्लो विकसित राजनीतिक घटनाका बारेमा छलफल गर्न बोलाएको भट्टराईको भनाइ छ । 

सरकारले सङ्घीय संसद्का दुवै अधिवेशन भदौ ३२ गते रातिबाट बन्द गरेपछि एमाले अध्यक्ष ओलीले हिजो राति नै आफ्नो निवास बालकोटमा केही स्थायी समिति सदस्य र केन्द्रीय सदस्यहरूसँग छलफल गरेका थिए । ​नेताहरुसँगको छलफलपछि राति नै अध्यक्ष ओलीले विज्ञप्ति जारी गर्दै दल विभाजन गर्ने षड्यन्त्र अनुसार अध्यादेश ल्याउन खोजिएको भन्दै त्यसको विरोध गर्न अपिल गरेका थिए । 

​‘पूर्व घोषित प्रतिबद्धता विपरीत प्रतिनिधिसभाको चालु अधिवेशन हठात् अन्त्य गरेर राजनीतिक दल विभाजन सम्बन्धी अध्यादेश ल्याउने र नेकपा (एमाले)लाई विभाजित गर्ने षडयन्त्र गरिँदैछ । नेकपा (एमाले) र यस पार्टीको संसदीय दलमा विभाजन गर्ने कुनै पनि बहाना वा षडयन्त्र पार्टीका लागि मान्य र क्षम्य हुन सक्तैन । तसर्थ, पार्टीका सम्पूर्ण नेता, कार्यकर्ता र प्रतिनिधिसभा तथा राष्ट्रियसभाका माननीय सदस्यहरूलाई पार्टी वा संसदीय दल विभाजनका प्रयासहरू विरुद्ध दृढताका साथ उभिन हार्दिक अपिल गर्दछु’, ओलीले जारी गरेको ५ बुँदे विज्ञप्तिमा भनिएको छ । साथै उनले  केही समययता नेकपा (एमाले) र अन्ततः नेपाली कम्युनिस्ट आन्दोलनलाई नै विभाजित गर्ने र समाप्त पार्न खोज्ने गम्भीर षडयन्त्र भइरहेको भोगिरहेको पनि बताएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप